प्रशिक्षणपछि किसान तरकारी खेतीतर्फ

यो समाचार 214 पटक पढिएको

सिन्धुली, २९ चैत/ भीमेश्वर गाविस निवासी ४० वर्षीया भुलमाया श्रेष्ठ तीनदिने प्रशिक्षणपछि तरकारी खेती गर्न निकै उत्साहित भएकी छन्। गरिबी निवारण कार्यक्रमले जुराइदिएको तालिमपछि उनी व्यावसायिक कृषि खेती गर्न योग्य भएकी छन्।

vegetable farming

 

‘कृषिसम्बन्धी अहिलेसम्म कुनै पनि तालिम लिएकी थिइनँ। तालिममा सहभागी भएपछि धेरै प्राविधिक ज्ञान भयो’, उनले भनिन्, ‘तालिमअघि केही जानेकै रहेनछौं।’ ‘कुन मौसममा कस्तो तरकारी लगाउने र कसरी रोप्ने सबै जानकारी भयो। तालिम लिएपछि तरकारी खेती गरेर केही गर्छु जस्तो लागेको छ’, उनले भनिन्।

 

मौसमी तथा बेमौसमी तरकारी खेतीबारेका तालिम लिएपछि श्रेष्ठमात्र नभई यहाँका ३५ जना किसान पनि उत्साहित छन्। पाँच वर्षअघि लागू भएको गरिबी निवारण कोषको आर्थिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि सामाजिक परिचालन कार्यक्रमअन्तर्गत गठन भएका सिर्जनशील, नवज्योति र उपल्लोबेसी सामुदायिक संस्थाका सदस्यलाई तालिम दिएको हो।

 

तालिममा भीमेश्वर गाविस ७, ८ र ९ का किसान सहभागी थिए। तालिमपछि उनीहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै गएको सिन्धुलीगढी सेवा प्रतिष्ठानका संयोजक बाबुराम देवकोटाले जानकारी दिए। तालिममा यस प्रतिष्ठानको पनि सहयोग रहेको छ। भीमेश्वरका किसानले काउली, टमाटर, कोपी, भिन्डी, खुर्सानी, प्याज, आलुलगायतको खेती गर्ने गरेका छन्। पढाइ लेखाइ नभएका गृहिणीले समेत तरकारी खेती सुरु गरेका छन्।

 

गाउँमा झन्डै ६० रोपनी जमिनमा तरकारी खेती सुरु गरिएको छ। महिलाले भीमेश्वरलाई तरकारी उत्पादनमा जिल्लाकै पकेट क्षेत्र बनाउने तयारी गरेको पनि जनाएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :