रामहरिको अर्गानिक अभियान

यो समाचार 233 पटक पढिएको

 झापा, १८ चैत / मेचीनगर नगरपालिकाको हरियाली टोलका किसान रामहरि नेपालले आफ्नो खेतबारीमा रासायनिक मल प्रयोग नगरेको १० वर्ष पुग्यो। उनी सबै प्रकारका बालीमा जैविक मल प्रयोग गर्छन्। रासायनिक मल क्षणिक हुने तर जैविक मलले जमिनको उर्बरा शक्तिलाई दीर्घकालीन रूपमा जिवन्त राख्ने निष्कर्षसहित उनी यसको अभियानमा नै लागेका छन्।

उनी अहिले जैविक मल आफैं बनाउँछन्। मल बनाउने प्रविधिलाई उनले आफूमा मात्र सीमित राखेका छैनन्। गाउँका धेरैलाई यो प्रविधिबारे उनले सिकाइसकेका छन्। उनी भन्छन्, ‘जैविक मलले जमिनको उर्बरा शक्ति बढाउँछ। यसको प्रयोगले मेरो खेती फस्टाउँदै गएको छ।’

 

 

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा हानि पुर्‍याइरहेका बेला उनी एक नमुना किसान बनेका छन् जसले प्रांगारिक मलको उत्पादनविधि अन्य किसानलाई समेत सिकाउने गरेका छन्। किसान नेपालका अनुसार नेपालको माटोलाई रासायनिक मलको जरुरी नै छैन। उनी भन्छन्, ‘हामीले नै हाम्रो यति राम्रो माटोलाई बिगारेका हौं। हाम्रो माटो यति मलिलो छ तर धेरै मानिसले उत्पादन बढाउने नाममा रासायनिक मल र विषादी प्रयोग गरेर बिगारिदिए।’

 

 

नेपालले आफ्नो जग्गा त सुधारे नै, उनले आफैंले उत्पादन गरेको गँड्यौली मल बिक्री गरी पर्याप्त आम्दानीसमेत गरेका छन्। वार्षिक करिब ४० टन गँड्यौली मल उत्पादन गरेर बिक्री गर्छन् उनी। झापा र इलामका चिया किसान, फूल नर्सरी बनाउने र लुथरन विश्व फेडेरेसनले आफूले उत्पादन गरेको मल खरिद गर्ने गरेको किसान नेपालले सुनाए।

 

 

उनले अहिलेसम्म तीन लाख रुपैयाँबराबरको गँड्यौली मल उत्पादनमा प्रयोग हुने गँड्यौलामात्र बिक्री गरेका छन्। ‘६ वर्षअघि नार्कका वैज्ञानिक डा. शान्ति खड्गीबाट गँड्यौली मल उत्पादन गर्ने विषयमा तालिम लिएपछि मेरो ध्यान त्यतैतिर मोडियो र यो स्थानसम्म आइपुगें’, किसान नेेपालले भने, ‘देशका अन्य भागमा समेत गँड्यौली मल उत्पादन गर्ने तरिका अध्ययन गरेपछि मलाई काम गर्न सजिलो भयो।’

 

 

अहिले उनी झापाका एक नमुना किसान तथा गँड्यौली मलका लागि स्रोतव्यक्ति बनेका छन्। उनी भन्छन्, ‘मैले खोज र दु:ख गरेअनुसार फाइदा भएको छ।’ उनले सबभन्दा पहिला खुमलटारबाट गँड्यौला ल्याएर गँड्यौली मल उत्पादन गर्न सुरु गरेका हुन्। गँड्यौली मल बनाउँदा जैविक फोहोर, कोलाको दाम्छा, बालीका अवशेष मिलाएर बनाइन्छ।

 

 

किसान नेपाल भन्छन्, ‘सबभन्दा मुनि सुकेका झारपात राखेर गँड्यौलालाई ओछ्यान बनाइदिनुपर्छ। त्यसपछि गँड्यौला राख्नुपर्छ। गँड्यौलालाई छोप्ने गरी झारपात तथा सेलाएको गोबर राख्नुपर्छ जुन गँड्यौलाको आहारा हो। अनि माथिबाट झारपातले छोपिदिनुपर्छ। तर, दिनमा एकपल्ट पानी भने हाल्नुपर्छ किनभने गँड्यौलालाई चिस्यान चाहिन्छ।’

 

 

कृषि विकास कार्यालय झापाका पूर्वबागवानी विकास अधिकृत सूर्यनारायण यादव भन्छन्, ‘प्रांगारिक मलको प्रयोगले उनको जमिनको उर्वराशक्ति बढेको छ। किसान रामहरि नेपालसँग गँड्यौले मल बनाउन सिकेका किसान हकहित संरक्षण केन्द्र झापाका अध्यक्ष राजेन्द्र करियाका अनुसार उनको यो प्रयास हरेक किसानका लागि प्रेरणादायक छ। नेपालकै अनुशरण गरेर अहिले झापामा करिब दुई सय ५० जना किसान गँड्यौली मल उत्पादनमा लागेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :