माछाले धानेको जिन्दगी !

यो समाचार 247 पटक पढिएको

जाजरकोट, २९ चैत/ खगेनकोट १, दल्लीका ५० वर्षीय मनबहादुर बादी र नलसिंह गाडको सम्बन्ध ३५ वर्ष पुरानो हो । धेरै चिसा हिउँद र धेरै कठोर वर्षाहरू नलसिंह गाडको किनारामा उनले काटेका छन् ।

Fish 1पुख्र्यौली पेसाकै रूपमा माछा मार्ने पेसा अंगालेका मनबहादुर जस्तै यहाँ १ सय बादीका घरधुरी छन् । नलसिंह गाडमा माछा मार्न नपाए उनीहरूको साँझ–बिहान चुलो चिसै हुन्छ । उनीहरू माछा बिक्री गरेर आएका पैसाबाट घरपरिवार धान्न बाध्य छन् ।

 
खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामाग्री जुटाउन माछा मार्ने पेसाबाहेक उनीहरूसँग विकल्प छैन । नलसिंह गाड किनाराको ऐलानी जग्गामा १५ वर्षदेखि बसोबास गर्दै आएको यो समुदायका सदस्य रात र दिन नभनी खोलामा माछा मारिरहेका हुन्छन् । र, उनीहरूका बालबालिकासमेत त्यही कार्यमा सघाउँछन् । यो समुदायका बालबालिकामा पढ्नुपर्छ भन्नेसमेत राम्ररी ज्ञान छैन । बालबालिका पनि पढ्नुभन्दा माछा मार्न नै अग्रसर हुन्छन् ।

 
बादी समुदायका कतिपय छोरामान्छे ४–५ कक्षा सम्म त पढ्छन् तर छोरीहरू भने कोही पढ्न पाउँदैनन् । “केको स्कुल जान पाउनु ? पासा संगाल्न र पट्याउनै ठिक्क हुन्छ,” १२ वर्षीय गोविन्द बादी भन्छन् । यो समुदायमा ५ कक्षाभन्दा बढी पढेको कोही नभएको उनले बताए ।
दिनरात दुःख गरी मारेका माछा आफूले भने खान पाउँदैनन् । “विशेष दिन र चाडपर्वमा बाहेक अघिपछि माछा खान पाउँदैनौं । आफूले खाए के बेच्ने र खाद्यान्न र लत्ताकपडा कसरी जुटाउने ?” गंगा बादीले भनिन् ।

 
समुदायका महिला र बालबालिका घरमा बसेर जाल बुन्ने, पासा पट्याउने, पासा बनाउनेलगायत कार्य गर्ने र पुरुषले खोलामा पासा थाप्ने तथा जाल हान्दै माछा मार्ने गरेको गंगााले बताइन् । “पेटभरि खाना र जीउ ढाक्ने एकसरो लुगा पु¥याउन धौ छ, कसरी बालबालिकाको पढाइ गर्ने ?” मनबहादुरले पीडा सुनाए, “दिनरात गरी मारेको माछाबाट मुस्किलले ४–५ सय कमाइ हुन्छ । त्यही पैसाले चामल, दाल तेल, नुन, लत्ताकपडाको जोहो गर्नुपर्छ ।” आलो माछा प्रतिकिलो ३ सयले बिक्री हुने गरेको उनले बताए ।

 
यहाँका बादीका लागि हालसम्म बादी विकास कार्यक्रमले पनि सहयोग नगरेको उनले दुःखेसो पोखे । दल्ली, कालीमाटी, चिसा, राडीलगायतका बजारमा माछाको माग बढ्दो भए पनि दिनमा २ भन्दा बढी मार्न नसकिने मनबहादुरले बताए । जिल्लाका विभिन्न खोला र नदीहरूमा करेन्ट लगाएर माछा मार्न थालिएपछि उनीहरूलाई थप समस्या भएको छ । खोलामा माछा कम पाइने भएपछि उनीहरूको जीविकै संकटमा पर्ने सम्भावना बढेको स्थानीय अमर सिंहले बताए ।सक्ला, दल्ली, सरुखोला, थलह, छेडा, रावतगाउ, कुदु, फेरालगायत दर्जन खोलामा २ सय बादी परिवारले माछा मारेर गुजारा गर्दै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :