कफी व्यवसायीप्रति किसान आकर्षित

This post has already been read 134 times!

स्याङ्जा, २६ चैत/ स्याङ्जा सदरमुकाम पुतलीबजारकी २५ वर्षीया मेनुका थापालाई आजभोलि कफी ग्रेडिङ (गुणस्तर छुट्ट्याउने) को चटारो छ। कफी व्यवसायी संघ स्याङ्जाले कफी गे्रडिङ गरेबापत प्रतिकिलो ३० रुपैयाँ नगद उपलब्ध गराउने भएपछि उनीलगायत दैनिक २२ जना महिला कफी गे्रडिङका काममा दिनभर व्यस्तै हुन्छन्।

 

Coffe

जापानमा स्याङ्जाको कफीको माग बढेपछि यसतर्फ महिलाको आकर्षण बढेको हो। एकजनाले दैनिक २० देखि ३० किलोसम्म कफीको गुणस्तर छुट्ट्याउने गरेका छन्। यसबाट उनीहरूलाई आर्थिकोपार्जन हुने गरेको छ। कफी व्यवसायी संघले कफी ग्रेडिङ गरेबापत प्रतिकिलो ३० रुपैयाँ नगद उपलब्ध गराएको छ तर उनीहरूका लागि भने यो रोजगार करिब दुई महिनाको लागि मात्र हुने जनाएको छ।

 

 

यस वर्ष स्याङ्जामा करिब ५५ मेट्रिकटन पार्चमेन्ट कफी उत्पादन हुने वरिष्ठ कृषि विकास अधिकृत श्रीधर अधिकारीले बताए। गतवर्षको तुलनामा यो करिब चार टन मात्र बढी छ। कफी व्यवसायी संघले ५२ मेट्रिकटन र करिब तीन टन अन्य व्यापारीमार्फत कफीको निर्यात हुने कार्यालयले जनाएको छ। विगत केही वर्षदेखि स्याङ्जाको कफी जापान र अन्य मुलुकमा समेत निर्यात हुँदै आएको छ।

 

गतवर्ष जापानमा सात मेट्रिकटन अर्गानिक कफी निर्यात गरिएकोमा यस वर्ष १० मेट्रिकटन अर्गानिक कफीको माग रहेको कफी ›यवसायी संघका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिए। उनका अनुसार ६० लाख नगद जापानबाट आम्दानी हुनेछ। अन्य कफी भने आन्तरिक र बाह्य जिल्लामा खपत हुने जनाइएको छ।

 

गतवर्षको तुलनामा यस वर्ष कफी किसानले राम्रो नगद आम्दानी गरेका छन्। कफी व्यवसायी संघले यस वर्षदेखि किसानसँग प्रतिकिलो ड्राइचेरी (टिप्ने बित्तिकैको ) कफीको मूल्य ५५ रुपैयाँ, पार्चमेन्ट ( बोक्रा छोडाइएको ) कफी प्रतिकिलो तीन सय ६० रुपैयाँ र ग्रिनविन्स ( गुणस्तर जाँच गरी बाहिर निर्यातका लागि योग्य बनाइएको दाना) का लागि ६ सय रुपैयाँमा व्यवसायी संघले खरिद गरेको छ।

 

यस वर्ष कफीबाट करिब एक करोडको ९० लाख आम्दानी हुने अनुमान छ। गतवर्ष भने फ्रेस चेरी प्रतिकिलो ४० रुपैयाँ, पार्चमेन्ट दुई सय ५० रुपैयाँ र ग्रिनविन्सको चार सय रुपैयाँ प्रतिकिलोका दरले किसानसँग खरिद गरेको थियो। गतवर्ष भने एक करोड ५१ लाख ५० हजार मूल्यबराबरको कफी उत्पादन भएको कफी व्यवसायी संघले जानकारी दिएको छ।

 

कफी उत्पादनका लागि स्याङ्जा उपयुक्त हावापानी भएको जिल्ला मानिएको छ। स्याङ्जाका २८ गाविस र दुई नगरपालिकामा कफीखेती गरिन्छ। पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका, अर्जुनचौपारी, फापरथुम, बहाकोट, ओरस्टे, किचनास, पञ्चमूल, भाटखोला, थुमपोखरा, कोल्मा, तीनदोबाटे, सिर्सेकोट, बाङसिङलगायतका गाविस कफी पकेट क्षेत्र हुन्। जिल्लाको झन्डै दुई सय ५० हेक्टर क्षेत्रफलमा कफीखेती गरिंदै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नवराज भण्डारीले जानकारी दिए।

 

भण्डारीका अनुसार ९६ हेक्टर क्षेत्रफलमा अर्गानिक कफी रोपण गरिएको छ। जिल्लाका तीन हजार एकजना किसान कफी व्यवसायमा आबद्ध छन्। अघिल्लो वर्ष पुतलीबजार नगरपालिका- १३ मायाटारीका बोधराज अर्यालले पाँचटन कफी जापान निर्यात गरेका थिए।