मदिराले मालामाल कोदो व्यापार

यो समाचार 247 पटक पढिएको

  • टंक खड्का

सिन्धुपाल्चोकमा वार्षिक उत्पादन हुने २३ हजार मेट्रिक टन कोदोमध्ये ९० प्रतिशत रक्सी बनाउन खपत हुने गरेको छ । १० प्रतिशत कोदोमात्र खान र बीउ भण्डारमा उपयोग हुन्छ । ठूलो परिमाण रक्सी बनाउन खपत हुने गरेपछि कोदोको मूल्य पनि बढेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको ११ हजार ३ सय हेक्टर जमिनमा कोदोखेती हुन्छ । ६० प्रतिशत जनजातिको बसोबास रहेको जिल्लामा चाडपर्व र धार्मिक कार्यमा समेत कोदोबाट बनाइएको रक्सी प्रयोग हुन्छ । ब्राह्मण समुदायले कोदोलाई कुअन्नका रूपमा लिने हुँदा उनीहरूले उपभोग नगरी रक्सी उत्पादकलाई बेच्ने गरेका छन् ।

Kodo
अहिले जिल्लामा १ पाथी कोदोको मूल्य ठाउँअनुसार ९० देखि २ सय रुपैयाँसम्म छ । गत वर्ष ७० देखि १ सय ४० रुपैयाँसम्ममा खरिद–बिक्री भएको थियो । स्याउले गाउँका माइला तामाङ त्यस्तै उत्पादक हुन्, जसले हातमुख जोर्नकै लागि वर्षौंदेखि कोदोको रक्सी बनाइरहेका छन् । तर, कोदोको मागसँगै बढिरहेको मूल्यले उनलाई चिन्तित बनाएको छ । “अब त कोदो किनेर रक्सी बनाउनै नसकिने भो,” हालै एक दिउँसो कोदोको भारी बिसाउँदै उनले सुनाए, “पहिलेभन्दा दुईगुणा भइसक्यो भाउ ।” उनले सातामा ३÷४ पटक स्थानीय जातको रक्सी बनाएर होटलमा एकमुष्ट बेच्छन् र घरखर्च चलाउँछन् ।
मेलम्ची भेगमा पर्ने नवलपरका रूप लामाले पनि कोदोको बढ्दो मूल्यले मन खुम्च्याइरहेका छन् । “रक्सीको माग धेरै छ, त्यसैले कोदो पनि धेरै चाहिन्छ,” उनी भन्दै थिए, “माग धेरै भएपछि भाउ पनि बढ्यो, पर्तै पो पर्दैन ।” सीप अभाव र बढ्दो बेरोजगारीसँगै जिल्लाका युवाहरू कुलतमा फस्दा कोदोबाट उत्पादित रक्सीको माग बढ्दो छ । “त्यही मागले जिल्लामा उत्पादन हुने कोदोको ९० प्रतिशत उत्पादन रक्सीमै खपत हुन्छ,” जिल्ला बाली संरक्षण अधिकृत यादव सापकोटा भन्छन्, “पोहोरभन्दा यसपालि कोदोको फसल राम्रो भएकाले उत्पादन बढ्ने देखिएको छ, त्यससँगै रक्सी उत्पादन पनि बढ्नेछ ।” ज्यामिरेका कृषक बेलबहादुर अधिकारी रक्सी उत्पादनका लागि बर्सेनि तामाङ समुदायलाई कोदो बेच्दै आएका छन् । गहुँ, मकैभन्दा कोदोको भाउ बढी रहेको र रक्सीको बढ्दो मागअनुरूप भाउ अकासिँदै गएको उनी बताउँछन् ।
जनजातिको हकमा सांस्कृतिक तथा धार्मिक जे–जस्तो कारण दिइए पनि मदिरा सेवन गर्नेमा ब्राह्मण, क्षेत्रीलगायत सबै जातिको संख्या बढ्दो छ । घरेलु मदिरा उत्पादकले कृषकसँग कोदो खरिद गर्दा भनेजति रकम दिने गरेकाले पनि भाउ अकासिएको छ । कोदोबाट गाउँ–गाउँमा उत्पादित रक्सी जिल्लाका प्रमुख व्यापारिक केन्द्र तातोपानी, बाह्रबीसे, खाडीचौर, लामोसाँघु, बलेफी, चौतारा, नवलपुर, मेलम्ची, बाहुनेपाटी, तालामाराङ, ग्याल्थुम, चनौटे, काप्लेखोला, खाल्डेखोला, तिपेनीलगायतका बजारमा खपत हुन्छ । झन्डै उत्तिकै परिमाणमा गाउँका पसल, होटल र घरमा खपत हुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :