आयतीत चामल भन्दा स्थानीय चामलको मूल्य बढी

यो समाचार 155 पटक पढिएको

 भोजपुर, २३ चैत/ पूर्वी पहाडी जिल्ला भोजपुरमा आयतीत चामलको भन्दा स्थानीय चामलको मूल्य बढी छ । स्थानीय चामल र तराईबाट आयत गरिएको चामलको मूल्य दोब्बरले अन्तर छ । यहाँ उत्पादित चामलको मूल्य ८० रुपैंया केजी छ भने तराईबाट आयत भएको चामलको मूल्य ३५ देखि ६० रुपैंया रहेको छ ।
 Rice
जिल्लामा आयत गरिएको चामल भन्दा उपभोक्ताको रोजाईमा स्थानीय चामलनै पर्छ । तराईबाट आयत भएको चामलको मूल्य कम भए पनि त्यो चामल भने धान नफल्ने क्षेत्रका बासीन्दाहरुले मात्र उपभोग गर्ने गरेको व्यापारीहरुको भनाई छ । भोजपुर जिल्ला खाद्यन्न उत्पादनको हिसाबले राम्रो जिल्ला हो । पछिल्लो समयमा जिल्लामा यातायात सुविधा भएकाले तराई उत्पादन भएको चामल सहजरुपमा आउन थाले पछि खाद्य संस्थानको चामलको माग कम छ ।
आयतीत चामल भन्दा स्थानीय चामल स्वादिष्ट हुने गरेको स्थानीय चामल  आम उपभोक्ताको रोजाइमा पर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको हावा पानी र विषादीको प्रयोग विना नै जिल्लामा धान उत्पादन भएको हुनाले यहाँको चामलको स्वादिष्ट भएको कार्यालयका कर्मचारीहरुको भनाई छ ।
तराईबाट आएको चामलको भात स्वाद विनाको हुन्छ भने स्थानीय चामलको भात रसिलो हुन्छ त्यसैले म तराईको चामल भन्दा स्थानिय चामल प्रयोग गर्छु ।” भोजपुर ५ की शारदा न्यौपानेले बताईन । जिल्लाको प्राय सबै गाविसमा धान उत्पादन हुने गरेको छ । यहाँ बासमती, अटे, मसिना, डल्लेमसिना, पाख्रीबासे, हिमाली, साल्पाली, दुधे अट्टे लगायतका दर्जन बढी जातका धान उत्पादन हुने गरेको जिल्ला कृर्षि विकास कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा प्रत्येक बर्ष सरदर ६२ हजार मेट्रीक टन धान उत्पादन हुन्छ । भोजपुरको २० हजार ३ सय ५४ हेक्टर जमीनमा धान उत्पादन हुने गरेको छ, त्यसै गरी बर्षे धान ५ सय ९७ हेक्टरमा उत्पादन हुने गरेको कार्यालयको तथ्याङमा उल्लेख छ ।
जिल्लाका गुप्तेश्वर, सिद्धेश्वर, अन्नपूर्ण, छिनामखु, दलगाँउ। देउराली, मुलपानी, केउरेनीपानी, भैसीपंखा, बोखिम, टक्सार, लगायतका गाविसहरुमा अत्याधीक धान उत्पादन हुने गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा धान उत्पादन कमै मात्रामा हुने गरेको छ । त्यस क्षेत्रमा भने मकै र कोदो मात्र उत्पादन हुने गरेको छ । त्यस क्षेत्रमा भने हाल यातायात सुविधा पुगे पछि तराईबाट चामल  आयत गर्न थालिएको छ । भोजपुरमा उत्पादित खाद्यन्नले ७५ प्रतिशत बढी जनसंख्यालाई धान्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधक सहायतक गणश खत्रीले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :