हाईब्रीड बीउ भर्खरै जन्मेको शिशु हो

यो समाचार 278 पटक पढिएको

Madanraj bhatta, Newsagrocom
मदनराज भट्ट, प्रमुख
राष्ट्रिय कृषि अनुबांशिक स्रोत केन्द्र (जिन बैंक)

राष्ट्रिय कृषि अनुबांशिक स्रोत केन्दका प्रमुख मदनराज भट्ट लामो समयदेखि कृषि क्षेत्रमा मुख्य वैज्ञानिका रूपमा काम गर्दै आएका छन् । उनले विशेष गरी गहुँमा उन्नत जातका प्रविधि विकास गरेका छन् । तीन दशकसम्म उनी राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवामा नयाँ जात विकास गर्ने काम गरेका उनले १० वर्ष गहुँबाली राष्ट्रिय संयोजक भई काम गरेका छन् । उनले गहुँमा १४ ओटा उन्नत जात विकास गरिसकेका छन् । सन् २०१२ मा गहुँमा लाग्ने रोग प्रतिरोधात्मक क्षमता भएको विजय नामक गहुँको उन्नत जात विकास गरी उनले अन्तराष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेका छन् । तीन वर्षदेखि उनी जिन बैंकमा प्रमुखका रूपमा काम गर्दै आइरहेका छन् । यस वर्षभित्र जिन बैंकलाई सबै पूर्वाधार विकास तयारीका साथ उनी लागिरहेका छन् । प्रस्तुत छ, जिन बैंकको अवस्था, स्थानीय जातका बीउ–विजनलगायतका अन्य विषयमा केन्द्रका प्रमुख मदनराज भट्टसँग गरिएको कुराकानीको संक्षेप :

 

 

० जिन बैंक स्थापना गर्नुका उद्देश्य के हो ?


– कृषि जैविक विविधता संरक्षण एवं परम्परागत रैथाने जातहरू क्रमिक रूपमा लोप हुन थालेपछि यसलाई संरक्षण गर्न राष्ट्रिय कृषि अनुसन्धान स्रोत केन्द्रको स्थापना भएको हो । स्थानीय बालीका प्रजातिलाई अल्पकालीन र दीर्घकालीन रूपमा जोगाइराख्न तीन वर्ष अघि सरकारले केन्द्रको स्थापना गरेको हो । यसले विभिन्न बालीका विभिन्न जातहरू संरक्षण गर्ने काम गरिरहेको छ । जिन बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बीउका नमुनाहरू संरक्षण गरिरहेको छ । यसमा ७९ बालीनालीका १० हजार ६ सय संख्यामा विभिन्न प्रजातिहरू रहेका छन् । मुलुकभरको हावापानीमा उपयुक्त हुने विभिन्न बालीका प्रजाति यस केन्द्रमा राखिएको छ ।

 

 

० जैविक विविधता कायम गर्न किन आवश्यक छ ?
– हाल विश्वमा औसत ८४ प्रतिशत आहार बोटबिरुबाट प्राप्त भइरहेको छ । अमेरिका, युरोप ल्याटिन मुलुकमा बढी मात्रामा माछामासु खाने भएकाले बोटबिरुवाबाट प्राप्त आहार कमी रहेको छ । मानव स्वास्थ्यलाई आवश्यक पर्ने आहार प्राप्त गर्नका लागि जैविक विविधता संरक्षण गर्नु अति आवश्यक छ । अहिले विश्वको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको छ । जनसंख्या वृद्धिको अनुपातमा हालको ६० देखि ७० प्रतिशत खाद्यान्न अतिरिक्त उत्पादन गनुपर्ने देखिन्छ । नत्र सबै मुलुकहरू भोकमरीमा पर्ने देखिन्छ । यसको कारणले गर्दा पनि दीर्घकालीन रूपमा परम्परागत जातलाई संरक्षण गरिनुपर्छ । जनसंख्या ज्यामितीय आकारमा बढ्छ भने खाद्यान्न अर्थाेमेटिक आधारमा वृद्धि हुने गरेको छ । १९६० मा विश्वव्यापी रूपमा हरित क्रान्ति देखापरेपछि रैथाने जातभन्दा पनि बिकासे जातको प्रयोग गर्न थालियो । रैथाने जातको लोप हुन थालेपछि त्यसलाई अल्पकालीन र दीर्घकालीन रूपमा संरक्षण गर्ने उद्देश्यका साथ जिन बैंकको स्थापना भएको हो । कृषि जैविक विविधतालाई संरक्षण गरी माग अनुरूप खाद्यान्न उत्पादन वृद्धि गर्न स्थानीय जातलाई सुरक्षित राख्न जिन बैंकको आवश्यकता परेको हो । मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानको विकास प्राकृतिक संयोजनबाट भएको हो । जंगली जातबाट आधुनिक खाद्यान्न बालीको विकास गरिएको हो । १०÷१२ हजार वर्षपहिलो गहुँको उत्पत्ति तीनओटा प्रजातिबाट आधुनिक खाद्यान्न बालीका रूपमा विकसित भएको हो । नेपालले कृषि जैविक विविधताको संरक्षण सन् १९८४ बाट सुरुआत गरेको थियो । तथापि, जिन बैंकको अभाव थियो । अन्तर्राष्ट्रिय मान्यता अनुरूप स्थानीय बीउका नमुनाहरू संरक्षण गर्न यसको स्थापना गरिएको हो । ७ करोडबाट सुरु गरिएको यस बैंकको आश्यक संरचना तयार गर्न १२ देखि १४ लाखसम्म खर्च भइसकेको छ ।

 
० बैंकमा हाल कस्ता जातहरू राखिएकोे छ ?
यसमा अहिले विभिन्न ७९ बालीनालीका १० हजार ६ सय प्रजाति सुरक्षित साथ राखिएको छ । धानका १ हजार ८ सय ३८, गहुँका १ हजार ७ सय ११, मकैमा ७ सय ३४, कोदो ४ सय ३० र विभिन्न दाल बालीका ८ सय संख्यामा प्रजातिहरू राखिएको छ । बैंकमा १ लाख संख्यामा बीउ–विजन संरक्षण गर्ने संरचना तयार भइसकेको छ । एकै स्थानमा कृषि जैविक विविधता संरक्षण गर्न कठिन हुने गर्छ । विश्वको एउटै साझा बैंका रूपमा नर्वेमा गोलोबर सिड्स बैंक रहेको छ । प्राकृतिक प्रकोप, आगलागीको कारणले कृषि विविधता ध्वस्त हुुने भएकाले बाली संरक्षण गर्न विभिन्न ठाउँमा सेफ्टी डुप्लिकेसन गर्न आवश्यक छ । त्यस अनुरूप नेपालको जिन बैंकले एफएओको प्रावधानअनुसार बहुपक्षीय प्रणालीअन्तर्गत कृषि अनुसन्धान केन्द्रहरू जस्तै धानको लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (यिरी) को जिन बैंकमा धानका २९ हजार प्रजातिहरू संरक्षण गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मकै अनुसन्धान केन्द्र (सिमिट¬¬¬) को जिन बैंकमा गहुँ र मकैका प्रजातिहरू राखिएको छ ।
अन्तराष्ट्रिय जिन बैंकले स्थानीय जातलाई विकास गरी विभिन्न विकाशील र विकासोन्मुख मुलुकलाई वितरण गर्ने गर्छ । अहिले विश्वभरि विभिन्न मुलुकमा १७ हजार ७० जिन बैंक छन् र तिनीहरूमा ७० लाख ४० हजार संख्यामा विभिन्न बालीका प्रजातिहरू संरक्षण गरिएको छ ।

 

० यी प्रजातिलाई कसरी संरक्षण गर्ने गरिन्छ ?
– विभिन्न जातका बालीहरू संरक्षण गर्नका लागि २४ घन्टा बिजुलीको आवश्यक पर्छ । अहिलेसम्म फिडर लाईन जडान नभएकाले संरक्षण गर्न कठिन भइरहेको छ । आगामी एक महिनाभित्र फिडर लाइन जोड्ने तयारी भएको छ । दीर्घकालीन रूपमा संरक्षण गर्नका लागि बालीलाई १८ डिग्री सेन्टिग्रेट तापक्रमका आवश्यकता पर्दछ । त्यस्तै, अल्पकालीन रूपमा रूपमा संरक्षण गर्न ५ देखि १० डिग्री सेल्सियस तापक्रम र ४० प्रतिशत आद्रता आवश्यक पर्छ । दीर्घकालीन रूपमा कायम हुने गरी सबै बालीहरू सुरक्षित साथ राखिएको छ ।
जिन बैंकमा मात्र सबै प्रजाति संरक्षण गर्न नसकिएकाले नार्कअन्तर्गत रहेका ५८ ओटा अनुसन्धान केन्द्रमाफर्त विभिन्न बालीका प्रजातिहरू संरक्षण गरिएको छ । किसानको माग अनुरूप अहिले पनि बीउ वितरण भइरहेको छ । जिन बैंकमा मात्र नभएर बीउ नहुने धेरै प्रजातिहरू फिल्ड जिन बैंकमार्फत संरक्षण गरिएको छ । जसमा लसुनमा ३०, अदुवा र बेसारमा ६० ओटा प्रजाति र अन्य फलफूलका रहेका छन् । यी प्रजातिबाट सिधै बीउ उत्पादन नहुने हुँद फिल्ड बैंकमार्फत संरक्षण गर्नुपरेको छ ।

 
० अहिले स्थानीयभन्दा पनि हाइब्रिड जातको प्रयोग धेरै छ नि ?
– कृषिमा विकास रैथाने जातको प्रयोगबाट भएको हो । स्थानीय जातबाट कम उत्पादन हुने भएकाले पनि यसलाई किसानले प्रयोग गर्न छाडेका छन् । कृषिप्रधान देश भएर अधिकांश जनताको मुख्य पेसा यही हुँदा उत्पादन धेरै हुने जात किसानले लगाउने गर्छन् ।
सन् १९६० मा विश्वका जनसंख्या ३ अर्ब ५० करोड थियो, अहिले दुई गुणाले बढेर ७ अर्ब २० करोड नाघिसकेको छ । जनसंख्या वृद्धिसँगै खाद्यान्न उत्पादन तीन गुणाले बढिरहेको छ । आगामी ३० देखि ३५ वर्षसम्म ६० देखि ७० प्रतिशत अतिरिक्त खाद्यान्न आवश्यक पर्छ । बढ्दो जनसंख्यासँगै खाद्यान्नको खपत धेरै हुँदा उत्पादन बढाउनका लागि हाइब्रिड जातको प्रयोग अनिवार्य बनेको छ ।
रैथाने जात लगाएर खाद्य सुरक्षा सम्भव छैन । जसको कारणले गर्दा पनि हाइब्रिड जातको प्रयोग बढ्दै गएको हो । हाइब्रिड जात रैथाने जातबाट विकास भएको प्रारूप हो । हाइब्रिड बीउलाई मल, जल र व्यवस्थापन बढी आवश्यक पर्छ । जसको कारणले गर्दा पनि उत्पादन बढी हुने गरेको छ । स्थानीय जातले खाद्यान्न आपूर्ति गर्न नसकिएकाले पनि धेरैजसो मुलुकले हाइब्रिडको प्रयोग गर्ने गरेका छन् । चीनमा धानमा आधा जति हाइब्रिड बीउको प्रयोग गरिन्छ । नेपालमा पनि नार्कले धान, मकैको हाइब्रिड जात सिफारिस गरी किसानसमक्ष पठाइसकेको छ । विशेषगरी, तरकारीमा ८० प्रतिशत हाइब्रिड बीउ बाहिरी मुलुकबाट आउने गरेको छ । मौसम परिवर्तन र जनसंख्या वृद्धिको अनुपातमा खाद्यान्न उत्पादन बढाउनका लागि उन्नत हाइब्रिड बीउको प्रयोग धेरै हुने गरेको छ ।

 

 

० हाइब्रिड बीउमा समस्या देखिएको छ नि ?


– हाइब्रिड बीउको प्रयोग गर्नका लागि सरकारले राष्ट्रिय बीउ–विजन समितिबाट दर्ता अनिवार्य गरेको छ । खुला सिमानाको कारण बहुराष्ट्रिय कम्पनीहरूले गाउँ–गाउँमा एग्रोभेटमार्फत परीक्षण नगरिकन बीउ बिक्री–वितरण गरेका छन् । जसको कारणले गर्दा पनि पछिल्लो पटक यसमा समस्या देखापरेको छ । विशेषगरी, हावापानी फरक पर्दा फलमा दाना नलाग्ने समस्या देखिएको छ । किसानले सिधै एग्रोभेटमार्फत खरिद गरी परीक्षण नगरिकन लगाएर समस्या देखिएको हो । यस वर्ष भक्तपुर र काभ्रेमा लगाइएको धानमा फल लागेन । यसमा सरकारको कुनै गल्ती छैन तर नैतिकताले क्षतिपूर्ति दिनुप¥यो । बहुराष्ट्रिय कम्पनीले परीक्षण नगरिकन बीउ वितरण गर्दा उत्पादनमा समस्या भएको हो । हाइब्रिड कस्तो हो भने भर्खर जन्मेको बच्चा हो । त्यसलाई दुई–तीन पटक परीक्षण गरेर मात्र लगाउनुपर्छ । परीक्षण गरेर लगाउँदा हाइब्रिड बीउमा समस्या देखिँदै छ । हाइब्रिडको पहिलो पुस्ता मात्र लगाउने भएकाले हरेक वर्ष किसानले बीउ खरिद गर्नुपर्छ । नेपालमा हाइब्रिड उत्पादन गर्ने संरचना तयार नभएको कारणले बाहिरी मुलुकबाट यसको आयात भइरहेको छ । लागत खर्च बढी हुँदा सरकारले एकै पटक लगानी विस्तार सक्दैन । निजी स्तरबाट सञ्चालित कम्पनीको हाइब्रिड उत्पादन गर्ने क्षमता छैन । निजी क्षेत्र बलियो भयो भने मात्र हाइब्रिडमा समस्या कम हुन सक्छ । सरकारी सानातिना फार्ममा उत्पादन गरेर सम्भव छैन । सरकारी र निजी फार्म मिलेर यसको उत्पादन बढाउन सकिन्छ ।

 प्रस्तुती  : लक्ष्मी सापकोटा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :