उत्पादनमूलक क्षेत्रमा नौ अर्ब लगानी प्रस्ताव

यो समाचार 197 पटक पढिएको

काठमाडौं, १८ चैत/  नेपाली व्यवसायीले खाद्य, पेय, सिमेन्ट र बाँसजन्य उद्योगमा आगामी पाँच वर्षभित्र नौ अर्ब रुपैयाँभन्दा बढी लगानीको तयारी गरेका छन्। वैद्य समूह, शंकर समूह, लक्ष्मी समूह, कैलाश समूहलगायतका औद्योगिक घरानाले यस्ता उद्योगमा लगानी गर्न लागेका हुन्। उनीहरूले उत्पादनमुखी डेरी, कन्फेक्सनरी, खाद्य, सिमेन्ट, बाँस-फर्निचर, बियरलगायतका उद्योगमा लगानीको तयारी गरेका छन्।

Agro Industries

 

पाँचवटा समूहले आगामी पाँच वर्षभित्र नौ अर्ब २५ करोड २४ लाख ८० हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव अघि सारेका हुन्। उनीहरूले केही समयअघि नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको नेपालमा लगानी सम्भावनाका आयोजनाको प्रस्तावमा पनि आफ्ना योजना समावेश गराएका छन्। उनीहरूले आफ्ना आयोजनामा विदेशी लगानी भित्र्याउने प्रयत्नसमेत गरिरहेका छन्।

 

 

‘हामीले भारतीय भेन्चर क्यापटलिस्टसँग कुराकानी गरिरहेका छौं’, हेटौंडामा आरएस सिमेन्ट प्लान्ट चलाउने तयारीमा रहेको शंकर समूहका प्रबन्धनिर्देशक साहिल अग्रावालले भने, ‘अहिले हामीले योजनाको प्रस्तावमात्र बनाएका हौं, निर्माणलगायतका काम थालेका छैनौं।’ उनले सिमेन्टका लागि चुनढुंगा खानी भने खोजिसकेको जानकारी दिए। समूहले आरएस सिमेन्टमा कुल ६ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।

 

 

 

सिमेन्ट उद्योग आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने समूहको प्रस्ताव छ। समूहले नेपाली चुनढुंगा प्रयोग गरेर दैनिक एक हजार पाँच सय टन क्लिंकर र दैनिक दुई हजार टन विभिन्न खाले सिमेन्ट उत्पादनको लक्ष्य राखेको छ। यसका लागि समूहले पाँच करोड टन चुनढुंगा खानीको अनुमति लिइसकेको छ।

 

 

 

यसैगरी लक्ष्मी समूहले पोखरामा सञ्चालित सुजल फुड प्रालिमा लगानी विस्तार योजना अघि सारेको छ। कम्पनीले कन्फेक्सनरी आयोजनाको प्रस्ताव तयार पारेको हो। यो आयोजनाका लागि उसले ९६ करोड रुपैयाँ लगानी थप्ने प्रस्ताव अघि सारेको हो। नेपाल र भारतमा निर्यातको लक्ष्यसहित सुरु गर्न लागिएको यो आयोजनाका लागि कम्पनीले साझेदार खोजिरहेको छ। यसले अहिले उत्पादन भइरहेका र थप ब्रान्डका कन्फेक्सनरी उत्पादन गर्ने लक्ष्य राखेको छ।

 

 

 

यसैगरी कैलाश समूहले पनि तीनथरी औद्योगिक आयोजनाको प्रस्ताव अघि सारेको छ। यो समूहले कैलास मिल्क प्रालि, कैलास गाई पालन कम्पनी र डेरी हब चलाउने प्रस्ताव अघि सारेको हो। तीन आयोजनाका लागि समूहले कुल १३ करोड १४ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो समूहका आयोजनाहरू पर्सा जिल्लामा सञ्चालन हुनेछन्।

 

 

 

यसैगरी मिराकल ब्याम्बो क्राफ्ट प्रालिले पनि ९६ करोड रुपैयाँ लगानी गर्नेगरी नयाँ आयोजना अघि सारेको छ। २० प्रतिशत आफ्नो लगनी र ८० प्रतिशत ऋणमा आयोजना अघि बढाउने कम्पनीको योजना छ। दुई सय हेक्टर क्षेत्रफलमा आफैंले बाँस खेती गरेर बाँसका सामान उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। सिरहा, सप्तरी र उदयपुरका विभिन्न स्थानमा आयोजना सञ्चालन गर्ने कम्पनीको योजना छ।

 

 

 

यस्तै वैद्य समूह करिब ५० करोडको लागतमा बियर उत्पादन उद्योग सञ्चालनको तयारीमा छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको यो समूहले तनहुँ जिल्लामा बियर उद्योग खोल्ने प्रस्ताव अघि सारेको हो। कम्पनीले विश्वस्तरीय ब्रान्डसँग साझेदारी गरेर उद्योग अघि बढाउने जनाएको छ। प्रतिदिन चार सय ५० हेक्टालिटर बियर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :