फिस मिसनमा २० लाख अनुदान

यो समाचार 184 पटक पढिएको

फिस मिसनमा २० लाख अनुदानबर्दिया, १६ चैत /  जिल्ला कृषि विकास कार्यालय बर्दियाले अभियानमुखी मत्स्य उत्पादन (फिस मिसन) कार्यक्रमका लागि यस वर्ष २० लाख रुपैया अनुदानको व्यवस्था गरेको छ । कृषकलाई प्रोत्साहन स्वरुप नयाँ पोखरी निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराउन लागेको हो ।
माछाको आयात प्रतिस्थापन गर्ने उद्देश्यले जिल्लामा फिस मिशन कार्यक्रम लागु भएपछि मत्स्य पालनमा कृषकहरुको आर्कषण झन बढेको कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मत श्रेष्ठले बताए । ‘माछा पालनतर्फ किसानहरुको आकर्षण बढदो छ ’उनले भने ‘दिन प्रतिदिन निवेदन दिनुका साथै सल्लाह लिन किसानहरु आईरहेका छन ।’ 
आर्थिक वर्ष ०६४/०६५ देखि बर्दियामा अभियानमुखी मत्स्य उत्पादन (फिस मिसन) कार्यक्रम लागु गरेपछि ब्यवसायीक रुपमा माछा पालन गर्ने कृषकहरुको संख्या बढीरहेको छ । आ.ब ०६९/०७० मा ९ सय ७३ कृषकहरु कार्यक्रममा आवद्ध भएकोमा यसवर्ष १ हजार बढी आवद्ध भएका छन  । कार्यक्रम सुरु भएपछि यो वर्ष जिल्लामा २० हेक्टर जमिनमा पोखरी खनेर ६ दर्जनभन्दा बढी किसानले  माछा पाल्ने कार्यालयका मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताए । धेरै कृषकहरुले माछापालन गर्न कार्यालयसंग अनुदान माग गरेको भए पनि बजेट अभावमा माग अनुसारको सहयोग उपलब्ध गराउन नसकिएको अधिकृत चौधरीले जानकारी दिएका छन् ।

 

 

मिशन अन्र्तगत नयाँका लागि कार्यालयले प्रतिहेक्टर एक लाख र पुराना पोखरीमा प्रतिहेक्टर ४० हजारका दरले किसानहरुलाई अनुदान रकम उपलब्ध गराएको छ । गत बर्ष कार्यालयले ह्याचरी स्थापना गर्नसमेत किसानहरुलाई सहयोग उपलब्ध गराएको थियो । माछाका भुरा उत्पादनको लागि समेत अनुदान दिएर सोरहवामा ह्याचरी निर्माण गरिएको कार्यालयले जानकारी दिएको छ ।

 

 
बर्दियामा हाल ४ सय हेक्टर क्षेत्रफलमा ब्यवसायीक रुपमा कृषकहरुले माछा पालन गरेका  छन् । जिल्लामा हालसम्म १३ सय ५१ पोखरीहरु भएकोमा यसवर्ष अनुदानवाट थप करिव ८० पोखरी निर्माण हुने कृषि कार्यालय बर्दियाले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :