हेलेन सखरखण्डको परीक्षण उत्पादन सफल

This post has already been read 278 times!

नुवाकोट,  १९ चैत/ भिटामिन ‘ए’को पर्याप्त शक्ति पाइने हेलेन नामक सखरखण्डको परीक्षण उत्पादन रसुवा जिल्लामा सफल भएको छ । भिटामिन ‘ए’ को अधिक शक्ति पाइने हेलेन सखरखण्ड चिसो हावापानी रहेको रसुवाको डाँडागाँउमा लगाइएको थियो । उत्पादन सफल भएपछि यसलाई व्यावसायिक खेत गर्न जिल्ला कृषि विकास कार्यालय रसुवाले सुझाव दिएको छ । कृषि कार्यालयको सहयोगमा रसुवा डाँडागाउँका किसान केशव गुरुङले चितवनबाट सखरखण्डको लहरा ल्याई गएको वर्ष परीक्षणका लागि लगाएका थिए । परीक्षणको रुपमा लगाएको सखरखण्डले राम्रो उत्पादन दिएपछि व्यावसायिक खेतीको सम्भावना उच्च रहेको कृषि कार्यालय रसुवाले बताएको छ ।
गएको माघ महीनामा तीन रोपनी क्षेत्रफलमा लगाएको सखरखण्डबाट दुई सय २० किलो उत्पादन भएको गुरुङले बताए । जिल्ला स्वास्थ्य कार्यालय रसुवाको समन्वयमा पोषण तत्वका लागि जिल्लामा क्रियाशील रहेको सुआहार नामक संस्थाले आगामी दिनमा आफ्नै खर्चमा लहरा ल्याई किसानलाई व्यावसायिक खेती गर्न सहयोग गर्ने तयारी गरेको छ । यो सखरखण्ड सुत्केरी महिला र दुई वर्ष उमेर समूहसम्मका बालबालिकाको लागि भिटामिन ‘ए’को स्रोतको रुपमा खुवाउने गुणकारी मानिन्छ ।