कृषकलाई परिचयपत्र वितरणको तयारी : कृषिमन्त्री

यो समाचार 153 पटक पढिएको

दमौली, २३ चैत/  सरकारले कृषकलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सोही परिचयपत्रकै आधारमा सरकारले उनीहरुलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । सरकारले छिट्टै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रममा कृषिमन्त्री हरि पराजुलीले जानकारी दिए ।
कृषकलाई परिचयपत्र वितरणको तयारी : कृषिमन्त्रीकृषिमन्त्री पराजुलीका अनुसार परिचयप्राप्त किसानले सोही परिचयपत्र धरौटीमा राखेर ५० हजार ऋण लिन पाउने व्यवस्था गरिन लागिएको छ । साथै किसानका परिवारलाई प्राविधिक कृषि शिक्षा समेत निःशुल्क पढाउने व्यवस्था समेत सुरु गर्न लागिएको कृषिमन्त्रीले जानकारी दिए । कृषिमन्त्री पराजुलीले सरकारले किसानलाई लक्षित गर्दै विभिन्न अनुदानका कार्यक्रम समेत सञ्चालन गर्न लागेको बताए ।
उनका अनुसार सुकुम्बासी मिलेर व्यवसायिक खेती गर्न चाहे ५ बिघा जग्गाको भाडा सरकारले नै तिरिदिनेछ । त्यस्तै साना किसानले १० बिघा बराबर जमिनमा व्यवसायिक खेती गर्न चाहे उनीहरुले लिएको ऋणमा ५० प्रतिशत व्याज सरकारले मिनाहा गरिदिने उनले जानकारी दिए । कृषिको व्यवसायीकरणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै कृषिमन्त्री पराजुलीले कृषिकै माध्यमबाट देश समृद्ध बन्न सक्नेमा जोड दिए । 
यही आर्थिक वर्षमा युवालाई कृषिमा आबद्ध गराउने उद्देश्य सहित सरकारले कार्यक्रम सञ्चालन गर्न लागेको कृषिमन्त्री पराजुलीले बताए । ‘देशभरका १ हजार २ सय युवामध्ये २ सय ५० लाई पशुपालन, १ सय ५० लाई माछापालन र ८ सयलाई तरकारी खेतीका लागि २ लाख देखि ५ लाखसम्म अनुदान दिने व्यवस्था गरिनेछ,’ उनले भने ।
 अखिल नेपाल किसान महासंघका सचिव समेत रहेका कृषिमन्त्री पराजुलीले किसानहरुको उद्यमशीलता विकासका लागि महासंघले कदम चालिरहेको बताए । त्यसैको लागि महासंघले ३३ जिल्लामा नयाँ अभियान कृषि सहकारी स्थापना गरिसकेको उनले बताए । कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले तनहुँ जिल्ला कृषिभूमि रहेकोले कृषिमा विशेष कार्यक्रम सञ्चालनका लागि कृषिमन्त्रीसँग आग्रह गरे । उनले खैरेनीटारस्थित कृषि तालिम केन्द्रको जग्गामा नेपाली सेनाको व्यारेक रहेकाले त्यसलाई कृषि तालिम केन्द्रकै लागि उपयोग गर्नुपर्ने बताउँदै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :