आइपुग्यो ढोका-ढोकामा, ठोकाको तरकारी डोकामा

This post has already been read 102 times!

धनकुटा, १९ चैत / ठोकाको तरकारी डोकामा। उठ्नुस् हजुर, आइपुग्यो तपाईंको ढोका-ढोकामा। धनकुटा ४ ठोकाका केही राईपरिवारको दैनिकी यसरी नै बित्न थालेको छ। वनजंगलबाट दाउरा काटेर जीविकोपार्जन गर्दै आएका ठोकावासीले बैकल्पिक रूपमा तरकारी खेती अपनाएका छन्। उब्जनी गरेको तरकारी किसान आफैंले बोकेर घरघरमा पुगेर बिक्री गर्दा आम्दानी पनि धेरैे हुने गरेको बताउँछन् उनीहरू।

धनकुटा नगरपालिका ठोकाका किसानको बारीमा लगाइएको तरकारी

सामुदायिक वनले कडा निगरानी गर्न थालेपछि गाउँलेको पहिलो बैकल्पिक रोजाइ तरकारीखेती बनेको हो। दाउरा बेच्ने उनीहरूको पुख्र्यौली पेसा हो। दाउरा बिक्री गर्दा बिहान दाउरा र दिउँसो अर्काको घरमा मेलापात गर्नुपर्दा बालबालिका विद्यालय जानसमेत पाउँदैनथे तर अहिले तरकारीबाट राम्रै आम्दानी हुन थालेपछि खान पनि पुगेको छ र बालबालिकालाई विद्यालय पठाउन सक्ने भएका छन् यहाँका किसान।

 

 

नगरपालिकाको विकास निर्माण र सेवासुविधाबाट वञ्चित भएका ठोकावासीले तरकारीखेतीबाट भएको आम्दानीले शैक्षिक, पारिवारिक र सामाजिक रूपमा निकै परिवर्तन भएको उनीहरूको भनाइ रहेको छ।

 

 

 

परम्परागत बाली छोडेर बेमौसमी तरकारीखेतीमा लागेका उनीहरू नगरको छुट्टै ग्रामीणक्षेत्रमा १८ परिवार बसोबास गर्दै आएका छन्। ‘सिमान्तकृत आठपहरियाराई मात्र बसोबास रहेको नगरको दुर्गम क्षेत्रमा तीन वर्षअघिसम्म दाउरा बेचेर जिविका चलाइरहेको थिएँतर अवस्था त्यस्तो छैन अहिले’, स्थानीय चक्रबहादुर राईले बताए। उनी भन्छन्, ‘केही वर्षअघि गोजीमा दुई रुपैयाँ नहुनेहरू अहिले ५० हजार चाहिए पनि साहूकोमा जाँदैनन्।’

 

 

परीक्षणको रूपमा केही वर्षअघि तीन रोपनी क्षेत्रफलमा आठ हजार गोलभेंडाकाबिरुवा रोपेर तरकारीखेती सुरु गरेका ठोकावासीको बारीमा अहिले तरकारी मात्रै रहेको छ। बारीमा रायोसाग, धनियाँ, पालुंगो, बन्दाकोभी, फूलकोभी, अदुवा, प्याज, लसुन, भन्टा, ब्रोकाउली, गाँजर, मटरकोसा, मूला, आलु, रामतोरिया, अकबरे खुर्सानीलगायतका सिजनअनुसार बेमौसमी तरकारीसमेत उत्पादन गर्दै आएका छन्।

 

 

 

वर्षमा तीन सिजन तरकारी उत्पादन हुने उक्त क्षेत्रमा सामुदायिक वनक्षेत्र संरक्षण अभियानले दाउरा बेच्न नपाएर विकल्प खोज्दै गर्दा सुरु भएको ठोकावासीले तरकारीखेतीबाट एकै सिजनमा कम्तीमा दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेको स्थानीय सानबहादुर राईले बताए।

 

 

सिंचाइ सुविधा कम भएको उक्त क्षेत्रमा नजिकको खोलाबाट १८ घरले साझा पोखरी निर्माण गरी तरकारीखेतीमा पालो मिलाएर सिंचाइ गर्ने गरेका छन्। ठोका क्षेत्रका सबै घरपरिवारको आम्दानीको मुख्यस्रोत तरकारीखेती बनेको छ। तरकारीखेतीमा मेहनत र चुनौती धेरै भए पनि घरपरिवारसँगै बसेर आफ्नै बारीमा मेहनत गरी तरकारी उत्पादन गर्नुको मज्जामात्र हैन राम्रो आम्दानीका कारण सुखी जीवन बिताउन पाइएको छ।

 

 

तरकारी खेतीबाट कमाएको पैसाले घरखर्च गरेर सामूहिक बचत गर्न सक्ने बन्नु त सपनाजस्तो भएको फूलमाया बताउँछिन्। उनी भन्छिन्, ‘दाउराले छाक टारेका दिन सम्झँदा अहिले ज्ञानसीप अभावले नै मानिसले भोकभोकै बस्नुपर्दो रहेछजस्तो लाग्छ। छोराछोरी स्कुल जान्छन् हामी बूढाबूढी बारीमा जान्छौं।’

 

 

पूर्वाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकामसमेत रहेको धनकुटा नगरपालिकामा बसोबास गर्ने ११ हजार जनसंख्या र कर्मचारी एवं पूर्वका ११ जिल्लाबाट क्याम्पसमा आउने विद्यार्थीका लागि बिहानै ढोकाढोकामा ताजा तरकारीे ठोकावासीले पुर्‍याउने गरेको नगरवासीको भनाइ छ।

 

 

आफ्नो बारीमात्र नभएर मेहेनत गरेर जंगलछेउको भिरालो पाखा जमिनमा समेत बहुबाली तरकारी लगाएर ठोकावासीले ताजा तरकारी उत्पादन गर्न थालेका छन्। स्वालम्बन समूह गठन गरी व्यक्ति गत उत्पादन सामूहिक व्यवस्थापन भन्ने नारा बनाएर गाउँकै प्रयासमा सडक ट्र्याक खोलेका थिए।

 

 

 

गाउँलेले गरेको प्रयासबाट बजारमा तरकारी ल्याउन सुविधा पुग्ने भन्दै पछिल्लो समयमा धनकुटा नगरपालिकाले बाध्य भएर ठोका क्षेत्रसम्म पाँच किलोमिटर कच्ची सडक निर्माणमा सहयोग गरेको स्थानीय सूर्यबहादुर राईले बताए।