मकवानपुरको किवीले बजार पाएन

यो समाचार 379 पटक पढिएको

  • कुमार नेगी

मकवानपुर,स्वादिलो र औषधीय गुणले युक्त फल किवीको मकवानपुरमा व्यवसायिक रुपमा सफल उत्पादन भए पनि बजार पाउन नसक्दा किसानहरु चिन्तित बनेका छन् । मकवानपुर एक गाउँ एक उत्पादन अन्तर्गत किवी खेतीका लागि छनौट गरिएको जिल्ला हो । यहाँको बज्रवाराहीमा ३ वर्षदेखि व्यवसायिक रुपमा किवी खेती हुँदै आएको छ । उत्पादन अनुसार बजार पाउन नसक्दा बज्रवाराहीका किसानहरु किवी त्यत्तिकै फाल्नु पर्ने हो कि भन्ने चिन्तामा छन् ।

kiwi photo

महंगो पर्ने भएकाले किवीको लागि स्थानीयबाहेककै बजारमा भर पर्नु पर्ने अवस्था रहेको किवी उत्पादक फणिन्द्र सुवेदीले बताए । मकवानपुरलाई एक गाउँ एक उत्पादनअन्तर्गत किवीका लागि सिफारिश गर्दा त्यसको बजारको समन्वय गर्ने जिम्मा मकवानपुर उद्योग वाणिज्य संघले लिएको थियो । अहिले संघले बजारको खोजी भईरहेको बताए पनि उचित व्यवस्थापन गर्न सकेको छैन । संघले विभिन्न व्यापार मेलाहरुमा स्टल राखेर विक्री गर्न सुझाव दिएको भए पनि अहिले तत्काल मेला नपरेकोले विक्री गर्न समस्या रहेको किसानहरुले बताएका छन् । ‘हामीसँग भण्डार गर्ने ठाउँ छैन, किवी भण्डारणका लागि एउटा रस्टिक हाउसमात्र भएएको भए पनि मागअनुसार निकालेर विक्री गर्न हुन्थ्यो,’ उत्पादक सुवेदीले भने ।

अहिले सुवेदीसँग करिव पाँच क्वीन्टल किवीका फल छन् । त्यसैगरी अर्का कृषक मनोरथ बलामी र सानुकाजी गोपालीसँग पनि पाँच÷पाँच क्वीन्टलजति किवीका फल छन् । अर्का किसान हरेराम थापाले पनि किवी उत्पादन गरेका छन् । ‘राम्रो बजार भेटिएला भनेर लगाइयो, अहिले विक्री गर्ने ठाउँ नै नपाउँदा लाखौंको किवी त्यसै खेर जाने भयो,’ थापाले गुनासो गरे । उनले विक्री हुने ठाउँ नदेखेकोले अहिलेसम्म लहराबाट नटिपेको बताए । त्यस्तै बजारको अभावमा सानुकाजी गोपालीले पनि किवी भित्र्याएका छैनन् ।
किवी फल निकै महंगोमा विक्री हुने गर्दछ । अहिले स्थानीय बजारमा ४ सय रुपियाँ र काठमाण्डौंमा ६ सय रुपियाँ प्रतिकिलोका दरले विक्रीका लागि राखिएको छ । हेटौंडामा पहिलोपटक विक्रीका लागि राख्दा एक सातामा मुश्किलले ५० किलो विक्री भएको सुवेदीले बताए । काठमाण्डौंमा व्यक्तिगत सम्पर्कका आधारमा मात्र विक्री भइरहेको र यसरी सबै उत्पादन खपत हुन नसक्ने उनले बताए । बजारको अभाव देखेपछि अहिले बज्रवाराहीका अन्य किसानहरु किवी खेती गर्ने योजनाबाट पछि हट्न थालेका छन् ।
नेपालमा किवी फलको व्यापार नै नहुने भने होइन । नेपालमा न्युजिल्याण्डबाट मात्र वार्षिक २ सय मेट्रिक टन किवी भित्रिने गरेको छ । किवीको व्यवसायिक खेती भएको न्यूजिल्याण्डबाट भारतमा वार्षिक २ अर्ब अमेरिकी डलरको किवी निर्यात हुन्छ । ठूला डिर्पाटमेन्टल स्टोरहरुमा किवी राखिने भए पनि त्यहाँसम्म आफ्नो पहुँच पुग्न नसक्दा बजारको समस्या परेको बज्रवाराहीका किसानको बुझाइ छ । नेपालमा किवी अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, इलाम, नुवाकोट, ताप्लेजुङ, रामेछाप लगायका जिल्लामा पनि व्यवसायिक रुपमा खेती शुरु भएको छ ।
किवीको महत्वको बारेमा मानिसहरुलाई जानकारी कम भएकोले पनि यसको विक्रीमा नकारात्मक प्रभाव परकेको बताइएको छ । किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । यसबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस जाम आदि

बनाउन सकिन्छ । आफूलाई थाहा भए अनुसार किवीलाई भिटामिन सीको क्याप्सुलकै रुपमा लिने गरिएको किवी उत्पादक सुवेदीले बताए । यसको नियमित सेवनबाट कम उमेरमा देखिने बुढ्यौलीपनको समस्या कम हुने, शक्ति मिल्ने, क्यान्सर पीडितलाई राहत मिल्ने र यौन दुर्वलता हटाउन समेत सहयोग पुग्ने बताइएको छ ।
अहिले बज्रवाराही गाविसका १० जना कृषकले २० देखि साढे २ सयवटा किवीको बिरुवा लगाएर उत्पादन थालेका छन् । बज्रवाराहीमा फणिन्द्र सुवेदीको संयोजकत्वमा किवी उत्पादन कृषक समूह नै गठन गरिएको छ ।