अलैंची उत्पादन ओरालो, मूल्य उक्लिँदै

यो समाचार 212 पटक पढिएको

इलाम, २९ चैत/ देशकै सबैभन्दा बढी अलैंची उत्पादन हुने ताप्लेजुङबाट दुई जिल्ला काटेर झापा पुगेको अलैंची चैत २१ मा प्रतिमन (४० किलो ) असी हजारमा बिक्यो। यही वर्ष ताप्लेजुङमा २५ प्रतिशतले अलैंची उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ।

alaichi tika bdr photo

यो महिना पूर्वाञ्चनलभरि नै अलैंचीको भाउ उकालो लागेको छ। इलामको फिक्कलका व्यापारी मनोरथ तिम्सिनाका अनुसार यो साता पूर्वको व्यापारिक केन्द्र फिक्कलमा ७७ हजार रुपैयाँ प्रतिमनको हाराहारीमा अलैंचीको कारोबार भएको छ। इलाममा ९० प्रतिशतभन्दा माथि अलैची मासिएको जिल्ला कृषि विकास कार्यालय इलामका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराई बताउँछन्।

 

 

झापा बिर्तामोडको महिप ओभरसिजका कर्मचारी अरुणकुमार कर्णका अनुसार उत्पादन घटेकाले मूल्य उकालो लागेको हो। अलैंचीमा छिर्के, फुर्के र गानो कुहिने रोगको प्रकोप बढेसँगै उत्पादन ओरालो लागेको छ। जिल्ला कृषि विकास कार्यालय पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार जिल्लाका अलैंची हुने क्षेत्रमा रोगको प्रकोप बढेको छ।

 

कुनै समयमा किसानको मुखमा माड हाल्ने अलैंची आफै रोगाएपछि किसान भने अन्योलमा परेका छन्। समुद्र सतहबाट सात सय मिटरदेखि दुई हजार दुई सय मिटरसम्मको उचाइ, आठदेखि २० डिग्री सेल्सियस तापक्रममा फस्टाउने अलैंचीलाई गानो कुहिएर सुक्ने रोगले सताएपछि कुनै उपचारले पनि नछोएको पाँचथरका किसान वीरेन्द्र काफ्लेले बताए।

 

वार्षिक एक हजार पाँच सयदेखि पाँच हजार मिलिमिटर वर्षा हुने सेपिलो, उत्तरी मोहडा भएको ठाउँमा सप्रने अलैंचीका डम्बरसाई, रामसाई, चिबेसाई, गोलसाई, साउनेलगायतका जात नेपालमा पाइन्छन्। यी सबै जातमा रोगको प्रकोप देखिएपछि बीउबाट बिरुवा उत्पादनलाई प्राथमिकता दिएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए।

 

यसअघि अलैंचीको गानो उक्काएर रोप्ने गरिएको थियो। अहिले बीउबाट उत्पादन गरेको बिरुवा राप्न थालेको इलामका बाली संरक्षण अधिकृत भट्टराईले बताए। यसले रोग सर्ने खतरा कम हुने उनको भनाइ छ। नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंचीको खेती ४१ जिल्लामा फैलिएको छ। अलैंची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत अन्य विकास क्षेत्रमा पर्ने सरकारी तथ्यांक छ।

 

पूर्वका खोटाड, ओखलढुंगा, उदयपुर, लमजुड, कास्की, सल्यान, दैलेख, सुर्खेतदेखि सुदूर पश्चिमका अछाम, डोटी, बैतडीसमेतमा अलैंची बगान विस्तार भएको अलैंची विकास केन्द्र पान्दम फिक्कलले जनाएको छ। ताप्लेजुङमा तीन हजार ६ सय ४७ हेक्टर क्षेत्रमा यसको व्यावसायिक खेती भइरहेको छ।

 

यसैगरी संखुवासभा तीन हजार दुई सय ५९ हेक्टर, इलाममा दुई हजार सात सय ७४ हेक्टर र पाँचथरमा करिब एक हजार आठ सय हेक्टरमा अलैंचीको खेती हुने गरेको छ। मुलुकभर १४ हजार हेक्टर जमिनमा अलैंची खेती हुने गरेको छ।

 

अलैंची लगाउँदा खेतबारी मास्नुनपर्ने, भुइँघाँस, डालेघाँसलगायतलाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुनेलगायतका कारणले यसलाई खोल्साको सुन भन्ने गरिन्छ। अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तनसमेत आएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :