विराटनगरमा अर्गानिक तरकारीको छुट्टै स्टल

This post has already been read 231 times!

विराटनगर,  कृषि विकास कार्यालयको अगुवाइमा मोरङमा अर्गानिक तरकारी र फलफूलका छुट्टै स्टल राखेर बिक्री गर्ने तयारी गरिएको छ। विषादी मिसाइको तरकारी तथा फलफूल प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै कृषि कार्यालयले जिल्लाका दुई स्थानमा विषादीरहित अर्गानिक तरकारी र फलफूलको छुट्टै स्टल राख्ने अवधारणा ल्याएको हो।

Veg market

तरकारी र फलफूल उत्पादनमा विषादीरहित जिल्ला बनाउने योजना कार्यालयले अघि सारेको छ। सघन आईपीएम प्रविधिबाट उत्पादन गरिएका तरकारी र फलफूलको छुट्टै स्टल राखेर बिक्री गरिने कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले जानकारी दिए। विषादी प्रयोग नभएका तरकारी र फलफूलको प्रयोगलाई प्रोत्साहन गर्न विराटनगरको गुद्री बजार र बेलबारीमा छुट्टै स्टलको व्यवस्था गरिनेछ। यादवका अनुसार हाल मोरङका पाँच गाविसका २५र२५ किसानले आईपीएम प्रविधिबाट तरकारी तथा फलफूल उत्पादन गरिरहेका छन्।

अहिले आईपीएम प्रविधिबाट उत्पादन गरिएको तरकारी तथा फलफूलले बजारको माग धान्न नसके पनि उपभोक्ता र उत्पादक सबैलाई यसको महत्त्वका बारेमा सचेत गराउने अभियानअन्तर्गत यो काम सुरु गर्न लागिएको हो। ‘बजारमा माग धान्न सक्ने गरी उत्पादन छैन’, यादवले भने, ‘तर सबै सचेत भए स्वतस् यसको माग बढ्छ र किसान पनि त्यस्ता उत्पादनतर्फ आकर्षित हुन्छन्।’

केही दिनभित्र नै स्टल सञ्चालनमा ल्याउने कार्यालयको तयारी छ। मोरङमा अधिकांशले विभिन्न रासायनिक मल तथा विषादीको प्रयोग गरेर खेती गर्ने गरेका छन्। जिल्ला कृषि विकास कार्यलयले आईपीएम प्रविधिबाट खेती गर्नका लागि विभिन्न पाँच गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यालयले कटहरी, सिस्वनी जहदा, कसेनी, बाहुनी र इन्द्रपुर गाविसका किसानलाई तालिम दिएर मौसमी तथा बेमौसमी तरकारी र फलफूलको समेत उत्पादन थालेको छ। तालिम पाएका किसानले आफूले जैविक विषादीको प्रयोग गरे खेती गर्नुका साथै अन्य किसानलाई समेत आईपीएम प्रविधिबाट खेती गर्न प्रोत्साहित गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आईपीएम प्रविधिबाट खेती गर्दा विभिन्न वनस्पतिको प्रयोग गरेर तयार पारिएको जैविक विषादी प्रयोग गरिन्छ। त्यसको पनि उचित मात्रा मिलाएर प्रयोग गरिने हुनाले सो प्रविधिबाट उत्पादन गरिएका तरकारी तथा फलफूल मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ। आईपीएम प्रविधिबाट उत्पादन गरिएको अन्नबाली, फलफूल तथा तरकारीलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले समेत अन्य देशमा निर्यात गर्नका लागि मान्यता दिएको कार्यालयका बाली विकास अधिकृत सागर भट्टराईले जानकारी दिए।

उनका अनुसार विषादीको प्रयोग गरेर खेती गर्दा त्यसले मानव स्वास्थ्यमा मात्र नभई अन्य सबै जीव तथा पर्यावरणमा समेत असर गर्छ। क्षेत्रीय कृषि विकास कार्यालयका विषादी अनुगमन अधिकृत दुर्गा पोखरेलले पूर्वाञ्चलका सबै जिल्लामा तरकारी र फलफूल उत्पादनमा विषादीको प्रयोग गलत भइरहेको बताए।यता उपभोक्ताले भने जैविक विषादीको प्रयोग गरी उत्पादन गरिएका अन्न, तरकारी तथा फलफूल बजारमा नपाउँदा विषसहितको प्रयोग गर्न बाध्य भएको बताएका छन्।