उचित मूल्यमा ताजा तरकारी तथा फलफूल उपलब्ध गराउन निर्देशन

This post has already been read 183 times!

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले उपभोक्तालाई उचित मूल्यमा ताजा फलफूल तथा तरकारी उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सचिव बाँस्कोटा नेतृत्वको टोलीले आज कालीमाटी तथा फलफूल बजारको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिनुभएको हो । उहाँले स्वस्थ तरकारी बिक्री गर्न, किसानले उचित मूल्य पाउने व्यवस्था गर्न र फोहोर व्यवस्थापन गर्न सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिनुभएको थियो । उहाँले मूल्यमा पारदर्शिता अपनाउन, आपूर्तिलाई नियमितता दिन र घातक विषादी प्रयोग नभएका हरियो तरकारी र फलफूल मात्रै बिक्री गर्ने प्रबन्ध मिलाउन आग्रह गर्नुभएको थियो । 

Krishnahari baskota
उहाँले ढक तराजु एवम् लिटर मापन गर्ने यन्त्र उपकरणको विश्वसनीयता कायम गर्न र यस बजारले आफ्नो सामाजिक दायित्वस्वरुप अभियानको रुपमा सफाइ गर्ने तथा प्याकेजिङ एवम् ग्रेडिङमा ध्यान दिन आग्रह गर्नुभएको थियो । बहुतल्ले भवन निर्माणको अवधारणा, कोड स्टोर निर्माण, फोहोरबाट प्राङ्गारिक मल कारखाना सञ्चालन वा गाईपालन जस्ता रचनात्मक काम गर्न सकिने जानकारी दिँदै उहाँले हरियो तरकारीको खपत वृद्धि गर्न तरकारी मेलाको आयोजना गर्न सकिने समेतमा जोड दिनुभएको थियो ।
मुलुकभर सरकारको पहलमा २४ वटा तरकारी थोक बजार र २४५ वटा सङ्कलन केन्द्र सञ्चालित छन् । निजी क्षेत्रबाट विभिन्न स्थानमा बजार र हाट बजार सञ्चालन हुँदै आएको छ । कूल ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटी तरकारी बजारमा औसतमा दैनिक ६४४ मेट्रिक टन तरकारी र फलफूल बिक्री हुने गरेको छ । यहाँ ३८१ थोक र ७० खुद्रा व्यापारी रहेका छन् । यो परिणाम भनेको दैनिक रु दुई करोडको कारोबार हो । यो बजारमा बिक्री हुने वस्तुमा ८३ प्रतिशत तरकारी, १२ प्रतिशत फलफूल र पाँच प्रतिशत मसला, माछा र अन्य वस्तु रहेका छन् ।  कालिमाटी बजारमा भारतबाट २५ प्रतिशत, धादिङबाट १८ प्रतिशत, काभ्रेबाट १२ प्रतिशत, मकवानपुरबाट आठ प्रतिशत र बाँकी ३५ प्रतिशत भक्तपुर, चितवन, दोलखा, गोरखा, झापा, काठमाडौँ, ललितपुर, लमजुङ, मोरङ, नुवाकोट, पर्सा, रौतहट, सर्लाही, सुनसरी र तनहुँबाट तरकारी र फलफूल आयात हुने गरेको छ ।