स्थानीय जातको तोरी उत्पादन र संरक्षणका लागि अभियान

यो समाचार 242 पटक पढिएको

 

Tori

तनहुँ,  तनहुँमा तोरीको उत्पादनमा वृद्धि र स्थानीय जातको तोरी संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले अभियानकै रूपमा सञ्चालन गरेको छ । कार्यालयले ढोरफिर्दी गाउँ विकास समितिका विभिन्न वडामा सो अभियान सञ्चालन गरेको हो । सो क्षेत्रमा करिब २ सय रोपनी क्षेत्रफलमा तोरी संरक्षण र उत्पादन वृद्धि अभियानअन्तर्गत ब्लक निर्माण गरी तोरीको नमुना खेती सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ ।स्थानीय लुम्ले जातको तोरी सो क्षेत्रमा लगाइएको हो । तोरीका बोट राम्रोसँग फस्टाएको कृषक दुर्गा विलास भट्टराईले बताउनुभयो । अन्य जातका तोरीभन्दा लुम्ले जातको तोरीको उत्पादन बढ्ने किसानले आशा गरेको भट्टराईले बताउनुभयो ।

विभिन्न समूह बनाएर किसानले त्यस क्षेत्रमा तोरी लगाएको बताइएको छ । तोरीको उत्पादन वृद्धि र संरक्षण अभियानका लागि ढोरफिर्दी गाउँ विकास समितिबाट अभियान सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्रकुमार मल्लले बताउनुभयो । जिल्लामा तोरी उत्पादन गर्न नसक्दा तनहुँका अधिकांश तोरी पेल्ने मिलसमेत विस्थापित भइसकेको अवस्था रहेको छ । यो वर्ष करिब छ हेक्टर क्षेत्रफलमा लगाइएको तेरीखेतीबाट छ टनभन्दा बढी तोरी उत्पादन हुने अनुमान गरिएको मल्लले बताउनुभयो । अगामी वर्ष यो अभियान जिल्लाभरका विभिन्न गाउँ विकास समितिमा सञ्चालन गरिनेसमेत कार्यालयले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय तनहुँले त्यस क्षेत्रमा करिब ९० किलो बीउ सहयोग गरेको थियो । कृषि कार्यालयबाट प्राप्त बीउले राम्रो उत्पादन दिने लक्षण देखेपछि किसान उत्साहित भएका छन् । यो वर्ष त्यस क्षेत्रमा तोरीको उत्पादन राम्रो हुने लक्षण देखेपछि अन्य किसानले समेत तोरीखेती गर्ने मनस्थिति बनाएको किसान दुर्गाविलास भट्टराईले बताउनुभयो ।

यसैबीच प्रमुख जिल्ला अधिकारी शङ्करप्रसाद खरेलको नेतृत्वमा कृषि विकास कार्यालय तनहुँका प्रमुख मल्ल, पशुसेवा कार्यालय तनहुँका बाबुराम जम्मरकट्टेल, जिल्ला विकास समितिको कार्यालय तनहुँका प्रशासकीय तथा योजना अधिकृत गणेश घिमिरेलगायतका टोलीले सो क्षेत्रमा नमुनाका रूपमा सञ्चालन भएका कृषि र पशुपालन गरिएका ठाउँमा हालै अनुगमन तथा निरीक्षण भ्रमण गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :