समयमै कारखाना पुर्‍याउन नसक्दा चियापत्ती नष्ट

यो समाचार 159 पटक पढिएको

म्याङ्लुङ,१६ चैत / हरियो चियापत्ती समयमा नै कारखानामा पुर्‍याउन नसक्दा तेह्रथुममा वार्षिक १३ लाख रुपैयाँभन्दा बढीको नोक्सानी हुने गरेको छ। चिया उत्पादक सहकारी संघ तेह्रथुमले ग्रामीण क्षेत्रमा उत्पादित हरियो चियापत्ती प्रशोधन कारखानामा पुर्‍याउन नसक्दा बर्सेनि २५ हजार किलोभन्दा बढी हरियो चियापत्ती खेर गइरहेको जानकारी दिएको छ।
Tea Farm
यातायात अभावका कारण ग्रामीण क्षेत्रको चियापत्ती कारखानामा पुर्‍याउन नसकिएको हो। उनका अनुसार खेर गइरहेको चियापत्तीको मूल्य हालको मूल्यअनुसार १३ लाख ६२ हजार पर्छ।

तेह्रथुमका किसानले हरियो चियापत्तीको मूल्य प्रतिकिलो ५४ रुपैयाँ ५० पैसासम्म पाउँदै आएका छन्। जिल्लाको मोराहाङ, श्रीजुङ, पौंठाक, ओयाक्जुङ, जल्जले, इसिबुलगायतको क्षेत्रका चियापत्ती खेर जाने गरेको छ। यी गाविसमा चार सय रोपनीमा चिया लगाइए पनि सडक सुविधा नहुँदा समस्या भएको हो।

 

 

 

 

चियाखेती लगाए पनि उत्पादित हरियो पत्तीबिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन्। चियाखेती लगाइए पनि उत्पादित हरियो पत्ती बिक्री गर्न नपाउँदा ग्रामीण क्षेत्रका किसान मर्कामा परेको जनहित चिया उत्पादक सहकारी संस्था ओयाक्जुङका अध्यक्ष गणेश ढुंगेलले बताए। ‘केही वर्षअघि चियाखेतीप्रति किसानमा उत्साह थियो’, उनले भने, ‘तर उत्पादित हरियो पत्ती बिक्री गर्न नपाउँदा अहिले किसानमा निराशा बढेको छ।’

 

 

 

जिल्लामै चिया प्रशोधन कारखाना नहुँदा किसान मर्कामा परेको उनको भनाइ छ। ‘नजिकै चिया प्रशोधन कारखाना छैन, टिपेको चार घन्टाभित्रै हरियो पत्ती प्रशोधनमा लगाउनुपर्छ’, ढुंगेलले भने, ‘ग्रामीण क्षेत्रबाट पत्ती लैजान धेरै समय लाग्ने भएकाले किसान समस्यामा छन्।’ समयमै कारखानामा पुर्‍याउन नसक्ने भन्दै धनकुटास्थित चिया कम्पनी ग्रामीण क्षेत्रको हरियो पत्ती खरिद गर्न मानेका छैनन्।

 

 

जिल्लामा उत्पादित हरियो पत्ती धनकुटास्थित गुराँसे टि-स्टेट र कुवापानी टि-स्टेटले खरिद गर्दै आएका छन्। तेह्रथुममा तीन हजार ६ सय ९२ रोपनीमा चिया खेती लगाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना सोल्माका प्रमुख विजय मिश्रले जानकारी दिए। उनका अनुसार जिल्लामा ४ वटा टि-स्टेट, १० वटा चिया उत्पादक सहकारी संस्था र पाँच सय २६ किसान चियाखेतीमा संलग्न छन्।

 

 

जिल्लामा वार्षिक डेढ लाख किलो अर्थात ८१ लाख रुपैयाँभन्दा बढीको हरियो पत्ती उत्पादन भइरहेको चिया विस्तार योजनाले जनाएको छ। सरकारले २०४१ सालमा तेह्रथुमको सोल्मामा चिया विकास निगमको शाखा कार्यालय स्थापना गरेपछि जिल्लामा चियाखेती सुरु भएको थियो। तर, प्राविधिक ज्ञानको अभाव र हरियो पत्तीको बिक्रीमा समस्या भएकाले चियाखेतीले व्यावसायिक रूप लिन सकेको छैन।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :