रेन्बो ट्राउट माछापालनमा लगानी अभाव

यो समाचार 90 पटक पढिएको

काठमाडौं, २३ चैत/  नेपालमा प्रशस्त मात्रामा चिसो पानी र पाखा–पखेरा बढी भएकाले ट्राउट माछापालनका लागि वातावरण उपयुक्त मानिने गरेको छ । पछिल्लो समय रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गए पनि सरकारको उचित लगानी र जनचेतना अभावमा प्रभावकारी काम हुन सकेको छैन ।


कृषि विकास मन्त्रालयले पछिल्लोपटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउटपालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । ती जिल्लामा ‘एक गाउँ एक उत्पादन’का रूपमा माछापालनलाई अगाडि बढाउने सोच बनाइएको छ ।
कृषि अनुसन्धान परिषद् ९नार्क०ले मिसन रेन्बो ट्राउट अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारे पनि सोचेजति कृषकमाझ जनचेतना पुग्न सकेको छैन । भौगोलिक रूपमा अत्यन्तै ठूलो सम्भावना रहे पनि कृषकमा उचित जनचेतना अभावका कारण सोचेजति प्रतिफल पाउन सकिएको छैन । पछिल्ला दिनमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, ललितपुर, बाग्लुङ, रसुवा, धादिङ, मकवानपुर, गोर्खा, कास्की, मनाङ, मुस्ताङलगायत जिल्लामा व्यावसायिक रेन्बो ट्राउटपालन अगाडि बढाइएको छ ।
लामो समयदेखि नुवाकोटको ओखरपौवामा रेन्बो ट्राउटपालन गर्दै आएका किसान पदमबहादुर लामा रेन्बो ट्राउट माछापालनबाट मनग्य आम्दानी हुने भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकिएको बताउँछन् ।  ट्राउट एसोसिएसन अफ नेपालका उपाध्यक्ष महेन्द्र घोरासैनीका अनुसार आव ०६९र७० मा मुलुकभरबाट तीन सय टन माछा उत्पादन भएको थियो । चालू आवमा करिब पाँच सय टन माछा उत्पादन हुने अवस्था छ ।
सरकारले अनुदान बढाउने र खेर गइरहेका पाखापखेरालाई माछाको विकासमा लगाएमा प्रतिवर्ष ३० हजार टनभन्दा बढी रेन्बो ट्राउट उत्पादन गर्न सकिने उपाध्यक्ष घोरासैनीको भनाइ छ । तर, दक्ष प्राविधिक र जनचेतनाको अभावका कारण सोचेजति उत्पादन हुन नसकेको उनी बताउँछन् । चिसो पानीमा मात्रै उत्पादन हुने भएकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश जिल्लामा रेन्बो प्रजातिका माछा पाल्न सकिन्छ । उचित उत्पादन गर्न सकियो भने खाडी र दक्षिणपूर्वी एसिया, मध्यपूर्वलगायत मुलुकमा रेन्बो ट्राउटको व्यापार गर्न सकिन्छ ।

 

 

तातो पानीमा उत्पादन भएका भन्दा चिसो पानीमा उत्पादन भएका माछा बढी स्वस्थकर मानिने गरेको छ । मुटु रोग लागेका बिरामीका लागिसमेत रेन्बो ट्राउट प्रभावकारी मानिन्छ । कृषकको आफ्नै पहलमा हाल १९ लाख भुरा उत्पादन गरिएको छ । नुवाकोट र कास्कीमा व्यावसायिक रूपमा रेन्बो ट्राउट भुरा उत्पादन गरिएको रेन्बो ट्राउट एसोसिएसनको भनाइ छ ।
रेन्बो ट्राउटमा फर्गस, इमेरिया, थ्रिनडट, कलेजो सुनिन्ने, पहेँलेलगायत रोग लाग्ने गर्छन् । रोग निदानका लागि दक्ष जनशक्ति अभावका कारण कुखुरा, गाईभँैसी र बाख्रालाई खुवाउने औषधि मात्रै प्रयोग गर्ने गरिएको छ । विदेशमा बन्ने माछाको औषधि फाइदा नहुने भन्दै भेटनरी व्यवसायीले ल्याउन नचाहेका कारण पशुको औषधिको मात्रा मिलाएर खुवाउनुपरेको मत्स्य अनुसन्धान महाशाखा त्रिशूलीका मत्स्य विशेषज्ञ राजमान मुल्मी बताउँछन् ।
कृषि अनुसन्धान परिषद् ९नार्क० का निर्देशक टेकबहादुर गुरुङका अनुसार प्रभावकारी रूपमा सरकारले आर्थिक सहयोग उपलब्ध गराए आगामी पाँच वर्षभित्र मुलुकलाई रेन्बो ट्राउटमा आत्मनिर्भर बनाउन सकिन्छ । तीन वर्ष पहिले प्रतिकिलो १ हजार ३ सय रुपैयाँसम्म बिक्री–वितरण हुने गरेको माछा हाल अस्वस्थ प्रतिस्पर्धा र उत्पादन, वितरणमा भएको असमानताका कारण भाउ घटेर प्रतिकिलो आठ सयसम्म पाइने गरेको छ ।
रेन्बो ट्राउट माछापालनका लागि चिरपाखो जग्गाको मूल्यांकन पर्याप्तमात्रामा हुन नसक्नु, माछाको बिमा, कृषकले उचित मात्रामा धितो राख्न नसक्नु, धितो पर्याप्त हुन नसक्दा वित्तीय संस्थाले आवश्यकताअनुसार लगानी गर्न नसकेको अवस्था छ ।
नुवाकोटको ककनीबाट विस्तार भएको व्यवसाय हाल कृषककै पहलमा विस्तार भएको छ । हाल रेन्बोपालनमा ४ अर्ब हाराहारी लगानी भएको छ । प्रत्यक्ष रूपमा आठ हजारजनाले रोजगारीसमेत पाएका छन् । हिमालयन रेन्बो ट्राउट सञ्चालक एवं एसोसिएसनका महासचिव जयराम अर्यालका अनुसार जति माछा उत्पादन भए पनि बिक्री हुने हुँदा किसानले वर्षमा ३ लाखदेखि १० लाखसम्म कमाइ गर्ने गरेका छन् ।
माछाको खपत, माछा पालिएकै स्थानदेखि काठमाडौं पोखराजस्ता ठूला सहरका ठूला रेस्टुरेन्ट र होटलमा हुने गरेको छ । नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरूप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउट बिक्री–वितरण सन् १९९७मा पहिलोपटक गरिएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :