तीन कम्पनी दानेदार मल उत्पादनको तयारीमा

यो समाचार 173 पटक पढिएको

  • जेठदेखि परिक्षण उत्पादन, असारपछि व्यावसायिक
  • ६ करोड लगानी थप

काठमाडौं , २२ चैत / निजीक्षेत्रको लगानीमा सञ्चालित तीन उद्योगले दानेदार प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरेको छन् । यस अघिसम्म पाउडरको रुपमा प्राङ्गारिक मल उत्पादन गर्दै आएका कम्पनीले आगामी जेठदेखि दानेदार मल बजारमा ल्याउने बताएका छन् । ‘पाउडरको तुलनामा दानेदार मल बचत हुन्छ,’ नेपाल प्राङगारिक मल उत्पादक सङ्घका कोषाध्यक्ष जयनारायण ढकालले भने, ‘खेतीपातिमा दानाभन्दा पाउडर मल प्रयोग गर्दा जथाभावि खेर जान्छ ।’

Fertilizerढकालका अनुसार जनकपुर फर्टिलाइजर प्रालि विराटनगर, वुद्ध अग्र्यानिक प्रालि जनकपुर र यूनिक बायोटेक अग्र्यानिक प्रालि चितवनले आगामी जेठबाट परिक्षणको रुपमा दानेदार मल उत्पादन गर्नेछन् । सम्वद्ध उद्योगीका अनुसार एक महीनाको परिक्षण उत्पादनपछि व्यावसायिक रुपमा उत्पादन गरिने छ । जनकपुर फर्टिलाइजरको बार्षिक १० हजार मेट्रिकटन मल उत्पादन गर्ने क्षमताको मेशीन जडान गरेको छ । त्यसैगरी बुद्ध अग्र्यानिकको पनि बार्षिक १० हजार मेटन मल उत्पादन हुन्छ । तर, यूनिकले भने बार्षिक ३० हजार मेटन दानेदान मल उत्पादन गर्ने मेशीन जडानको तयारी थालेको छ ।

 
विराटनगर र जनकपुरका सञ्चालित उद्योगले दानेदार मल उत्पादनका लागि आवश्यक मेशीन जडान गरिसकेको छन् । त्यसैगरी, चितवनमा सञ्चालित उद्योगले केही दिनका मेशीन जडान गर्ने बताएको छ । यूनिक बायोटेक अग्र्यानिक प्रालिका निर्देशक समेत रहेका ढकालले दानेदान मल ‘मास’ आकारका बजारमा आउने बताए । यसअघि पाउडर मल उत्पादन गर्दै आएका उद्योगले दानेदान मल उत्पादन गर्न भन्दै तीन उद्योगमा थप ६ करोड लगानी गरेको बताइएको छ । निकट भविष्यमै व्यावसायिक रुपमा उत्पादन हुने दानेदार मल १, ५, २५, ४० र १ सय केजीको प्याकमा बजारमा आउने छ ।

 

सङ्घका अनुसार हाल नेपालमा २२ ओटा कम्पनीले व्यावसायिक रुपमा पाउडर प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन् । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले प्राङगरिक मल उत्पादनलाई जोड दिने उद्देश्यले मेशिनरी औजार आयातमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । विगत ४ वर्षदेखि अनुदान कार्यक्रम शुरु भएको थियो । यसवर्ष मात्रै करीब ४१ ओटा उद्योग अनुदानका लागि छनोट भएका थिए । ढकालले हाल २२ ओटा उद्योगबाट बार्षिक ६० हजार मेटन प्राङ्गारिक पाउडर मल उत्पादन हुँदै आएको छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :