महको मूल्य र माग दुबै उच्च

यो समाचार 150 पटक पढिएको

माग धान्न नसकेपछि आयातको तयारी
काठमाडौं, २५ चैत  /  महको बढ्दो मागसँगै मूल्य पनि बढेको छ । गत वर्ष प्रतिकेजी उपभोक्ता मूल्य चार सय रुपैयाँ रहेकोमा यस वर्ष ६ सय रुपैयाँसम्म पुगेको व्यवसायीहरूले बताएका छन् ।

Honey Newsagrocom

गत वर्ष राजधानीमा सञ्चालन भएको मह महोत्सवसँगै महका उपभोक्ता बढेको र उत्पादन घट्दो क्रममा रहेकाले बजारमा नेपाली मह अभाव हुन गएको नेपाल केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठले बताए । यसरी महको अभावपछि बाहिरी मुलुकबाट आयात गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । उनले भने, ‘यहाँको उत्पादनले माग धान्नै नसक्ने अवस्था आएकाले हामीले मह आयातको निर्णय गरेका छौं ।’ विगतमा आयातित महलाई निरुत्साहित गर्नुपर्ने मान्यता राख्ने व्यवसायीहरूले माग धान्न आयात गर्नुको विकल्प नभएको बताए ।

 

 

 

अध्यक्ष श्रेष्ठले भने, ‘विगतमा मह बिक्री नभएको गुनासो गर्ने व्यवसायी अहिले महको माग पूरा गर्न नसकेको गुनासो गर्न थालेका छन् । हामी यसरी मह अभाव होला भन्ने सोचेका पनि थिएनौं ।’ जलवायु परिवर्तनको असर र व्यावसायिक रूपमा मह उत्पादन गर्नेहरू निरुत्साहित बनेका कारण मह उत्पादन घटेको उनले बताए । उनका अनुसार गत वर्षभन्दा यसवर्ष महको उत्पादनमा ७० प्रतिशतले गिरावट आएको छ । यसअघि मागभन्दा ५० प्रतिशत कम मह उत्पादन हुँदै आएको थियो । तर, पछिल्लो गिरावटपछि ३० प्रतिशतमा झरेको छ ।

 
सरकारले मह उत्पादन बढाएर निर्यात गर्ने योजना बनाइरहेकोमा मह उत्पादनमा उच्च गिरावट आएको हो । माहुरीपालन व्यवसायको प्रवद्र्धनका लागि भन्दै विभिन्न दातृ निकाय दिने अनुदान लक्षित वर्गमा नपुगी अन्यत्रै खर्च भएका कारण वास्तविक व्यवसायिक किसान निरुत्साहित भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले मह मौरीपालनको चौतर्फी फाइदा लिन सकिने भए पनि यसको व्यावसायिक विकास हुन नसकेको बताए ।

 

उनले भने, ‘मह उत्पादन नेपालको प्रमुख सम्भावनाको क्षेत्र हुँदाहुँदै पनि यो क्षेत्र पछि परेको छ, व्यवसायीकरणका लागि सरकारी प्रतिबद्धता र सबै पक्षको सहयोग आवश्यक छ ।’ माहुरीपालन व्यवसायको विस्तारले कृषि क्षेत्रको उत्पादन पनि बढ्ने व्यवसायीहरू बताउँछन् । परागसेचनमा ठूलो योगदान रहने मौरीका कारण मात्र सामान्य अवस्थाभन्दा दुईदेखि चार सय प्रतिशतसम्म बालीको उत्पादन वृद्धि हुने गर्छ । परागसेचनमा मौरीको मात्र ८० प्रतिशत हिस्सा रहेको हुन्छ ।

 
नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा नेपालमा हँुदै आएको गुणस्तर मापनले अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण पछिल्लो समयमा निर्यातमा समस्या परिरहेको व्यवसायीले गुनासो गर्दै आएका थिए । तर, नेपालकै माग धान्न नसक्ने अवस्था आएकाले तत्कालका लागि निर्यातको सम्भावना टरेको उनीहरूको भनाइ छ ।

 
त्यसो त व्यावसायिक कीट विकास निर्देशनालय र नेपाल केन्द्रीय मह व्यवसायी संघले आगामी तीन वर्षमा पाँच हजार मेट्रिकटन मह उत्पादन गर्ने लक्ष्य नलिएका पनि होइनन् तर उक्त लक्ष्य काजगमै सीमित हुन पुगेको छ । तीन वर्षभित्र मह उत्पादन २ सय १२ दशमलव ५ प्रतिशतले वृद्धि गरी पाँच हजार मेटन बजारमा ल्याउने सरकारको योजना थियो ।

 

गत वर्षसम्म देशभर एक हजार ६ सय मेट्रिक टन मह उत्पादन हुँदै आएकोमा यस वर्ष सो परिमाणमा समेत गिरावट आएको संघका सचिव विलबहादुर अधिकारीले बताए । नेपालमा ५० हजारको हाराहारीमा महव्यवसायी रहे पनि व्यावसायिक मौरिपालन गर्नेको संख्या भने नगन्य रहेको उनले जानकारी दिए । नेपालमा च्युरी र तोरीलगायत फूलबाट मात्र वार्षिक रूपमा १० हजार मेट्रिकटन मह उत्पादन हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :