उन्नत भनिएको गहुँमा दाना लागेन

This post has already been read 247 times!

विराटनगर, २२ चैत / सरकारले उन्नत जातको भनेर सिफारिस गरेको गहुँमा दाना नलागेपछि मोरङका किसान चिन्तित बनेका छन्। राष्ट्रिय बीउबिजन केन्द्र इटहरीबाट ल्याएर छरेको गहुँमा दाना लागेन। सरकारको सिफारिसमा केन्द्रले किसानलाई गहुँको बीउ बिक्रीवितरण गरेको थियो।

Wheat 2

बोट राम्रो आए पनि दाना नलागेपछि मोरङका बेलबारी, इन्द्रपुर, रंगेलीलगायतका गाविसका किसान आक्रोशित बनेका छन्। बीउमा रहेको खराबीका कारण दाना नलागेकाले क्षतिपूर्ति पाउनुपर्ने माग उनीहरूको छ। गहुँमा दाना नलागेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर कृषि विकास कार्यालयलगायतमा उजुरीसमेत दिएका छन्।

 

 

केन्द्रबाट खरिद गरेर ल्याएको एनएल ९७१ जातको गहुँमा दाना नलागेको इन्द्रपुरका किसान डम्बरबहादुर बस्नेतले बताए। इन्द्रपुर गाविस ४ स्थित बेलपुरका किसानले आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको गहुँमा बाला भए पनि दाना नलागेको बस्नेतले जानकारी दिए। बस्नेतले केन्द्रबाट बीउ ल्याएर तीन बिघा क्षेत्रफलमा आफूले लगाएको गहुँमा दाना नलाग्दा ठूलो नोक्सानी बेहोर्नुपरेको बताए।

 

 

‘बीउको गुणस्तर राम्रो नभएकै कारण दाना नलागेको हाम्रो ठम्याइ छ’, उनले भने, ‘सरकारी निकायले वितरण गर्ने उन्नत बीउबाटै उत्पादन नभएपछि किसानले कसको विश्वास गर्ने।’ ६ बोरा गहुँको बीउ ल्याएर तीन बिघामा लगाए पनि एउटै बोटमा दाना नलागेको उनको भनाइ छ।

 

बेलेपुरकै सन्तनारायण खवासले समेत आठ कट्ठा जमिनमा लगाएको गहुँ बालीमा दाना नलागेको बताए। आफूले उत्पादन बढाउन उन्नत जातको बीउ किनेर छरे पनि उल्टै एउटै बोटमा पनि दाना नलागेको गुनासो उनले गरे। उनले भने, ‘गहुँको बोट पनि राम्रै आएको देखिन्छ, बाला पनि मजाले लागेका छन् तर भित्र दाना लागेको छैन।’

 

किसानले दाना नलागेको बालीको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै राष्ट्रिय बीउबिजन केन्द्र, क्षेत्रीय बाली अनुसन्धान केन्द्र, जिल्ला कृषि विकास कार्यालयलगायतका निकायमा निवेदन दिएका छन्। किसानको गुनासो आएपछि त्यसबारेमा कृषि विकास कार्यालय मोरङले कृषि मन्त्रालयलाई जानकारी पनि गराइसकेको छ।

 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवले एनएल ९७१ जातको बीउ रोपेका बेलबारी, इन्द्रपुर र रंगेलीलगायतका किसानले गहुँमा दाना नलागेको जानकारी गराएको बताए। उनले भने, ‘ती गाविसका किसानले गहुँमा दाना नलागेको जानकारी गराएपछि हामीले त्यसबारेमा मन्त्रालयमा औपचारिक जानकारीसहित प्रतिवेदन बुझाइसकेका छौं।’

 

कार्यालयको तर्फबाट स्थलगत अनुगमन गरेर गहुँको बाला र बोटको नमुनासमेत संकलन गरिसकेको बताए। दाना नलाग्नुको कारणबारे बाली विकास अधिकृतको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिंदै उनले भने, ‘अहिल्यै कारणबारे भन्न सकिन्न।’ उनले अन्य जातको गहुँको बीउमा समस्या नदेखिएकाले बीउकै कारण दाना नलागेको सम्भावना रहे पनि यसै भन्ने अवस्था नरहेको स्पष्ट पारे।

राष्ट्रिय बीउबिजन केन्द्रका प्रमुख देवनारायण शाहले भने अन्य जिल्लाका किसानले सोही जातको गहुँ लगाउँदा गुनासो नआएको भन्दै बीउमा खराबी भएर यस्तो समस्या आएको भन्नु गलत भएको दाबी गरे। उनले माटोको गुणस्तर परीक्षणपछि मात्र केही भन्न सकिने बताए।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका बाली वैज्ञानिक रुद्र भट्टराईले माटोमा खाद्य तत्त्व (बोरन) को कमीका कारण बालीमा दाना नलागेको हुन सक्ने बताए। केन्द्रले यस सिजनमा पूर्वका विभिन्न जिल्लामा एनएल ९७१ जातको एक सय ४० क्विन्टल बीउ वितरण गरेको जनाएको छ। यो बीउ बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रअन्तर्गतको बीउबिजन समितिले चार वर्षअगाडि सिफारिस गरेको थियो।