धानउत्पादनमा जापानको अनुभव र नेपालमा प्रयोग

यो समाचार 253 पटक पढिएको

नेपालको मुख्य खाद्यान्न बाली धान हो । आर्थिक वर्ष २०६५/०६६ को प्रारम्भिक अनुमानअनुसार नेपालमा १५ लाख ५५ हजार ९ सय ४० हेक्टर जमिनमा धानखेती भई ४५ लाख २३ हजार ६ सय ९३ मेट्रिक टन धान उत्पादन भएको थियो र उत्पादकत्व भने २ हजार ९ सय ७ किलोग्राम प्रतिहेक्टर रहेको थियो ।

My photo with english name1 (1)
भोलामानसिंह बस्नेत, मुख्य वैज्ञानिक (बाली विज्ञान)

आर्थिक देनको हिसाबले हेर्ने हो भने नेपालमा करिब ६७ अर्बभन्दा बढीको धान उत्पादन हुने गर्दछ । यस बर्षको धानको उत्पादकत्व र उत्पादन बिगत ५० वर्षलाई समीक्षागर्ने हो भने सबैभन्दा बढी र रेकर्ड उत्पादनपनि हो । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि उठ्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । आर्थिक वर्ष २०६४/०६५ को तुलनामा यस वर्ष धानको उत्पादन करिब ५ दशमलव २२ प्रतिशतले बढेकोले देशको आर्थिक वृद्धिदर पनि बढेको छ ।

 

 

देशको कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशतभन्दा बढी योगदान रहेको छ । पछिल्लो प्रकासित तथ्यांक अनुसार नेपालमा करिव एक लाख तेत्तीस हजार मेट्रिकटन उपभोग्य खाद्यान्न न्यून भएको छ । कुल गार्हस्थ्य उत्पादनमा धानले २१ प्रतिशत देन दिने गर्दछ । धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुने भएकोले धानले एसियालीहरूलाई एकै ठाउमा ल्याउछ भन्ने पनि गरिएको छ । साथै धानले जापान र नेपाललाई संगै ल्याएको छ भन्न सकिन्छ ।

 

 

आर्थिक विकासको दृष्टिकोणले जापान एक समुन्नत देश भएपनि धानलाई राष्ट्रिय गौरवको रुपमा लिने गरिन्छ । त्यसैले धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अति नै जरुरी छ । बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनबाट धानको उत्पादन र उत्पादकत्व बढाउनमा यसका नयाँ जात, सन्तुलित रासायनिक मलको प्रयोग, सिंचाइ र खेती गर्ने तौरतरिकाले ठूलो भूमिका खेल्न सक्दछ । यस आलेखको लेखकले जापानमा सन् १९७६ मा करिब १० महिनाको ‘धानखेती र सोको प्रसार’ विषयक तालिम लिएका थिए र तालिमबाट प्राप्त अनुभवलाई हालसम्म नै व्यापक प्रचारप्रसारमा ल्याउने गरिएको छ ।

 

 

संसारमा भएको ज्ञानगुनका कुराहरूको मनन गरिराख्नुपर्दछ तर त्यस ज्ञानको उपयोग नेपालको हावापानीअनुसार गर्नुपर्दछ । जापानमा सिकेका धानबालीसम्बन्धी सबै कुरा नेपालमा प्रयोग गर्न व्यावहारिक छैन । नेपाल सुहाउदो हिसाबले धानबालीमा प्रयोग गर्न सकिने केही प्रविधिहरू मात्र यस लेखमा समावेश गर्न खोजिएको छ ।

 
जापानमा प्राप्त तालिमअनुसार एक किलो नाइट्रोजनले २० किलोग्राम धान उत्पादन गर्दछ भनिन्छ । धानमा ‘टप ड्रेस’ गर्ने गरिएको युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ र यसमध्ये ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर खेर जाने गर्दछ । त्यसैले धानखेती गर्न जैविक मल र हरियो मल प्रयोग गरी एकीकृत रूपमा माटोको उर्वरा शक्ति बढाउनु अति जरुरी देखिन्छ । यस लेखक २० वर्षअघि जनकपुरस्थित हर्दीनाथ कृषि फार्म (हाल राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम) मा ५ वर्ष फार्म म्यानेजर भई काम गर्दा सफल र विकसित प्रविधिहरूको उपयोगबाट एकीकृत रूपमा ३० हेक्टर क्षेत्रफलमा ढैचाको हरियो मल प्रयोग गरी ६०० टन धानको बीउ उत्पादन गर्न सफल भएका थिए, जुन हालको मूल्यमा करिब एक करोड असीलाख रुपैयां बरावरको हुन आउंछ ।  मैले सिकेका र गरेका धानखेती बारे विभिन्न संचार माध्यमहरुव्दारा प्रचार, प्रसार भएकोले नेपाली कृषकहरुले सो को अनुसरण गरी धानको उत्पादकत्व एवं उत्पादन बृध्दिव्दारा धेरैनै फाइदा उठाइरहेका छन । यसलाई जापान र नेपालबीच एक अनुपम उपहारको रुपमा लिन सकिन्छ ।

 

 

यसबाहेक धानको स्वस्थकर बेर्ना हुर्काएर रोप्दा मात्र पनि कुल उत्पादनभन्दा ५० प्रतिशत बढी उत्पादन लिन सकिन्छ । यसका लागि किसानले धानको बीउ छान्ने विकसित प्रविधिको उपयोग गर्नुपर्दछ । यस प्रविधिअनुसार सर्वप्रथम एक लिटर पानीमा २०० ग्रामको दरले खाने नुन हाली घोल बनाउनुपर्दछ र यस घोलमा धानको बीउ खन्याउनुपर्दछ । यसरी खन्याइएको धानको बीउमध्ये राम्राराम्रा, पोटिला, हृष्टपुष्ट, रोग र कीराले आक्रमण नगरेका स्वस्थ बीउहरू घोल राखेको भाँडोको तल पिधमा बस्न जान्छन् र हल्काफुल्का र रोगी बीउहरू घोलको सतहमा नै तैरिरहन्छन् ।

 

 

घोलले एक मिनेटभित्रै राम्रा र नराम्रा बीउहरू अलगअलग छुट्ट्याइ– दिइहाल्छ । पछि धानको बीउ छान्न उपयोग गरिएको नुनपानीको घोललाई गाइबस्तुको कुंडो बनाउदापनि प्रयोग गर्न सकिन्छ । त्यसरी तयार पारिएको घोलमा ४–५ पटक धानको बीउ छान्न त सकिन्छ तर त्यही घोललाई बासी बनाई भोलिपल्ट प्रयोग नगर्न सल्लाह दिइन्छ । एक लिटर घोलमा आधा किलो धानको बीउ छान्ने हिसाबले घोल तयार पार्नुपर्दछ ।

 
धानबाली वृद्धिको एउटा सूत्र छ— धानको पूmल फुलेपछि जति धेरै घामको प्रचण्डता भयो उति धेरै धान फल्दछ । यस लेखकले जनकपुरमा काम गर्दा चैतेधानको पूmल फुलेपछि धानबालीमा प्रतिवर्गमिटर प्रतिदिन ६०० क्यालोरी मापन पाएका थिए भने त्यही बर्र्षेधानको पूmल फुलेपछि प्रतिवर्गमिटर प्रतिदिन ५०० क्यालोरी मात्र थियो । घामको प्रचण्डताको यो वैज्ञानिक तथ्यले गर्दा बर्षेे धानबालीको तुलनामा चैतेधानको उत्पादन २० देखि २५ प्रतिशत बढी हुने गरेको पाइएको छ । तर तराई, भित्री मधेसजस्ता आबहवा भएका स्थानहरूमा अबआइन्दा हिउदे अथवा बोरो धानको खेती गर्दा चैतेधान– भन्दा पनि बढी उत्पादन लिन सकिन्छ । बोरो धान तराईमा माघमा रोपेर बैसाख–जेठमा काटिन्छ । यसलाई बेमौसमी धान पनि भन्न सकिन्छ ।

 

 

मङ्सिरमा धान काटी चिस्यान बढी हुनाले गहुजस्ता हिउदे बाली लगाउन नसकिने स्थानहरूमा त बोरो धानलाई वरदानको रूपमा लिइन्छ । बङ्गलादेशमा बोरो धान अति नै लोकप्रिय छ । नेपालमा प्रत्येक वर्ष सिन्चित क्षेत्र बढ्दै गएको अवस्था आएमा त्यसैअनुसार चैते र बोरो धानको खेती गर्न सकिने क्षेत्र बढाउदै लान सकियो भने हाल अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय गरी विभिन्न तहमा देखा परिरहेको खाद्य सुरक्षा र अकासिदो मूल्यवृद्धिको समस्या हटाउन सकिन्छ । परम्परागत कृषिप्रणाली, मौसमी परिवर्तन, खाद्यान्नलाई जैविक इन्धनमा प्रयोग, कृषिमा न्यून लगानी आदिले गर्दा विगत २५ वर्षको इतिहासको अवधिमा हाल आएर संसारको खाद्य भण्डारण सबभन्दा न्यून रहेको छ र बजारभाउ अकासिदो छ ।

 

 

सन् २००१ मा संसारभर धानको भण्डारण १ सय ५० मिलियन टन थियो भने सन् २००५ मा आएर सो भण्डारण १ सय मिलियन टनभन्दा पनि न्यून रहेको थियो साथै बजारभाउ भने ४ गुणाले बृध्दि भएको थियो । भनिन्छ संसारको खाद्यान्न भण्डारण ७० दिनलाई पुग्ने भएमात्र विश्व खाद्यसुरक्षित हुन्छ तर सन् २००१ म ५९ दिनलाई पुग्ने थियो भने सन् २००८ मा २६ दिनलाई मात्र पुग्ने पाइएको थियो । यसो हुनुमा सहरिकरण, बाली विविधिकरण, मौसमी परिवर्तन, कृषिमा न्यून लगानी, धानखेतमा मकै खेती भई मकैलाई जैविक इन्धनको रुपमा प्रयोग हुनुलाई संसारभर खाद्यसंकट भएको मानिन्छ ।

 
विश्वबैंकका अनुसार संसारभर विगत दुई दशकमा कृषिक्षेत्रलाई हेला गरी  लगानी न्यून गरिएकोले यो समस्या आएको हो । एसियाली बैंकले पनि अब सस्तो भाउको खाद्यान्न पाइने जमाना गयो भन्ने गरेको सर्वविदितै छ । भारतले गत वर्ष गहुँ र यस वर्ष सन् २००८ मा सर्वसधारणले खाने मोटो धान र चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । तसर्थ नेपालले खाद्यान्नमा आत्मनिर्भर हुन तुरुन्त एक ‘उच्चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन’ बनाई त्यसलाई गम्भीरतापूर्वक व्यवहारमा लागू गर्न जरुरी देखेको छु । नत्र भविष्यमा खाद्यान्नको विकराल समस्या पैदा हुन सक्दछ र हाम्रो खल्तीमा पैसा भए पनि खाद्यान्न किन्न नपाइने हुन सक्छ । त्यसैले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्दछ । हाइटीमा खाद्यान्न व्यवस्था गर्न नसकेकाले त्यहाका प्रधानमन्त्रीले राजीनामा दिनुप¥यो । अन्य केही देशहरूमा पनि यस प्रकारको समस्या बढ्दै गइरहेको छ ।

 
देशबाट भोक, कुपोषण, गरिबी, आपसी भैmँझगडा, अशान्ति हटाई क्षेत्रगत समानुपातिक खाद्यान्न वितरणको हिसाबले खाद्य सुरक्षासम्बन्धी योजना एवं कार्यक्रमहरूका लागि लगानी बढाउनु जरुरी छ,  किनकि जीवन निर्वाह गर्न आवश्यक पर्ने खाद्यान्न प्राप्त गर्नु मानिसको नैसर्गिक अधिकार हो । यसर्थ कुनै पनि राष्ट्रले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न आवश्यक प्रयास गर्दै जानु अनिवार्य हुन्छ । भनिन्छ—् भोको मानिस अशान्त हुन्छ र उसले कसैको अर्तीउपदेश पनि सुन्दैन र देशमा शान्तीपनि हुंदैन ।

 

‘हरितक्रान्ति’ (Green Revolution)  ले गर्दा खाद्यान्न उत्पादनमा ठूलो सहयोग पुगेको कुरा भारतका हरियाणा, पन्जाब र पश्चिमी उत्तरप्रदेशले सफलता प्राप्त गरेको कुरा संसारभर सर्वविदित नै छ । यसबाट केही पाठ सिकी हाल समय, काल र परिस्थितिअनुरूप वातावरणीय अनुकूलका दिगो खाले खेतीको लागि  ‘सदाबहार  हरितक्रान्ति’ (Evergreen Revolution)  को रणनीति अँगाल्न जरुरी भइसकेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :