गहुँ छर्ने बेला बीउ अभाव

यो समाचार 246 पटक पढिएको

रौतहट,  उन्नत जातको गहुँको बीउ नपाउँदा तराईका किसान निरास भएका छन्। गहुँ छर्ने बेला उन्नत जातको बीउ नपाउँदा उत्पादन घट्ने भएपछि उनीहरू निरास भएका हुन्। तराईका मध्यक्षेत्रमा पर्ने बारा, रौतहट र सर्लाहीमा अहिले गहुँको बीउ अभाव भएको छ। रौतहट जिल्लामा साढे १५ हजार हेक्टर जग्गामा गहुँखेती हुने गरेको छ। यसका लागि १८ सय मेट्रिक टन बीउ आवश्यक हुने जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ। कात्तिक महिनाभित्र तराईका किसानधान बाली भित्र्याएर गहुँ बालीको लागि खेतजग्गा तयार पार्ने गर्छन्।Wheat

रौतहट ब्रह्मपुरीका किसान दीनबन्धु सिंहले गहुँ बाली धेरै खर्चिलो भएकोले राम्रो दाना फल्ने गहुँको खोजीमा उन्नत जातका बीउ लगाउने गरिन्छ। उन्नत जातको बीउको लागि गत पाँच दिनदेखि जिल्ला कृषि विकास कार्यालय गौरमा धाइरहेको तर हालसम्म बीउ पाउन नसकेको उनले गुनासो गरे। चार दिनअघि लामबद्ध भएर ४० किलो बीउको कुपन पाए पनि हालसम्म बीउ पाउन नसकेको उनले बताए। यस्तै दस कट्ठा जग्गामा गहुँखेती गर्न सदरमुकाम गौरबाट २० किलोटिर टाढाबाट आएर तीन दिन लामबद्ध हुँदा बल्ल बीउको कुपन पाएको तर बीउ कहिले पाउन हो ठेगान नरहेको जेठरहिया गाविस ५ की सुमनीदेवी साहले बताइन्।

सिंह र साहजस्तै सयौं किसानअहिले जिल्ला कृषि विकास कार्यालय गौरमा बीउको लागि धाउने गरेका छन्। कटहरियामा जनज्योति कृषि संस्था लिमिटेड र कृषक रासायनिक मलखाद विक्रेताले अनुदानमा पाएको २४ मेट्रिक टन गहुँको बीउ किसानलाई बिक्रीवितरण नगरी सर्लाहीका व्यापारीलाई बिक्री गरेको आरोप त्यस भेगका किसानले लगाइरहेका छन्। कटहरिया क्षेत्रमा वितरण गर्न आएको बीउ कालोबजारी भएको उजुरी नेपाल पत्रकार महासंघमा परेको महासंघका जिल्लाअध्यक्ष शैलेन्द्र गुप्ताले बताए। कटहरियामा मात्रै नभई सरकारले अनुदानमा पठाएका गहुँको बीउ यहाँका सबै डिलरलेकालोबजारी गरिरहँदा पनि सम्बन्धित निकायले कारबाही गरेको छैन।

सरकारको नीतिअनुरूप यहाँका किसान गुणस्तरीय तथा बढी उत्पादन दिने उन्नत जातको बीउ लगाउन अनुरोध गरे पनि तराईका किसान उन्नत जातका बीउ पाउनबाट वञ्चित भइरहेको कृषि कार्यालयका एक कर्मचारीले बताए। स्थानीय किसानको मागको आधारमा कात्तिक २७ गते प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको संयोजकत्वमा जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्था समितिको बैठकबाट उन्नत जातको गहुँको बीउ जिल्लाभरिमा रहेका २७ वटा फर्ममार्फत उपलब्ध गराउने निर्णय भएको थियो।

सोही निर्णयका आधारमा राष्ट्रिय बीउबिजन कम्पनीबाट पहिलो चरणमा एक सय ७६ मेट्रिक टन गहुँ यस जिल्लामा आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादवले बताए। पहिलो चरणमा आएको बीउ थोरै भएकोमा दोस्रो र तेस्रो पटक गरी थप ७४ मेट्रिक टन आए पनि किसानलाई चाहिने बीउ दिन नपाएको प्रमुख यादव बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :