दस गाविसबाट २० करोडको आलु बिक्री

यो समाचार 194 पटक पढिएको

डडेल्धुरा, २९ चैत/ जिल्लामा ७ वर्षअघिसम्म भारतबाट आलु आयात गरिन्थ्यो । केही वर्षयता यही आलु उत्पादन अप्रत्याशित रूपले बढेपछि जिल्लाका १० गाविसबाट मात्रै बर्सेनि २० करोडको आलु बाहिर जान थालेको छ ।

Potato seedNewsagrocom‘७ वर्षअघि राजमार्ग छेउको गैरा बजारबाट तराईदेखि आएको आलु खरिद गरी तरकारीमा प्रयोग हुन्थ्यो,’ गांगखेतका भक्तबहादुर रोकायाले भने, ‘अहिले बर्सेनि ४ लाखभन्दा बढीको बिक्री गर्छु ।’ परिश्रमअनुसार अन्य तरकारी खेतीबाट कम आम्दानी हुने भएपछि आलु खेतीमा आकषिर्त भएको उनले बताए ।

 

 

जिल्ला कृषि विकास कार्यालयले आलु खेतीलाई नमुनाका रूपमा विकसित गर्ने योजना ल्याएपछि गांगखेतका कृषक आलु खेतीतर्फ आकषिर्त भएका हुन् । ‘बर्सेनि न्यूनतम २ लाखसम्मको आलु नबेच्ने कृषक गाउँमा छैनन्,’ त्यहीँका धनबहादुर बोहोराले भने, ‘मैले वर्षको ३ लाखभन्दा बढीको बिक्री गरिरहेको छु ।’

 

गांगखेतसमेत आशिग्राम, बेलापुर, समैजी, कोटेली, बगरकोट, रुपाल, शीर्ष गाविस र अमरगढी नगरपालिकाबाट बर्सेनि २० करोडभन्दा बढीको आलु निर्यात हुन थालेको हो । ‘३ वर्षयता आलु खेतीमा डडेलधुरा नमुना जिल्लाका रूपमा स्थापित भएको छ,’ वरिष्ठ कृषि अधिकारी राजेन्द्र मिश्रले भने, ‘कार्यालयको तथ्यांकमा मात्र २० करोडभन्दा बढीको आलु निर्यात हुने गरेको छ ।’ ‘सुदूरपश्चिममै सबैभन्दा बढी आलु निर्यात हुने जिल्ला डडेलधुरा हो,’ मिश्रले भने, ‘जिल्लामा ८ सय हेक्टरमा लगाइने खेतीबाट ११ हजार ७ सय ५० टन आलु उत्पादन हुने गरेको छ ।’ तथ्यांकमा नसमेटिएका कृषकले पनि ठूलो मात्रामा आलु खेती गरिरहेको उनले बताए ।

 

‘असिग्राम गाविसका कृषकले मात्र यस वर्ष ४ करोडभन्दा बढीको आलु निर्यात गरेका छन्,’ स्थानीय अगुवा कृषक धर्मदेव भट्ट भन्छन्, ‘फागुनदेखि असारसम्मको सिजनमा आलु बढी निर्यात हुने गरेको छ ।’ थोरै परिश्रम र सहज बजार मूल्य पाइने भएपछि अन्य खेती छोडेर गाविसका प्रायः कृषक आलु खेतीमा लागेका छन् । ‘डडेलधुराको रातो आलु प्रसिद्ध भइसकेको छ,’ स्थानीय थोक विक्रेता वसन्त क्षेत्री तराईका जिल्लामा यहाँको उत्पादनको माग बढ्दै गएको बताए । ‘जति उत्पादन भए पनि बजार पाउन समस्या छैन,’ उनले भने ‘यो वर्ष मागअनुसार आलु पुर्‍याउन सकिएको छैन ।’

 

डडेलधुरामा स्थानीय जातको रातो, बिटे, अपटुडेट, मैग्नम बोनस, टी ००१२, कुफ्री बादशाह, कुफ्री ज्योति, जनकदेव, खुमल सेतो, एनएसआई, एनएसआई, एनएसआई, कार्डिनल, डेजिरे, खुमल रातो, कुफ्री सिन्दुरी, कुफ्री लालिमा र मध्यम जातका आलु खेती भइरहेको कृषि कार्यालयले जनाएको छ । ‘लेक क्षेत्रमा बढी उत्पादन हुने तराई र भावर क्षेत्रभन्दा मीठो हुने भएकाले डडेलधुरामा उत्पादित आलुको माग बढ्न थालेको हो,’ वरिष्ठ अधिकृत मिश्रले भने, ‘कृषकलाई विशेष तालिम र अझ बढी प्राविधिक ज्ञान दिन सके उत्पादन दोब्बर बढ्न सक्ने देखिएको छ ।’

 

 

सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकेजी बिक्री हुने आलु यस वर्ष ५० रुपैयाँमा बिकेको कृषकहरूले जनाएका छन् । अझ बीउको आलु ६० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात हुन्छ । जिल्लामा १ हजार ३ सयभन्दा बढी कृषक केही वर्षयता व्यावसायिक आलुखेती गरिरहेको कार्यालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :