कृषि उत्पादन बढाउन बिशेष रणनीति

यो समाचार 118 पटक पढिएको

नेपालगन्ज, २५ चैत / बाँके जिल्लाको कृषि उत्पादन बढाउनका लागि जिल्ला विकास समिति बाँकेले बिशेष रणनीति तयार गरेको छ । हालै सम्पन्न जिविसको २३ औं जिल्ला परिषदले सो रणनीतिलाई पारित गर्दै कृषि उत्पादन बढाउने अभियान संचालन गरेको छ । जिल्ला विकास समिति बाँकेले आगामी आर्थिक वर्ष ०७१/७२ मा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कृषि क्षेत्रको विकासका लागि गरिने विभिन्न योजनाहरु सो रणनीति अन्तर्गत बनाएको छ ।

 
bima बाँकेको कृषि उपजलाई सही मूल्य उपलब्ध गराउन कृषि वजारको विकास र विस्तार गर्दै लैजाने कुरालाई योजना र रणनीतिमा बिशेष ध्यान दिईएको जिल्ला विकास समिति बाँकेले जनाएको छ । यसले गर्दा आयात प्रतिस्थापन र निर्यात प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बाँकेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र ढकालले बताए ।

 

 

उनका अनुसार कृषि क्षेत्रको समग्र उत्पादन र उत्पादकत्व बढाउनका लागि बीजबृद्धि, च्याउ, मौरीपालन, साना सिंचाई, सहकारी सिंचाई, युवा स्वरोजगार, माछापोखरी निर्माण जस्ता कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ । परिषदले प्याज उत्पादनलाई बढावा दिंदै निर्यात प्रवर्धन गर्नका लागि प्याज भण्डारण गृह निर्माण गरिने लक्ष्य समेत तय गरेको छ ।

 
स्थानीय विकास अधिकारी ढकालका अनुसार जिल्ला विकास समितिले आन्तरिक र वाह्य मागलाई सम्बोधन गर्न र रोजगारी बृद्धि गरी किसानको आयस्तरमा सुधार ल्याउन तरकारी र फलफुलका पकेट क्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । कृषि क्षेत्रलाई प्रवर्धन गर्नका लागि एक गाउं एक उत्पादन कार्यक्रम लागु गर्नका लागि वाली छनौट गरिने ढकालले बताए । उनले भने–‘कुन वाली छनौट गर्दा राम्रो हुन्छ भन्नका लागि अध्ययन भइरहेको छ ।’ बाँके जिल्ला कृषि उत्पादनका लागि उर्वर भएकाले कृषि उत्पादनलाई बढाउनका लागि जिविसले बिशेष प्राथमिकतामा राखेको स्थानीय विकास अधिकारी ढकालले जनाए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :