दूधमा अत्याधिक ऐण्टिवायोटिक अवशेष

यो समाचार 225 पटक पढिएको

Milkकाठमाडौं,  मानव शरीरलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्त पोषिलो मानिने दूध पनि पछिल्लो समयमा स्वास्थ्यका लागि हानिकारक तत्व भेटिएको छ। गाई र भैसीको दूधमा अत्याधिक मात्रामा ऐण्टिवायोटिक औषधीको अवशेष पाइएको सरकारी निकायले गरेको अध्ययनले देखाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले गरेको एक अध्ययनले दूधमा मानव स्वास्थ्यलाई असर पु:याउने ऐण्टिवायोटिकको मात्रा बढी देखाएको छ। ऐण्टिवायोटिक औषधीको मात्रा मुख्यगरी भक्तपुर, पोखरा र काभ्रेमा उत्पादित दूधमा अत्याधिक मात्रामा पाइएको बिभागका महानिर्देशक जीवनप्रभा लामाले बताइन। युरोपियन युनियनले दूधमा ऐण्टिवायोटिक औषधीको अवशेष न्युनतम ४ पीपीवी(पार्ट पर विलियन) सम्म भए मानव स्वास्थ्यमा ठूलो हानी नभए पनि त्यो भन्दा बढीलाई हानिकारक मानेको छ। खाद्य पदार्थमा न्युनतम कति पीपीवीसम्म औषधीको अवशेष हुनुलाई सामान्य मान्य भनेर नेपालले मापदण्ड तयार नगरेकाले युरोपियन युनियनको मापदण्डलाई आधार मान्दै आएको छ।

दुई महिना अघिमात्र देशका विभिन्न भागमा गरिएको गहन अनुसन्धानका क्रममा पोखरा, काभ्रे र भक्तपुरको दूधमा चारसयभन्दा बढी पीपीबी ऐण्टिवायोटिक औषधीको अवशेष फेला परेको छ। ‘उपत्यकामा बिक्रि बितरण हुने दूधमा भने तीनसय पीपीबीभन्दा बढी मात्रामा यस्तो अवशेष पाइएको छ,’ बिभागका वरिष्ट खाद्य अनुसन्धान अधिकृत कञ्चनकुमार नायकले भने। प्रशोधन गरेर प्याकेटमा बिक्रि हुने, प्रशोधन नगरिएका र पाउडर दूधमा आवश्यकताभन्दा बढी मात्रामा ऐण्टिवायोटिक औषधीको अवशेष पाइएको हो।

विभागले उपत्यकासहित देशका विभिन्न भागमा गरी १ सय २० वटा दुधको नमूना संकलन गरेको थियो। यसमध्ये ६७ वटामा अत्याधिक मात्रामा ऐण्टिवायोटिकको अवशेष भेटिएको थियो। केहीमा एकहजार पीपीवीभन्दा बढी मात्रामा पाइएको थियो। दूधमा मुख्यगरी एम्पीसिलिन समूहको एमोक्सासिलिन, एम्पीसिलिन र ओक्सासिलिन औषधीको अवशेष बढी पाइएको छ। ‘यस्तो औषधीको अवशेष पाइएका दूध सर्वसाधारणले सेवन गर्दा मान्छेको रोग निदान गर्न यही समूहको औषधी प्रयोग गर्दा काम नलाग्ने हुन्छ,’ केन्द्रिय क्वारेन्टाइन प्रमुख डा. बोधप्रसाद पराजुलीले भने,‘दूधमार्फत मान्छेले यस्ता औषधीलाई सजिलै पचाईसकेको हुनाले यो भन्दा धेरै कडा खालको औषधीको आवश्यकता पर्न सक्छ। कडा खालको औषधी प्रयोग गर्दा मानव स्वास्थ्य झन जोखिममा पर्न सक्छ।’

गुणस्तरहिन पानी मिसाएर बिक्रि बितरण गरिदैं आएको दूध सेवन गरे कमलपित्त, झाडापखाला, डायरिया जस्ता रोगबाट लाग्नेगर्छ भने ऐण्टिवायोटिक युक्त दूधको सेवनले पिसाव कम हुने, छाला, आँखा, हाड र मस्तिष्कजन्य रोग लाग्ने सम्भावना अधिक हुन्छ। यस्तो दूधको प्रयोगका कारण श्वास प्रश्वाससम्बन्धि रोग पनि लाग्न सक्छ। ‘दूधमा ऐण्टिवायोटिक औषधीको अवशेष बढी परिमाणमा भेटिएको खण्डमा मान्छेको मृत्युसम्म हुन सक्ने खतरा हुन्छ,’ विभागका महानिर्देशक जीवनप्रभा लामाले भनिन। दुध दिने गाई भैसीलाई ऐण्टिवायोटिक औषधी ख्वाएको अवस्थामा दुधमा पनि त्यसको अवशेष आउने गर्छ। यस्तो अवशेषलाई कुनै पनि हिसावले दुधबाट हटाउन नसकिने पनि महानिर्देशक लामाले बताइन्।

 कुखुराको मासुमा पनि ऐण्टिवायोटिक

विभागले हालै गरेको एक अर्काे अध्ययन अनुसार कुखुराको मासु, पाग्रा र कलेजोमा पनि ऐण्टिवायोटिकको मात्रा फेला पारेको छ। राजधानीसहित चितवनबाट संकलन गरिएको कुखुराको ५० वटा नमूनामध्ये १० वटामा यस्ता अवशेष पाइएको थियो। ‘दशमध्ये ५ वटामा झनै भयावह अबस्थामा अवशेष पाइयो,’विभागका खाद्य बिशेषज्ञ मोहनकृष्ण महर्जनले भने। उनका अनुसार २५ वटा कलेजोको नमूनामध्ये २३ वटा र २५ वटा पाग्राको नमूनामध्ये १८ वटामा न्युनतम मापदण्डभन्दा अत्याधिक मात्रा ऐण्टिवायोटिक भेटिएको छ। कलेजो र पाग्रामा टेट्रासाइक्लीन, माइक्रोलिड, सल्फोनामाइड, पेनीसिलिन, इमिनोग्लोकोसाइडजस्ता ऐण्टिवायोटिक औषधीको अवशेष पाइएको हो। उनले  भनिन्,‘ दुधमा यस्तो हानिकारक तत्व नहोस भन्नाका लागि दुध दिने गाई भैसीलाई सकेसम्म कम ऐण्टिवायोटिक औषधी दिनुपर्छ। ’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :