दश जिल्लामा उद्योग स्थापनाको तयारी

यो समाचार 217 पटक पढिएको

एक जिल्ला एक उत्पादन कार्यक्रम

  •  सार्वजनिक–नीज साझेदारीमा ३० करोडको लगानी

काठमाडौं, २३ चैत सार्वजनिक–नीजि साझेदारीमा संचालनमा रहेको एक जिल्ला एक उत्पादन कार्यक्रम (ओडिओपी) अन्तर्गत चालू आर्थिक वर्षभित्र देशका दश जिल्लामा एकवटाको दरले उद्योग स्थापना गरिने भएको छ । सम्बन्धित जिल्लामा उत्पादित कृषि उपजलाई मध्यनजर गरी योवर्ष भित्रै संचालमा समेत ल्याइने गरी तयारी भैरहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । उद्योग स्थानपाका लागि सरकारको १२ करोड र नीजि क्षेत्रको १७ करोड गरी ३० करोड रकम लगानी गरिएको छ ।

Odop
कार्यक्रमका लागि महासंघको कृषि उद्यम केन्द्रले जिल्लास्थित उद्योग वाणिज्य संघसँग समन्वयन गरी कार्यक्रम संचालन गरिरहेको छ । “जिल्ला जिल्लामा उत्पादित कृषि तथा अन्य उत्पादनलाई जिल्लामै प्रशोधन गरेमा त्यसको मूल्य गुणात्मक रुपमा बढ्ने भएकाले उद्योग स्थापनालाई प्राथमिकतामा राखिएको हो,” केन्द्रका कार्यकारी अधिकृत प्रदिप महर्जनले भने, “यसका लागि कम्पनी दर्ता, उद्योग स्थापनाका लागि स्थान छनोट, आवश्यक औजार उपकरणको खरिद प्रक्रिया गतवर्ष नै सुरु गरिएको हो, यो वर्ष दश वटै जिल्लामा उद्योग निर्माण गरि संचालनमा ल्याउनेछौं ।” उद्योगमा प्रशोधन हुने वस्तुको बजारीकरणमा पनि विशेष ध्यान दिइएकाले स्थानीयले लाभ उठाउन सकिने उनले बताए ।
यसअघि संचालनमा रहेको एक गाउँ एक उत्पादन (ओभिओपी) लाई विस्तार गरी गतवर्षसार्वजनिक–नीजि साझेदारीमा ओडिओपी कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अनुसार २५ प्रतिशत सेयर स्थानीइ जनता, कृषक, कृषक समूह, सहकारी, कृषक समूह समेतको संलग्नता रहने गरी उद्योग स्थापना गर्न थालिएको हो । यसका लागि नेपाल सरकारले अत्यधिक २ करोड ५० लाख नबढाइ उद्योग स्थापना गर्न ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था छ ।
अ‍ोखलढुंगामा जडिबुटी, अर्घाखाँचीमा मह, रसुवामा ट्राउट माछा, सिन्धुलीमा सुन्त्लाको रस, बारामा डेरी, रौताहतमा मत्स्यपालन, जाजरकोटमा महुमूल्य पथ्थर प्रशोधन तथा उत्पादन उद्योग स्थापना गर्ने कार्य दु्रत गतिमा अगाडि बढीरहेको महासंघले जनाएको छ । त्यसैगरी प्युठानमा बीउबीजनको उत्पादन र प्याकेजिङ र धादिङमा तरकारी खेति तथा भण्डारण उद्योग यसैवर्ष स्थापना हुनेछन् । जाजरकोटमा भने गत आवमै उद्योग स्थापना भैसकेको छ ।

 

 

जाजरकोटमा तरकारी, पलफलुल र अन्य बालीनालीको सम्भावना नभएकाले पथ्थर प्रशोधनमा स्थानीय कृषकहरुलाई संलग्न गराउन पथ्थर उद्योग स्थापना गर्न लागिएको महर्जनले बताए । “जाजरकोटका बासिन्दाले अहिले बहुमूल्य पथ्थर १ सय रुपैया प्रतिकिलोमा बेचिरहेका छन्, सामान्य प्रशोधन मात्र गरेमा पनि ती पथ्थरको न्युनतम मूल्य ५ हजारसम्म पर्ने देखिन्छ,” उनले भने ।
सरकारले एक पहिलो वर्ष मात्र अनुदानको रुपमा सहयोग नर्गे भएकाले हरेक जिल्लामा एकैवर्षमा उद्योग स्थापना गरी संचालनमा ल्याइने उनले बताए । आगमी वर्षमा थप ६ जिल्लामा कार्यक्रम थपिने र विस्तारै ७५ जिल्लामै कार्यक्रम लैजाने योजना रहेको महासंघले जनाएको छ । यसअघि विभिन्न ३२ जिल्लामा संचालमा रहेको एक गाउँ एक उत्पादन कार्यक्रम समेत थप विस्तार गर्ने योजना सरकारको छ ।
कहाँ के उद्योग  ?
१. अ‍ोखलढुंगामा– चिराइतो लगाएतको जडिबुटी प्रशोधन उद्योग ।
२. अर्घाखाँची – मह प्रशोधन उद्योग
३. रसुवा– ट्राउट माछा प्रशोधन उद्योग
४. सिन्धुली– सुन्तलाको रस बनाउने उद्योग
५. बारा– डेरी उद्योग
६. रौताहत– माछाको दाना उद्योग ।
७. जाजरकोट– महुमूल्य पथ्थर प्रशोधन तथा उत्पादन उद्योग
८. प्युठान– बीउबीजनको उत्पादन र प्याकेजिङ
९. धादिङ– तरकारी खेति तथा भण्डारण उद्योग
१०. जाजरकोट– बहुमूल्य तथा अर्ध बहुमुल्य पथ्थर प्रशोधन उद्योग

रचनात्मक प्रतिक्रिया दिनुहोस् :