उखु पेल्न ढिलो हुँदा किसानलाई घाटा

यो समाचार 325 पटक पढिएको

वीरगन्ज, १६ चैत / उत्पादन भएका सबै उखु खरिद गर्ने सम्झौता गरेको चिनीमिलले समयमै उखु खरिद नगरेपछि पर्साका उखु उत्पादक किसान छटपटिएका छन्। खेतमा तयार भइसकेका उखुका लाँक्रा घाम र हावा कारण सुक्न लाग्दासमेत पालो नपाएपछि किसान छटपटिएका हुन्।

 

Sugar Factory, Nepal

‘चैत महिनाको प्रारम्भदेखि नै चर्को घामसँगै सुक्खा हावा चल्न थालेकाले खेतमा ठडिएका उखु सुक्न थालेको छ। मिलले चाँडो चाँडो उखु पेले किसानलाई धेरै राहत हुने थियो’, जिल्ला किसान हकहित संरक्षण समिति पर्साका अध्यक्ष सहरुम राउत गद्दीले भने, ‘सुस्तगतिमा काम भइरहेकाले घाटा लाग्ने चिन्ताले किसानको निधारका रेखी गहिरिंदै गएको छ।’

 

 

 

पर्साका किसानले उत्पादन गरेका सबै उखु खरिद गरिदिने आश्वासनसहित बाराको मनहर्वामा अवस्थित रिलायन्स चिनीमिलले गतवर्ष उखुको खेती विस्तारका लागि जिल्लामा अभियान चलाएपछि उखुखेतीमा लाग्ने किसानको संख्या उल्लेख्य वृद्धि भएको छ।

 

 

जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष नौ सय हेक्टर क्षेत्रफलमा उखुखेती लगाइएकोमा यस वर्ष एक हजार चार सय ४० हेक्टर क्षेत्रफलमा पर्साका किसानले उखुखेती गरेका छन्। पर्साका किसानले एक कठ्ठामा करिब ३० क्विन्टल उखु उत्पादन गर्ने गरेका छन्। पोखरिया, वीरञ्चीवर्बा, वसन्तपुर, धोबिनी, मुडली, लंगडी, सेढवा, भवानीपुर, सुपौली, जग्गरनाथपुर, भेडियारी, बिरुवागुठी, बेल्वा, बागवाना, उदयपुरघुर्मी उखुखेती हुने प्रमुख गाविस हुन्।

 

 

 

‘उखु पेल्न ढिलो भए रिकभरि घट्छ’, कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक सुरेश चौरसियाले भने, ‘वैशाख १५ सम्ममा सबै उखु पेल्न सके किसान र मिल दुवै पक्षका लागि फाइदाजनक हुनेछ। चिनीमिलले पुरानो चक्रबाट उत्पादित उखुलाई प्राथमिकतामा राखेर पहिले र नयाँ चक्रबाट उत्पादित उखु पछि पेल्ने भएकाले नयाँबाली लगाएका किसान आत्तिएको प्राविधिक सहायक चौरसियाले बताए।

 

 

 

‘मंसिरदेखि मिल सञ्चालनमा ल्याएर वैशाख दोस्रो सातामा सबै उखु पेलिसक्नुपर्ने भए पनि यस वर्ष झन्डै डेढ महिना ढिलो गरी चिनीमिल सञ्चालनमा आएकाले सबै उखु पेलिनेमा शंका छ। चैत अगावै मिलले उखु खरिद गर्दा किसानले उखुको झार सफाइका लागि नि:शुल्क श्रमिक पाउँथे’, वीरञ्चीबर्वाका किसान शिव तिवारीले भने, ‘अहिले घाम चर्किन थालेकाले पैसाबिना झार सफा गर्न खेतमा कोही पनि जान मानेको छैन। किसानले ढिलो गरी उखु कटानी गर्दा झार सफा गर्न र ट्र्याक्टरमा उखु लोड गर्न प्रतिकठ्ठा करिब दुई हजार रुपैयाँ अतिरिक्त खर्च बहन गर्नुपर्छ।’

 

 

 

यस वर्ष मूल्यवृद्धिलाई लिएर चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच सहमति हुन नसक्दा उखुको मूल्य अझैसम्म निर्धारण नभएकाले किसानले उधारोमै चिनीमिललाई उखु बेचेका छन्। रिलायन्स चिनीमिलका महाप्रबन्धक शिवनाथ शर्माले उखु पेल्ने कार्य नियमित जारी रहेको बताए। उनले भने, ‘किसानले भनेझैं उखु पेल्न कुनै ढिलासुस्ती गरेका छैनौं, आलोपालो गर्दै क्रमबद्ध रूपमा सबैतिरका किसानको उखु किन्दै, पेल्दै गरेका छौं।’

 

 

 

चिनीमिल व्यवस्थापनका अनुसार सोमबार साँझसम्ममा पर्साको मिलनचोक संकलन केन्द्रबाट ८७ हजार दुई सय १३ क्विन्टल, विन्दवासिनीबाट आठ हजार आठ सय ४८ क्विन्टल, पोखरियाबाट ८६ हजार तनि सय ३९ क्विन्टल, मनिहर्वाबाट ४९ हजार चार सय १९ क्विन्टल र सबैठवाबाट ६५ हजार दुई सय ९२ क्विन्टल उखु खरिद गरिएको छ। पुस १२ गतेदेखि यस वर्ष २० लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको रिलायन्सले सोमबारसम्ममा ११ लाख ७० हजार क्विन्टल उखु पेलेको छ।

 

क्षतिपूर्ति माग गर्दै उजुरी
परासी/ उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले जिल्लाका दुई चिनीमिलविरुद्ध ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेको छ। मञ्चले लुम्बिनी चिनी उद्योग सुनवल र बागमती चिनी उद्योग कुडियाले तौलमा बेइमानी गरेर किसानको करिब तीन करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै क्षतिपूर्ति समितिमा उजुरी दर्ता गरेको हो। मञ्चले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ।

 

 

ठगीबारे किसान हकहित संरक्षण समितिले मञ्चमा निवेदन दिएपछि किसानका पक्षमा क्षतिपूर्ति भराउन उपभोक्ता संरक्षण एेन २०५४ र नियमावली २०५६ अनुसार उजुरी दर्ता गराएको मञ्चका अध्यक्ष रामजी ज्ञवालीले बताए। क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक रहने प्रावधान छ।

 

 

उखु तौलमा ठगी गरेको उजुरी परेपछि महिना दिनअघि उद्योग मन्त्रालयले छानबिन टोली पठाई उद्योगमा अनुसन्धान गराएको थियो। अनुसन्धानबाट उद्योगले ठगी गरेको देखिए पनि हालसम्म ती दुवै उद्योगलाई कुनै कारबाही भएको छैन। उद्योगले एक ट्याक्टर उखु तौल गर्दा तीनदेखि आठ क्विन्टलसम्म ठगी गरेको पाइएको थियो। मञ्चका अध्यक्ष ज्ञवालीका अनुसार लुम्बिनी चिनी उद्योगले ६० लाख र बागमती चिनी उद्योगले एक करोड ९२ लाख रुपैयाँ ठगी गरेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :