खनजोत नै नगरी बीउ र मल छर्ने प्रविधि

यो समाचार 325 पटक पढिएको

वीरगन्ज, २९ चैत/ कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण प्रविधिबाट गरिएको खाद्यान्न बालीको अवस्थाका बारेमा अध्ययन गर्ने उद्देश्यले कृषक तथा कृषि विशेषज्ञ सम्मिलित टोलीले आज बारा तथा पर्साका विभिन्न क्षेत्रको स्थलगत अनुगमन तथा मूल्याङ्कन गरेको छ ।

khanjotस्रोत संरक्षण कृषि प्रविधिबाट खेती गर्दा खाद्यान्नको उत्पादन बढ्न थालेपछि यहाँका कृषक यसतर्फ आकर्षित हुन थालेका छन् । न्यूनतम खनजोत र खनजोत नै नगरी बीउ र मल एकैसाथ छर्ने प्रविधि जिल्लामै उपलब्ध भएपछि कृषकले यसको प्रयोग बढाउनसमेत थालेका छन् । परम्परागत तरिकाबाट खेती गर्दा झण्डै रू. एक हजार खर्च लाग्ने प्रतिहेक्टर क्षेत्रफलमा यो प्रविधिबाट खेती गर्दा रू. एक हजारले मात्र पुग्दोरहेछ, प्रस्टोका–५ बाराका कृषक वैधनाथ साहले भने, ‘यो प्रविधिबाट खेती गर्दा यस वर्ष ३० देखि ४० प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान छ ।’

 

‘यस प्रविधिबाट खेती गर्दा समयमा बीउ छर्न सकिन्छ,’ उनले भने, ‘समयमा बीउ छर्न सक्ने हुँदा उत्पादन पनि बढी हुन्छ । चिस्यान भएको खेत वा जमीनमा यो मेसिनको प्रयोग गर्न सकिन्छ । सो अवसरमा कृषि अनुसन्धान केन्द्र परवानीपुरका वरिष्ठ कृषि वैज्ञानिक तुफैल अख्तरले कृषिको व्यवसायीकरण र आधुनिकीकरणका लागि कृषि र यससँग अन्तरसम्बन्धित सिँचाइ, सडक, विद्युत्, प्रविधि, उन्नत मलखाद्य र बीउबिजनजस्ता क्षेत्रबीच समन्वय हुनुपर्ने बताए ।

 

 

कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख ईश्वरीप्रसाद उपाध्यायले कम पानीको आवश्यकता, खेत जोताइको खर्चमा लगभग दुई तिहाइ बचत, श्रम र श्रमिकको बचत, बीउ र मलको समुचित प्रयोग र यसको प्रभावकारितामा वृद्धि तथा माटाको उर्वराशक्तिमा सन्तुलन भई उत्पादनमा अत्यधिक वृद्धिजस्ता कारणले यो प्रविधि किसानका लागि उपयोगीसिद्ध भइसकेको जानकारीे दिए । जिल्ला कृषि विकास कार्यालय बाराका बाली विकास अधिकृत रचना देवले नेपालको आर्थिक समृद्धिका लागि उच्च निर्यातजन्य कृषि उत्पादन बढाउनुपर्ने र यसका लागि कृषि वैज्ञानिक र कृषक हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए ।

 

कृषि औजार अनुसन्धान केन्द्रका प्राविधिक द्वारिकाप्रसाद चौधरी र वीरगन्जस्थित आइसर ट्र्याक्टरका अधिकृत बिक्रेता उमेश मनान्धरले कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :