बाँकेमा कृषि उत्पादन बढाउन रणनीति सार्वजनिक

यो समाचार 194 पटक पढिएको

बाँके, १५ चैत/  जिल्लामा कृषि उत्पादन बढाउन २३औं जिल्ला परिषद्ले विभिन्न रणनीति पारित गरेको छ । जिल्ला विकास समिति बाँकेले आगामी आर्थिक वर्ष ०७१/७२ मा उच्च प्राथमिकतामा राख्दै कृषिक्षेत्रको विकासका लागि गरिने विभिन्न रणनीति सार्वजनिक गरेको हो ।
Dhankutanewsagro

 

परिषद्ले बाँकेको कृषि उपजलाई सही मूल्य उपलब्ध गराउन कृषि बजारको विकास एवम् विस्तार गर्दै लैजाने बताएको छ । यसबाट आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बाँकेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र ढकालको भनाइ छ । 

 

 
कृषिक्षेत्रको समग्र उत्पादन र उत्पादकत्व बढाउन बीजवृद्धि, च्याउ, मौरीपालन, साना सिँचाइ, सहकारी सिँचाइ, युवा स्वरोजगार, माछापोखरी निर्माणलगायत कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको उनले बताए । साथै, प्याज उत्पादनलाई प्रोत्साहन दिँदै निर्यात प्रवद्र्धन गर्न प्याज भण्डारण गृह निर्माण गरिने पनि ढकालले जानकारी दिए । उनका अनुसार परिषद्ले आन्तरिक एवम् बाह्य माग सम्बोधन गर्न र रोजगारी वृद्धि गरी किसानको आयस्तरमा सुधार ल्याउन तरकारी र फलफूलको पकेट क्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । कृषिक्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागू गर्न बाली छनोट गरिनेसमेत उनले बताए । ‘कुन बाली छनोट गर्दा राम्रो हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने ।

 

 

कृषि उत्पादनका लागि बाँके उर्वर भएकाले कृषि उत्पादनलाई बढाउन परिषद्ले विशेष प्राथमिकतामा राखेको ढकालले बताए । अहिले जिल्लाका गाउँगाउँमा सडक सञ्जाल विस्तार भइरहेकाले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उनको विश्वास छ । परिषद्ले आगामी आर्थिक वर्षका लागि रू. ३ अर्ब ४५ करोड ४२ लाखको बजेटसमेत सार्वजनिक गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :