कबुलियती वनमा फलफूल र अलैंचीखेती

यो समाचार 299 पटक पढिएको

लमजुङ, १६ चैत /लमजुङका विभिन्न कबुलियती वनहरूमा भुइँघाँस, डाले घाँसका साथै अलैंची र फलफूलखेती विस्तार गरी मनग्य आम्दानी हुन थालेको छ ।  जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कबुलियती वन तथा पशु विकास कार्यक्रमको हालसम्मको उपलब्धि तथा कार्यक्रमको निरन्तरताबारे जिल्लास्तरको अन्तक्र्रियाका सहभागी वन समूहले यस्तो जानकारी दिएका हुन् ।

Coffe Fruit, Newsagro

कार्यक्रम लागू भएको जिल्लाका १६ गाविसका समूहका प्रतिनिधिले आफूहरूले वनमा अलैंचीखेती, फलफूलखेतीका साथै विभिन्न प्रकारका घाँस र काठ हुने रूख लगाएर आम्दानी लिइरहेको बताएका थिए । पूर्वीलमजुङको गौंडामा रहेका कबुलियती वन समूहले अलैंचीखेतीबाट प्राप्त आम्दानीको करिब ५ लाख रुपैयाँ बाटो निर्माणमा खर्च गरेको स्थानीय बिच्छीराम गुरुङले जानकारी दिए ।

यस्तै, भुलभुलेकी हीरादेवी घलेले आफ्नो क्षेत्रमा पनि अलैंचीखेतीका साथै विभिन्न जातका फलफूलखेती सुरु गरिएको बताइन् । बाँग्रेकी नारायणी भण्डारीले आफ्नो क्षेत्रको वनमा अम्रिसोको साथै विभिन्न प्रकारका घाँसखेती गरी आम्दानी लिइरहेको बताएकी छिन् ।
जिल्लाका १६ गाविसमा कबुलियती वन तथा पशु विकास कार्यक्रम गरिएको जिल्ला पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. दीर्घनाथ ढुंगानाले बताए । ०५७ सालबाट डिप्रोस नेपालको सहयोगमा सुरु यो कार्यक्रम हाल इफाड नामक अन्तर्राष्ट्रिय दातृनिकायको सहयोगमा सञ्चालन भइरहेको छ ।
श्रीमज्याङ, नौथर, पाचोक, गौंडा, प्यारजुङ, बाहुनडाँडा, भुलभुले, चिति, चण्डीस्थान, गाउँसहर, ताङ्ग्राङटक्सार, बाँग्रे, सूर्यपाल, फलेनी, चक्रतीर्थ र धमिलिकुवामा कबुलियती वन तथा पशु विकास कार्यक्रम सञ्चालनमा छ ।
जिल्लाका १६ गाविसमा कुल ५ सय ४२ हेक्टर क्षेत्रफल वनमा कार्यक्रम गरिएको र सो कार्यक्रमबाट १ हजार १ सय ३७ घरधुरीका नागरिक लाभान्वित भएको पशु कार्यालयका पशु चिकित्सक खिला शर्मा घिमिरेले जानकारी दिएका छन् । कबुलियती वनमा पशु विकास कार्यक्रम लागू भएपछि समूहमा बचत गर्ने बानीको विकास भएको, ५० लाखको हित कोष वनेको, ४५ लाख ऋण लगानी गरिएको, खेर गएको जमिनमा भुइँघाँस, डालेघाँस, फलफूल तथा अलैंचीखेती भइरहेको घिमिरेले बताए ।
वन समूहमा आबद्ध महिलालाई आयआर्जनका लागि २ हजार २ सय २४ वटा बाख्रा, १ सय ५ वटा ब्याड बोका र विभिन्न जातका तरकारीका बीउ वितरण गरिएको पशु कार्यालयले जनाएको छ । यस्तै, विभिन्न समयमा पशु स्वास्थ्य शिविर र तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :