पाउडर दूधमा नेपाल आत्मनिर्भर

यो समाचार 244 पटक पढिएको

  • विदेशबाट आयात बन्द
  • वार्षिक ३५ करोड विदेशिनबाट जोगियो

काठमाडौं,  १६ चैत / पाउडर दूधको उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । सरकारले पाउडर उद्योगलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा ५० प्रतिशत छूट दिएको तथा भारतका उद्योगको तुलनामा स्वदेशी उद्योगको उत्पादन लागत कम भएपछि नेपाल पाउडर दूधमा आत्मनिर्भर भएको हो ।

Powder Milk newagrocom

 

 

ऊर्जाको पर्याप्त व्यवस्था र लगानीका लागि सहुलियतमा ऋण उपलब्ध भए केही वर्षभित्रै नेपालबाट पाउडर दूध भारत तथा तेस्रो मुलुकमा निर्यात गर्न सकिने डेरी उद्योग सङ्घका अध्यक्ष प्रदीप महर्जनले बताए । ‘हामीले पछिल्लो १ वर्षका पाउडर दूध आयात गर्न खर्च हुने ३५ करोड रुपैयाँ विदेशिनबाट जोगाएका छौं,’ उनले भने, ‘उद्योग सञ्चालनका लागि सरकारी निकायबाट नीतिगत तथा आर्थिक सहुलियत पाएको अवस्थामा दूध निकासी गरी वार्षिक थप ३५ करोड भियभयाउन सक्छौं ।’

 

 

 

दुग्ध विकास बोर्ड (डीडीबी), कृषि विकास मन्त्रालय र सङ्घको सयुक्त पहलमा अर्थ मन्त्रालयले पाउडर उद्योगलाई ५० प्रतिशत भ्याट अनुदान उपलब्ध गराएको थियो । सङ्घका महासचिव अरनिको राजभण्डारीका अनुसार भ्याट फिर्ताले किसान, उद्योगी तथा सरकार आफैलाई प्रत्यक्ष फाइदा पुगेको छ । ‘गत वर्षसम्म पुसदेखि चैतसम्ममा मात्रै २० करोड रुपैयाँभन्दा बढीको पाउडर दूध आयात हुन्थ्यो,’ उनले भने, ‘तर, यस वर्ष भारतको तुलनामा नेपाली उत्पादन सस्तो भएकाले आयात रोकिएको हो ।’ नेपालमा सञ्चालित तीनओटा पाउडर प्लाण्टबाट दैनिक १ सय ५० लिटर पाउडर दूध उत्पादन भइरहेको सङ्घले बताएको छ ।

 

 
राजभण्डारीका अनुसार चितवन मिल्क प्रालिले दैनिक ८० हजार लिटर, सुजल डेरी प्रालिले दैनिक ४० हजार लिटर र सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक ३० हजार लिटर पाउडर दूध उत्पादन गर्दै आएका छन् । ‘तर, भएका पाउडर प्लाण्टले पूर्ण क्षमतामा दूध उत्पादन गरे निर्यात गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार चितवन मिल्क, सुजन डेरी र डीडीसीको उत्पादन क्षमता क्रमशः दैनिक १ लाख ५० हजार, ६० हजार र ४० हजार लिटर रहेको छ । सङ्घका अध्यक्ष महर्जनले विदेशबाट पाउडर दूध आयात रोकिँदा नेपालमा मिल्क होलिडेको समस्याको अन्त्य भएको बताए । ‘केही वर्ष अघिसम्म पुसदेखि फागुनसम्ममा मिल्क होलिडेका कारण किसानले उत्पादन गरेको दूध विक्री नभएर सडकमा पोख्ने गरेका थिए,’ उनले भने, ‘तर, यस वर्ष उद्योगी किसानका घरघरमा दूध खरीद गर्न गएका छन् ।’

 

 

 

डेरी उद्योग सङ्घमा पुनः महर्जन
नेपाल डेरी उद्योग सङ्घको अध्यक्षमा पुनः प्रदीप महर्जन चयन भएका छन् । शुक्रवार सङ्घको पाँचौं वाषिर्क साधारणसभाले उनको नेतृत्वमा नौ जनाको कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा पुष्पराज बस्नेत, महासचिवमा अरनिको राजभण्डारी र कोषाध्यक्षमा राजकुमार दाहाल चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा पूर्णबहादुर थापा, कमलराज हुमागाईं, मनीष खेम्का, विश्वराम खड्का र कृष्णप्रसाद सापकोटा रहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :