कमालका छन् नेपालका कृषि योजनाकार !

यो समाचार 698 पटक पढिएको

– रमेशकुमार पौडेल

केही समयअघि नेपालका लागि इजरायली राजदूत चितवन आए । भरतपुरमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखे । नेपालको भन्दा विषम परिस्थिति, प्रतिकूल भू–बनोट र पानीको अभावमा पनि कृषिमा इजरायलले गरेको गज्जबको प्रगति सुनाए, राजदूतले । इजरायलमा जम्मा तीन प्रतिशतले कृषि पेसा अँगालेका छन् । उनीहरुले गरेको खेतीले बाँकी ९७ प्रतिशतलाई पुग्ने मात्र होइन, विदेशमा समेत बिक्री गरिँदो रहेछ । क्या कमालको कृषि रहेछ त्यहाँ ! ८० प्रतिशत जनता कृषि पेसामा आबद्ध नेपालमा यहीँकालाई खान नपुगेर अरबौँको खाद्यान्न विदेशबाट ल्याउनुपर्छ, कस्तो विडम्बना !


इजरायली दूतको त्यो भनाइपछि मेरो दिमागमा निकै खल्बली चलिरह्यो । हैन, इजरायलको कुरो यहाँका नीति निर्माणकर्तालाई थाहा नभएको पनि होइन । अनि, यहाँ कृषि विकासको सम्भावना पनि नभएको होइन, तर खै किन मौलाएन त यहाँ खेती ? सायद, कृषिकर्मलाई उकास्ने योजनाकार नै रहेनन् होला यो देशमा भन्ने मेरो मनले ठान्यो । एकल सिलवालमार्फत एउटा पुस्तक हात प¥यो, ‘एक घर एक रोजगार’, जुन पढेपछि लाग्यो, होइन यहाँ उम्दा कृषि योजनाकार पनि रहेछन् । यस्ता योजनाकार जसले यमनमा कमाल देखाए, भारतमा धेरैको भरोसा जिते, थाइल्यान्डमा पनि थकाइ नमारी काम गरे । चीन पुगेर विकासका आवश्यक त¤व चिने ।

स्विट्जरल्यान्डमा पढे, नेपालका कुनाकन्दारामा पनि पुगे । उनी सरकारी अफिसमा काम गर्न जाँदा त्यो समाचार बनेर रेडियो नेपालमा बज्यो । पोखरामा तरकारी फलाए, फलेको तरकारी बेच्न सिकाए । उनी थिए प्रयागदत्त तिवारी, जो विसं १९८९ सालको असारमा तनहुँको च्यानडाँडा भन्ने ठाउँमा जन्मिएका हुन् । च्यानडाँडादेखि स्विट्जरल्यान्डसम्म उनको दौडाहा समेटिएको छ पुस्तकमा । अनि, जिरीदेखि सुरू भएको उनको जागिरे जीवनको धेरै समय भने विदेशी भूमिमा बित्यो, कृषिका योजनाहरु बुन्दै । उनका यी भोगाइ पढ्दै जाँदा भित्र प्रश्न उठेर आउँछ, होइन यत्तिका होनाहार मान्छे हुँदा पनि नेपालले उनको ज्ञानको उपयोग गर्न किन सकेन ? पुस्तकभित्र रहेका केही रोचक पक्ष यस्ता छन् :

तिवारीकै नाममा खरबुजाको नामकरण 

तिवारीले नेपालमा १७ वर्ष सरकारी जागिर खाए । त्यसपछि उनी यमनतिर लाग्छन् । संयुक्त राष्ट्रसंघको विश्व कृषि तथा खाद्य संगठन (एफएओ) को जागिरे भएर उनी यमन लागेका हुन् । उन्नत जातका बीउ पत्ता लगाएर कृषकलाई लगाउन सिफारिस गर्ने उनको काम थियो । ४५ डिग्री सेन्टिग्रेड तापमान हुने यमनको तोहामा भन्ने ठाउँमा उनी यसरी काममा खटे कि उनले नयाँ–नयाँ प्रजाति र बीउ किसानलाई दिन थाले । त्यो ठाउँमा छोडा खुब फल्थ्यो रे, तर बजार नपाएर किसान दिक्दार थिए । तिवारीले बजार अधिकृतको व्यवस्था गरेर किसानलाई परेको मर्का फुकाए ।

यसरी उनले किसानको मन जितेका थिए । छोडाको बीउ पनि राम्रा–राम्रा ल्याए । गर्मी हावापानी भएकाले उनको दिमागमा आयो, होइन यो ठाउँमा त खरबुजा खुबै हुन्छ होला ! उनले नयाँ जातको खरबुजा लगाए । खरबुजा उत्पातै फल्यो । सबै खरबुजा लगाउने, बेच्ने र कमाउने गर्न थाले । खरबुजा चुस्दै हिँड्नेहरु बाटो–बाटोमा देखिन थाले । यो देखेर तिवारी दंग थिए । त्यसैमाथि, त्यहाँकाले खरबुजाको नाम नै ‘तिवारी वाटरमिलन’ राखिदिएछन् । उनी झनै दंगदास हुने भए । उनले पाएको यो सम्मानले हाम्रो पनि छाती किन ठूलो नहोस् त, हैन ?

भारतको माओवादी प्रभावित क्षेत्रमा मनकारी काम
उनी भारतमा पनि काम गर्न आए, त्यो पनि कृषि योजनाकार नै भएर । कृषिका लागि राष्ट्रसंघीय अर्को निकाय कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी अर्थात् इफाद) मार्फत उनी भारतको महाराष्ट्र र त्यसपछि आन्ध्रप्रदेश राज्यमा पुगेका थिए । आन्ध्रप्रदेश भारतमा नक्सलवादी भनेर चिनिएका सशस्त्र राजनीतिक समूह माओवादीबाट प्रभावित भएको क्षेत्र हो । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो । तिवारीले काम गर्नुपर्ने क्षेत्र आदिवासी चेन्जु जातिको क्षेत्रमा थियो । चेन्जु माओवादीको प्रभावमा थिए । उनीहरुले जमिनदारका जग्गा कब्जा गरेका थिए ।

शिक्षा, स्वास्थ्य सेवा र कृषि विकासमार्फत ती चेन्जु समुदायलाई राज्यको मूलधारमा ल्याउने जिम्मा तिवारीको काँधमा थियो । चेन्जुमाथिको माओवादी प्रभाव हटाउने उद्देश्य पनि थियो । परियोजनाको नाम थियो, ‘ट्राइब डेभलपमेन्ट प्रोजेक्ट’ । कार्यक्रम गर्दा उनले माओवादीको कहिल्यै विरोध गरेनन् रे । चेन्जुहरुलाई कृषि कामका लागि ऋण चाहिए उनीहरु बैंक जान्थे । बैंकको प्रकृया झन्झटिलो थियो, जसका कारण उनी साहूको शरणमा पर्दथे । साहूले जग्गा हडप्ने नियतले ऋण दिन्थ्यो । कृषि व्यवस्थित थिएन, त्यसैले उनीहरु ऋणको भुमरीमा परेर घरखेत नै गुमाउँथे ।

तिवारीले ऋण लिने प्रकृयालाई एकदम सहज बनाए । कृषिको पूर्वाधार तयार भयो । शिक्षाका लागि विद्यालय र शिक्षकको प्रबन्ध भयो । सबै कुरा मिलेपछि खेती फस्टायो । चेन्जुको अवस्था फेरिएर आयो । तिवारीसँग माओवादी होइन, ब्याजका नाममा जग्गा लिन पल्केका स्थानीय साहू महाजनहरु पो रिसाए रे । आन्ध्रको कार्यक्रमबाट भारतका प्रधानमन्त्री मनमोहनसिंह पनि प्रभावित भए । त्यस्तै, योजनासहितको कार्यक्रम भारतका पूर्वोत्तर राज्यहरुमा पनि लैजान भनेका थिए रे ।

भारतको माओवादी प्रभावित क्षेत्रमा सफल योजना बनाएका तिवारी नेपालको माओवादी आन्दोलनको विषयमा पनि केही जान्न र समस्याको गाँठो फुकाउने कुरामा सहयोग गर्न चाहन्थे । उनी माओवादी प्रभावित क्षेत्रमा पनि नगएका होइनन् तर खै किन हो, उनको तत्परतालाई कसैले विश्वास गरेको देखिएन । पुस्तकमा उनले सुनाएको अनुभवले यही भन्छ ।

नेपालमा पनि हुनसम्म गरेका छन् 
भारत, थाइल्यान्ड र यमनलगायत विदेशमा मात्रै होइन, स्वदेशमा पनि उनले निकै गरेका छन् । कृषिको विकासमा उनले खेलेको भूमिका के–के हो, पुस्तकमा सविस्तार छ । भोकमरी लागेको कर्णाली अञ्चलमा पुग्दो खाद्यान्न पु¥याउन उनले अपनाएको आपतकालीन व्यवस्था अचम्मको छ । पोखरालगायतका क्षेत्र जहाँ भारतबाट तरकारी आउँथ्यो, त्यहाँ तरकारी फलाउन उनले खेलेको भूमिका प्रशंसनीय छ । कृषिका लागि ट्याक्टर, ट्रक किन्दा को–कसले कमाउने नियत राखे ? त्यो नियत राख्नेहरुलाई उनले कसरी पन्छाए ? रोचक लाग्ने विवरणहरु पनि छन् पुस्तकमा । नेपालमा कृषि सामग्री संस्थानमा काम गर्दा उनका पालामा एक हजार थान ट्याक्टर र चार सय थान ट्रक किन्ने योजना बनाउँदा उनले आर्थिक लाभ लिन चाहने उच्चपदस्थहरुको सपनामा कसरी पानी खन्याए, त्यो रोचक हुने नै भयो । आँपको टोकरी लिएर बिनाकामको भुक्तानी माग्न आउनेलाई उनले आफैँ बोकेर खुरूक्क जाने भनेर हप्काए, जसलाई उनीभन्दा माथिल्ला अफिसरहरुको संरक्षण थियो ।

मातृवियोग भोगेका तिवारीले आमाको मृत्युको क्षणलाई यसरी सम्झेका छन् कि आँखा नै रसाएर आउँछ । शिक्षाका लागि उनले गरेको संघर्ष र संगत साँच्चीकै प्रेरणादायी छ । बाल्यकालको चञ्चलता, युवाकालको संघर्ष, जागिरे जीवनका आरोह–अवरोहहरुका साथै बुढौलीको दिक्दारी सबै अटाएको छ, पुस्तकमा । मिलन बगालेले तिवारीका अनुभवहरु पुस्तकमा उतारेका हुन् ।

अलपत्र एक घर एक रोजगार 
पुस्तककै नाम नै ‘एक घर एक रोजगार’ रहेको छ । यसो हेर्दा यो पुस्तक रोजगार हुने कुनै विधि र कला सिकाउने पो हो कि भन्ने पनि लाग्न सक्छ । तर, यो ‘एक घर एक रोजगार’ तिवारीको अवधारणा हो, जसलाई उनले देश–विदेशमा भोगेको अनुभवका आधारमा नेपाललाई समुन्नत बनाउने सोचले व्यक्त गरेका थिए । भारतको महाराष्ट्र राज्यमा काम गर्दा देखे भोगेका अनुभवहरुलाई समेटेर उनले यो अवधारणा ल्याएका हुन् । तिवारीको प्रयासले सरकारी बजेटमा यो कार्यक्रम घोषणा त गरियो, तर कर्णाली अञ्चलका सबैलाई कार्यक्रमले समेट्नु पर्नेमा गरिबीको रेखामुनि भन्ने बाक्य थपियो । अनि, त्यस्ता समुदाय छुट्टयाउने कसले ? कार्यक्रम कार्यान्वयन नै भएन, अलपत्र प¥यो ।

अर्थात्, यो किताब पढेपछि मेरो मनमा सल्बलाएका निकै जिज्ञासाहरु एकपछि अर्को गर्दै आउने र बिलाउने हुन थाले । सारा नेपालको विकास र कृषिको उन्नति–अवन्नतिसँग जोडिएका छन्, पुस्तकका प्रसंगहरु । इजरायली राजदूतको कार्यक्रममा बसेपछि नेपालमा कृषि योजनाकार रहेनछन् क्या हो भन्ने जिज्ञासा पनि मेटियो, अनि पुस्तक पढ्दा योजनाकार भएर पनि किन विकास भएन ? अर्थात्, राम्रा योजनाकार यहाँ किन टिक्न नसकेका होलान् भन्ने जिज्ञासाहरु पनि पुस्तक पढ्दै जाँदा समाधान पनि भए । अर्थात्, यहाँ राम्रा मान्छे टिक्ने र राम्रा मान्छेका कुरा सुन्ने वातावरण रहेनछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :