म्याग्दीमा ४४ हजार कफीका बिरुवा वितरण गरिने

This post has already been read 127 times!

म्याग्दी, १८ चैत / कफीखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले चालू आर्थिक वर्षमा ४४ हजार बिरुवा वितरण गर्ने भएको छ। किसानको मागलाई ध्यान दिंदै ५० प्रतिशत अनुदानमा कफी विकास केन्द्र गुल्मी र क्षेत्रीय कफी विकास बोर्ड पोखरासँग समन्वय गरेर बिरुवा वितरण गर्न लागिएको हो।

 

 

कफीखेतीप्रति किसान व्यक्तिगत र सामूहिक रूपमा अग्रसर हुन थालेपछि व्यावसायिक रूपमा अघि बढाउन बिरुवा वितरण गर्न लागिएको वरिष्ठ बागवानी विकास अधिकृत बासुदेव पौडेलले जानकारी दिए। प्रचुर सम्भावना भए पनि अहिले जिल्लामा आठ हेक्टर क्षेत्रफलमा मात्र कफीखेती हुँदै आएको छ। उनले भने, ‘यस वर्ष थप २२ हेक्टर क्षेत्रफलमा यो खेती विस्तार हुन्छ। त्यसका लागि एक हेक्टर बराबर दुई हजार बिरुवा वितरण हुन्छ।’

 

 

१० रुपैयाँ पर्ने एउटा बिरुवालाई ५० प्रतिशत अनुदान हुने भएकाले पाँच रुपैयाँमा वितरण गरिने कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाका किसानले व्यावसायिक कफीखेती गर्न सामूहिक रूपमा एक वर्षअघि म्याग्दी कफी सहकारी संघ स्थापना गरेका छन्।

 

 

‘बेनीमै संकलन केन्द्र पनि स्थापना भएको छ। यसलाई विस्तार गर्न सकियो भने यसबाट किसानले धेरै आम्दानी गर्न सक्छन्। त्यसैले हामीले यो कार्यक्रमलाई बढी प्राथमिकता दिएका छौं। बागवानी विकास अधिकृत पौडेलले भने, ‘बजारीकरण, खेती गर्ने तरिका, खेती गर्दा आउने समस्या र समाधानका विषयमा हामीले एक चरणमा अगुवा किसानलाई पनि तालिम दिएका छौं।’

 

 

जिल्लाको अर्मन, बरंजा, ज्यामरु कोट, घतान, भकिम्ली, कुहु, पिप्ले, भगवती, बेगखोलालगायतका गाविसकालाई कफी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। समुद्री सतहदेखि आठ सय मिटरदेखि १६ सय मिटर उचाइसम्म हुने कफी भौगोलिक हिसाबले पनि उचित भएको प्राविधिकको भनाइ छ।

 

 

वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले भने, ‘अहिले सुरु मात्रै भएको छ, कफीखेतीका लागि भूगोल पनि राम्रो छ भने बजारका लागि त्यति समस्या छैन।’ जिल्लामा वार्षिक चार मेट्रिकटन कफी उत्पादन हुने र उक्त कफी विभिन्न माध्यमबाट विदेशसमेत पुग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ।