पाँचथरबाट ५३ करोडको अलैँची निर्यात

यो समाचार 147 पटक पढिएको

पाँचथर, २५ चैत / यो वर्ष पाँचथर जिल्लाबाट ५३ करोड ७५ लाख मुल्य बराबरको अँलैची बाहिरि जिल्ला निकाशी भएको कृषि विकाष कार्यालय पाँचथरले जनाएको छ । कुल १६ सय १७ हेक्टर क्षेत्रफलमा गरिएको अलैँची खेतीबाट यो साल पाँच सय ४३ मेट्रिक टन अँलैची उत्पादन भएको थियो । उत्पादनको ९० प्रतिशत अलैँची निर्यात हुँदा उक्त रमकम जिल्ला भित्रिएको हो ।
alaichi tika bdr photo
गत सालभन्दा यो बर्ष झण्डै सात करोड कम मुल्यको अँलैची निर्यात भएको हो । विगत बर्षहरु भन्दा अँलैचीले राम्रो मुल्य पाए पनि उत्पादनमा सालिन्ने १० प्रतिशतले गिरावट आएकाले निर्यातमा पनि कमि आएको अँलैची व्यवसायी संघ पाँचथरका अध्यक्ष नरेन्द्र  अधिकारीको भनाई छ । गत बर्ष छ सय ७१ मेट्रिक टन उत्पादनको ९० प्रतिशत अँलैची निर्यात हुँदा  ६० करोड रुपैँया जिल्ला भित्रिएको थियो । 

पाँचथर जिल्लालाई अँलैची उत्पादनको दृष्टिले राम्रो मानिएपनि विगत छ बर्ष यता उत्पादनमा  प्रत्येक बर्ष पाँच देखि १० प्रतिशतले ह्रास आएकाले निर्यातमा पनि कमि आएको हो । अँलैची उत्पादनको दृष्टिले राम्रो मानिएका जिल्लाका छ ओटा गाविसलाई कृषि कार्यालयले अँलैचीको पकेट क्षेत्र घोषणा गरेर व्यवसायीक अँलैची खेती विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

रानीटार, रवि, ओयाम, एकतीन र सिदिन गाविसलाई पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम अगाडी बढाएको हो । तर यी क्षेत्रहरुमा पनि अँलैचीको बगानै सखाप हुने स्थितिमा छन् । अँलैची व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष दिपक नेपालका अनुसार २०६० सालमा पाँचथरमा हालसम्मकै सबैभन्दा धेरै अँलैची उत्पादन भई निर्यात भएको थियो । त्यसयता उत्पादनमा निरन्तर ह्रास आएको व्यवसायीहरु बताउँछन् ।

 

२०६० मा उत्पादित  अँलैचीको तुलनमा अहिले २५ प्रतिशत मात्र अँलैची उत्पादन भएको बताइन्छ । विभिन्न रोग किराको प्रकोपका कारण बगानै सखाप भएकाले यसापाली अत्यन्त कम मात्रामा अँलैची उत्पादन भएको कृषि कार्यालयको भनाई छ । छिर्के, फुर्के, गानो कुहिने र अज्ञात रोगका कारण अँलैचीको बगान सखाप भइ उत्पादनमा कमि आएको हो । नेपालका ४० जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा अँलैची खेती गरिदै आएको छ । जसमध्ये पुर्वाञ्चलनका १२ जिल्लामा ९७ प्रतिशत भन्दा बढिमा यसको खेती गरिन्छ ।

 

घट्दो उत्पादन, बढ्दो मूल्य

२०६० सालयत जिल्लाको अँलैची उत्पादनमा प्रत्येक वर्ष पाँच देखि १० प्रतिशतले ह्रास आएपनि मुल्य भने अकासिएको छ । अहिले जिल्लामा प्रतिमन ८० हजार रुपैँयमा अँलैचीको कारोवार भईरहेको छ । व्यवसायीहरुका अनुसार जिल्लामा यो अहिले सम्मकै उच्च मुल्यमा कारोबार भएको हो । चार वर्ष पहिले प्रतिमन  ७५ हजार सम्ममा किनबेच भएको अँलैची व्यवसायी संघका पुर्व केन्द्रिय सदस्य मित्र प्रसाद काफ्ले जानकारी दिए ।

 

यो साल जिल्लामा पाँच सय ४३ मेट्रिक टन मात्र अँलैची उत्पादन भएको बताइन्छ । यो २०६० सालको उत्पादनको २५ प्रतिशत मात्र हो ।  “अन्तराष्ट्रि बजारमा अँलैचीको भर्खर पहिचान हुँदै छ,” अँलैची व्यवसायी संघका पाँचथर अध्यक्ष  नरेन्द्र अधिकारीले भने–“यसको पहिचान भएपछि उत्पादनमा कमि आई माग पुरा नभएकाले अँलैचीको मूल्य आकसिएको हो ।”

 

अँलैचीलाई प्रशोधन गरि विभिन्न प्रकारका औषधी र खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिने विभिन्न किसिमका मसलाहरु बनाईने भएकाले यसको माग प्रतिदिन बढ्दै जाने विज्ञहरु बताउँछन् । अँलैचीबाट विभिन्न परिकारहरु बनाइने भएकाले यसको माग विश्वभर दिनप्रतिदिन बढेकाले यसको आपुर्ति कम भएकाले मुल्य अकासिएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष्य सुभराज थापा बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :