सहकारीले फेरिएको जीवन

यो समाचार 210 पटक पढिएको

ललितपुर,     सात वर्षअघि भारदेउ–१ चापाखर्ककी गंगा तामाङले १५ हजार रुपैयाँ लगानी गरेर बंगुरपालन व्यवसाय शुरु गर्नुभयो । बंगुर पाल्दा राम्रो आम्दानी हुने भएपछि उहाँले बंगुरपालन व्यवसाय बढाउँदै लैजानुभएको छ ।  ३ वटा बंगुरका पाठाबाट शुरु गर्नुभएको तामाडको फार्ममा अहिले ३६ वटा बंगुर छन् । प्रतिवर्ष बंगुर बढाउँदै गएँ, आगामी दिनमा पनि व्यवसाय विस्तार गर्ने क्रममा छु’ उहाँले भन्नुभयो । उहाँले बंगुरपालन व्यवसायबाट सिजनमा लाखभन्दा बढी कमाउने गर्नुहुन्छ । एकपटक एकैचोटी १८ वटा बंगुर बेच्दा राम्रो आम्दानी भएपछि उहाँ दंग पर्नुभएको थियो । शुरुमा सहकारीबाट ऋण लिएर श्रीमानलाई नभनीकनै उहाँले बंगुरपालन गर्नुभएको थियो ।

साढे ३ वर्ष मलेसिया बिताएका श्रीमान उमेश तामाड श्रीमातीको व्यवसायिक क्षमताबाट दंग पर्र्दै छुट्टीमा आएपनि पुनः वैदेशिक रोजगारीमा नफर्की व्यवसायमा लाग्नुभएको छ । सोही गाउँकी पावर्ती श्रेष्ठले केही वर्षअघिदेखि गोलभेडा खेति गर्र्दै आउनुभएको छ । बारीबाटै गोलभेडा बिक्री हुदाँ उहाँ अझै खेति विस्तार गर्ने सोचमा हुनुहुन्छ । पहिला यहाँ रक्सी पार्ने र बेच्ने चलन थियो , अहिले हामी तरकारी बेच्न थालेका छौं उहाँले भन्नुभयो । सिजनका बेला गोलभेडा बिक्री गर्न भ्याईनभ्याई हुने गरेको उहाँको अनुभव छ । पहिला बजारबाट तरकारी किनेर ल्याउने स्थानीयहरु अहिले यहाँको ताजा उत्पादन खान पाउदा खुसी भएका छन् उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
भारदेउ ८ की सुन्तली श्रेष्ठ कुखुरापालन गर्नुका साथै तरकारी खेति पनि गर्दै आउनुभएको छ । उहाँले सिजनका बेला कुखुराबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । भारदेउ १ की लक्ष्मी श्रेष्ठले ३ दिन तालिम लिएर गड्यौलाको खेति गर्दै आउनुभएको छ । उहाँले १ लटमा चार सय केजी कम्पोष्ट मल बिक्री गरेको अनुभव सुनाउनुभयो । कम्पोष्ट मल बनाउन धेरै मेहनत गर्नु नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गड्यौला खेतितर्फ लागेको उहाँले बताउनुभयो । गड्यौलाबाट निर्मित कम्पोष्ट मल प्रतिकेजी १६ रुपैयाँमा बिक्री हुदैँ आएको छ । लक्ष्मीसहित ५ जना महिला मिलेर २ हजार २ सय केजी गड्यौला किनेर व्यवसाय शुरु गर्नुभएको थियो ।
गंगा, सुन्तली र लक्ष्मी मात्र होइन भारदेउ गाविसका करिव ३ सय बढी महिला आर्थिक क्रियाकलापमा संलग्न छन् । सधैं चुलोचौकोमा सीमित रहने महिलाहरु विगत केही वर्ष यता गोपेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर आर्थिक उपार्जनमा लागेका हुन् । संस्थाकी कोषाध्यक्ष कमला श्रेष्ठले सहकारीमा आवद्द भएका सबै महिलाहरु कृषि पेशा अगाँलेको बताउनुहुन्छ । पशुपालन, तरकारी खेति गरेर आत्मनिर्भर रहेको उहाँको भनाइ छ । सल्फ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका सयौं महिलाहरु सक्षम भएका छौं उहाँले भन्नुभयो । सल्फ नेपालले सहयोग नगरेको भए छोटो समयमा सहकारीले प्रगति गर्ने थिएन, उहाँले आफ्ना अनुभव सुनाउनुभयो । सानातिना खर्चका लागि पनि श्रीमानसँग परनिर्भर हुदाँ दिक्क भएका महिलाहरु आफ्नै सक्रियतामा अहिले घरखर्च चलाउन सक्दा निक्कै दंग परेका छन् ।
सल्फ नेपालकी नरमाया राण मगरले महिलाको आर्थिक उपार्जनका लागि काम गर्ने भएकाले सहकारीमार्फत आफ्ना कार्यक्रम अघि बढाएको बताउनुभयो । सहकारीमार्फत जादाँ यहाँका सबै महिला लाभान्वित हुनुभएको छ, उहाँहरुको दैनिक आर्थिक क्रियाकलाप बढेको छ उहाँले भन्नुभयो ।  गोपेश्वरी सहकारी अध्यक्ष सम्झना श्रेष्ठले सहकारीमार्फत ३६ लाख १९ हजार ४ सय २३ रुपैयाँ परिचालन भएको बताउनुभयो । यहाँबाट भैसीपालनका लागि ८९ जनाले १३ लाख ४४ हजार ९ सय ५३ रुपियाँ, बाख्रापालनका लागि ८० जनाले ९ लाख ६८ हजार ५ सय ७० रुपैयाँ ऋण लिएका छन् । त्यस्तै ६ जनाले खुद्रा पसलका लागि ४ लाख २८ हजार ४ सय, १० जनाले बंगुरपालनका लागि १४ लाख ८ हजार, ३ जनाले कुखुरापालनका लागि ९० हजार रुपैयाँ सहकारीबाट ऋण लिएका छन् । त्यस्तै गोलभेडा खेतिका लागि ७ जनाले ९७ हजार, कस्मेटिक पसलका लागि ५ जनाले २ लाख ८४ हजार र १० जनाले घरायासी प्रयोजनका लागि १ लाख ५३ हजार ४ सय रुपैयाँ सहकारीबाट ऋण लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :