खाद्य सुरक्षा र जैविक सुरक्षा ऐन ल्याइदै

यो समाचार 184 पटक पढिएको

काठमाडौं, २२ चैत/ बढ्दो खाद्य तथा जैविक असुरक्षालाई न्युनिकरण गर्न सरकारले दुई वटा नयाँ ऐन ल्याउने भएको छ । कृषि विकास मन्त्रालयले नागरिकको स्वच्छ खाद्य उपभोग गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन खाद्य सुरक्षा ऐन र जैविक सुरक्षा कायम गर्न जैविक सुरक्षा ऐन ल्याउने तयारी गरेको हो ।


Foodविद्यमान खाद्य ऐन २०२३ ले खाद्य सुरक्षा र स्वच्छताको विषयलाई प्रयाप्त मात्रामा सम्बोधन गर्न नसकेकाले नयाँ ऐनको तयारी गरिरहेको कृषि विकास मन्त्री हरि पराजुलीले बताए । “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिइएको कानूनी अधिकार अप्रर्याप्त हुँदा खाद्यान्नको गुणस्तर कायम गर्न समस्या देखिएको छ,” उनले भने, “अहिलेको ऐनमा कुनै फर्मले ऐन विपरित खाद्यान्न विक्री वितरण गरेको पाए पनि मुद्दाको झण्झटिलो व्यवस्थाले गर्दा कारवाही गर्न समस्या परेको छ, नयाँ ऐनले यस्तो समस्या हटाउनेछ ।” विद्यमान खाद्य ऐन २०२३ को नियामक निकाय विभाग हो ।

 
हालको ऐन अनुसार विभागले खाद्य गुणस्तरमा समस्या देखिएमा सिधै अदातलमा मुद्दा दायर गर्ने अधिकार छैन । उसले सम्बन्धित जिल्ला प्रशासनमार्फत मात्र कारवाही प्रक्रिया अगाडि बढाउने अधिकार छ । प्रशासनमा खाद्यका मुद्दालाई कम प्राथमिकतामा राख्ने भएकाले खाद्य पदार्थको गुणस्तर सुधार्न समस्या देखिएको पटक पटक उपभोक्ता अधिकारकर्मी र विभागले समेत ऐन संशोधनको माग गर्दै आएका थिए ।
हालको ऐनमा खाद्य सुरक्षाको मात्र व्यवस्था भएकाले खाद्य स्वच्छताको विषयलाई प्राथमिकता दिएर नयाँ ऐन ल्याउन लागिएको मन्त्री पराजुलीले बताए । ऐनको कार्यान्वयनको लागि पूर्ण अधिकार तथा जिम्मेवारी विभागकै रहने जानकारी गराए । त्यसैगरी जैविक सुरक्षा ऐनले पछिल्लो समयमा उठेको जिएमओ विउ व्यवस्थित गर्ने लगाएतका विषयमा स्पष्ट व्यवस्था गरिने भएको छ । दुबै ऐन चालू आर्थिक वर्षभित्र नै ल्याउने गरी तयारी भैरहेको मन्त्रालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :