अम्रिसोको मूल्य बढेपछि किसान खुसी

यो समाचार 121 पटक पढिएको

 

धनकुटा, ३ बैशाख अम्रिसोको मूल्य बढेपछि किसान खुसी भएका छन्। केही महिनाअघिसम्म प्रतिकिलो ४२ देखि ४५ रुपैयाँमात्रै पाउने गरेकोमा हाल किसानले ७५ रुपैयाँसम्म पाएका छन्। कुचो बनाउन प्रयोग हुने अम्रिसो घरबाटै बिक्री हुने गरेको छ। सामान्यतया ११ सय मिटरभन्दा माथिको क्षेत्रमा अम्रिसो फस्टाउँछ।

जिल्लाका १५ गाविसमा व्यावसायिक रूपमा अम्रिसो खेती हुने गरेको छ। युवाशक्ति विदेश पलायन हुने क्रम बढेसँगै गाउँमा महिला, बालबालिका र वृद्धवृद्धामात्र भएका कारण धान, मकै, कोदोलगायतका खाद्यान्न उत्पादन गर्न जनशक्ति अभाव हुने गरेको छ। त्यसैले अम्रिसो खेतीतर्फ आकर्षण बढेको हो। फुर्सदिला र कुचो बनाउने सीप भएका किसानले स्थानीय बजारमा कुचो तयार गरी प्रतिगोटा ३० रुपैयाँसम्ममा बेच्ने गरेका छन्।

 

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने भीरगाउँका किसान शान्ति भुजेलले बताए। यहाँका किसानले वार्षिक प्रतिपरिवार दुई लाखसम्मको अम्रिसो बेच्ने गरेको मूर्तिढुंगा गाविसका किसान मिलन बरालले बताए।

 

प्रत्येक गाविसमा यातायातको पहुँच पुगेका कारण उत्पादित अम्रिसो व्यापारीले किसानको घरबाट नै खरिद गर्ने व्यवस्था मिलाइएको हिलेका व्यापारी भूपाल राईले बताए। उनले भने, ‘स्थानीय व्यापारी पनि किसान नै भएकाले थोरै नाफामात्र लिने भएकाले किसान अम्रिसो खेतीतर्फ थप उत्साहित बनेका छन्।’

 

मूल्यवृद्धिसँगै जिल्लाका विभिन्न गाविसलगायत पूर्वी पहाडका तेह्रथुम, संखुवासभा ताप्लेजुङलगायतका जिल्लाबाट हिले बजारमा संकलन गरी धरान, बिर्तामोड र विराटनगरका बजारमा यस वर्ष ९० लाखको अम्रिसो निर्यात गरेको व्यापारी राईले बताए। नेपालका ठूला सहरलगायत छिमेकी मुलुक भारत र बंगलादेशका बजारबाट समेत अम्रिसोको कुचोको माग हुने गरेकाले मूल्य बढेको व्यापारी बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :