लस्सी र कफी बेची करोडपति बने तिमिल्सिना

यो समाचार 207 पटक पढिएको

छाप्रोबाट भवनमा सर्दा रात भरि निद्रा लागेन
काठमाडौं,  हातमा सीप र दृढ इच्छाशक्ति भएमा जुनसुकै काममा पनि राम्रो सफलता हासिल गर्न सकिन्छ । खाने मुखलाई जुंगाले छेक्दैन भनेजस्तै काम गर्न खोज्ने मान्छेलाई सानातिना अवरोधहरुले छुन सक्दैनन् ।पछिल्लो समय नेपालमा रोजगारी पाइएन, उद्यम(व्यवसाय गर्ने वातावरण पनि भएन भन्दै लाखौं नेपालीहरु विदेशिरहेका छन् । काम गरेर खाने वातावरण भएन भनेर सरकार तथा नेताहरुलाई गाली गर्दै विदेश हानिनेहरुका लागि काभ्रेका यतिराज तिमिल्सिना गतिलो उदाहरण बन्नुभएको छ । धुलीखेलबाट ८ किलोमिटर पूर्वतर्फ सडकमा लस्सी र कफी पसल गर्दै आउनुभएका तिमिल्सिना यही व्यवसायबाट करोडपति बनिसक्नुभएLassiको छ ।

०५८ सालमा छाप्रोबाट कफी र लस्सी बेच्न थाल्नुभएका तिमिल्सिनाले अहिले सोही स्थानमा १ करोड २५ लाख रुपैयाँको ७ तलाको पक्की घर ठड्याउनुभएको छ । जहाँ अहिले दैनिक सयौं सर्वसाधारण लस्सी र कफी खानकै लागि पुग्ने गर्छन् । काम गर्ने वातावरण अरुले बनाइदिने होइन, आफै बनाउन सकिन्छ भन्ने तिमिल्सिनाको पसलमा दैनिक ५ देखि ७ सय कप लस्सी तथा कफी बिक्री हुने गर्छ । जसबाट ५ देखि ७ हजारसम्म चोखो मुनाफा गर्नुहुन्छ । व्यवसाय शुरु गर्दा उहाँको पसलमा जम्मा २० कपको हाराहारीमा मात्र लस्सी तथा कफी बिक्री हुने गरेको बताउनुहुन्छ ।

विसं। ०४४ सालमा काठमाडौं छिरेर करिव १४ वर्ष नेपाल डेरी, कार्की कार्पेट उद्योग लगायतमा काम गर्नुभएका तिमिल्सिना दाइले फर्निचर उद्योग खोलेपछि जागिर छाडेर काभ्रे फर्किनुभएको थियो । फर्निचरमा काम गर्दा(गर्दै मेसिनले हात काटेपछि फर्निचर उद्योग छोडेर पसल चलाउन शुरु गरेको उहाँले बताउनुभयो । ०५८ सालतिर दाइले बनाएको सडक छेउको छाप्रोमा उहाँले मिठाई, विस्कुट, कोक राखेर पसल शुरु गरेको बताउनुहुन्छ । विस्तारै कफी र चिया बनाएर बिक्री शुरु गर्नुभएका तिमिल्सिना अहिले लस्सी दाइको उपनामले चिनिन सफल हुनुभयो ।

शुरुमा पसल गर्दा उहाँले जग्गा धितो राखेर कृषि विकास बैंकबाट ६० हजार ऋण लिनुभएको थियो । डेरी उद्योगमा काम गर्दा कफी र लस्सी बनाउन समेत सिकेको सीपलाई व्यवसायमा लगानुभयो । त्यति बेला हेल्भेटास भन्ने संस्थाले कफीको ट्रेनिङ दिएपछि कफी लगाउन समेत शुरु गर्नुभयो । व्यवसाय शुरु गरेको ५ वर्षसम्म संघर्ष गर्नुपरेपनि त्यसपछि सहज हुन थालेको उहाँको अनुभव छ ।

छाप्रोबाट भवनमा सर्दा रातभरि निद्रा लागेन

छाप्रोबाट व्यवसाय शुरु गरेर सफलता पाएका तिमिल्सिनाले घर बनाएर छाप्रोबाट सर्दा रातभरि निद्रा नलागेको बताउनुभयो । रातभरि छाप्रो देखेको बताउँदै उहाँले सफलता दिलाउने छाप्रोलाई संरक्षण गरेर राखेको बताउनुभयो । त्यही छाप्रोले मलाई घर दिएको हो, उहाँको भनाइ छ ।काठमाडौंमा महिनाको १ सय ५० रुपैयाँबाट जागिर सुरु गरेका उहाँले अहिले अहिले कुनै दिन दिनकै ५र७ हजारसम्म कमाउनुहुन्छ । लस्सी र कफी मन पराउनुको कारण

उहाँले गाउँमै उत्पादन भएको अर्गानिक कफी, दुध र दही प्रयोग गरेर लस्सी तथा कफी बनाउनुहुन्छ । आफ्नै कफी बँगैचा र गाई भैंसी फार्म भएको बताउने उहाँले अपुग गाउँबाट संकलन गर्नुहुन्छ । दुध संकलन गरेर दही जमाउने र त्यहि दहीबाट लस्सी बनाएर बेच्ने थालेका तिमिल्सिनाको पसलमा एकपटक छिरेको मान्छे खोज्दै(खोज्दै पुग्ने गर्छन् ।

संकटकालमा मान्छेको आवत(जावत कम हुने हुँदा ठिक्कै चलिरहेको उहाँको कफी र लस्सी पसल जनआन्दोलन पश्चात एकाएक चम्किन पुगेको बताउनुहुन्छ । जनआन्दोलनपछि मान्छेको आवतजावत बढ्न थालेपछि पसलमा बिक्री बढी हुन थालेको बताउँदै उहाँले २०६४ सालमा गौरिशंकर अर्गानिक कफी तथा लस्सी नामक कम्पनी दर्ता गरेर व्यवसाय बढाउन थालेको बताउनुभयो ।

ग्राहक को हुन् 

उहाँको पसलमा एनजीओ( आइएनजीओका कर्मचारी, सकारी कर्मचारी, मन्त्रीहरु, विदेशीहरु, व्यपारी, डेटिङ गर्ने युवा युवतीहरु, विद्यार्थी तथा नेताहरु अर्गानिक लस्सी र कफीका चुस्की लिन पुग्ने गर्छन् । बाटो हिँड्ने मान्छेहरुले गाडी रोकेर लस्सी र कफी खाने गर्छन् । कतिपय त झुक्किएर गाडी माथि पुर्‍याइसकेर पनि लस्सी र कफी खान फर्किने गरेको तिमिल्सिनाको अनुभव छ । आफ्नोमा लस्सी र कफी खाएर विदेश जानेहरुले पनि सम्झिरहने गरेको उहाँले बताउनुभयो । उहाँकोमा सीडियो, डीएसपी तथा नेताहरु शेरबहादुर देउवा, सुजाता कोइराला, रामचन्द्र पौडेल, अग्नी सापकोटा लगायत पुगिसकेको बताउनुहुन्छ ।

सफलताको रहस्य

इमानदारिता, लगनशीलता, दृढ इच्छाशक्ति भएमा जुनसुकै काम शुरु गरे पनि सफलता हासिल गर्न सकिने तिमिल्सिना बताउनुहुन्छ । आफुले साँघुरो ठाउँमा व्यवसाय गरेर पनि सफलता हासिल गरेको बताउँदै सफलताका पछाडि श्रीमती निर्मला तिमिल्सिनाको ठूलो हात रहेको बताउनुभयो । श्रीमतीले उहाँलाई हरेक काममा सघाउने गर्नुहुन्छ ।१२ जनालाई रोजगारी दिनुभएका उहाँले यहीँ राम्रोसँग काम गर्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ । विदेश जानेहरु स्वदेशमा स्वरोजगार बन्न लाज मानेर हो, उहाँको भनाइ छ । खाडी मुलुकको चर्को घाममा १५र२० हजार रुपैयाँमा काम गर्नुभन्दा बरु यहीँ उद्यमशील बन्न उहाँले आग्रह गर्नुभयो । आफुले काठमाडौंमा रहेर अरुको काम गरिरहेको भए यो सफलता हासिल गर्न नसक्ने बताउँदै व्यवसाय शुरु गरेर लगनशील भई कडा मेहनतका साथ काम गरेपछि सफलता हासिल गरेको दाबी गर्नुहुन्छ । मेहनत गर्नुका साथसाथै भाग्य बलियो भएको हुँदा सफलता मिलेको पनि हुनसक्ने उहाँको भनाइ छ ।’सुरुमा व्यवसाय गर्दा १५र२० कपमात्र बेचिन्थ्यो, अहिले चलेका दिन कफी र लस्सी गरेर ५ देखि ७ सय कप बिक्री हुन्छ’ उहाँले भन्नुभयो( ‘अहिले मिल्क कफी २५ रुपैयाँ, लस्सीको ३५ रुपैयाँ, दूध चियाको २० रुपैयाँ पर्छ, जबकि व्यवसाय सुरु गर्दा कफी ५ रुपैयाँ र लस्सी १० रुपैयाँ पथ्र्यो ।’

थप व्यवसाय

अहिले उहाँ पसलका साथसाथै गाई भैंसी पालन, कफी उत्पादन, कुखुरा पालन, दुध संकलनको समेत काम गर्दै आउनुहुन्छ । छोराछोरी सुताएर राति लोग्ने स्वास्नी मिलेर कफी भुट्ने तथा पिँध्ने गरेको बताउँदै उहाँले बढी भएको धूलो कफी बेच्ने गरेको बताउनुभयो । साथै, दूध पनि धेरै भएमा डेरीमा बेच्नुहुन्छ । उहाँ कफीको प्रशिक्षक समेत हुनुहुन्छ ।

अहिले आफ्नो पसल देखेर आसपासमा १५र२० वटा लस्सी तथा कफी पसल खुलिसकेको जानकारी गराउँदै उहाँले आफ्ना ग्राहक सधैं आफ्नोमा आउने गरेको बताउनुभयो । ‘यहि लस्सी र कफी बेचेर ७ तलाको घर बनाएको हुँ, मेहनत गरेपछि गुमाउनु पर्दैन’ उहाँले थप्नुभयो( ‘घरबारी धितो राखेर घर सवा करोडको ठडाएपनि अहिले ऋण तिरेर भ्याउन लागेको छु ।’

अनलाइनखबरबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :