सहकारीमार्फत कृषिको व्यवसायीकरणमा जोड

यो समाचार 199 पटक पढिएको

काठमाडौं, १५ चैत / कृषि क्षेत्रको व्यवसायीकरणका लागि सहकारीको पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । बिहीबार सम्पन्न सहकारी महासम्मेलनले जारी गरेको घोषणापत्रमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारी क्षेत्रको पहुँच वृद्धि गर्दै लैजाने घोषणा गरिएको छ । 

Agriculture-land-300x205हाल नेपालमा ३० हजार सहकारी दर्ता भए पनि ६५ प्रतिशत सहकारी वित्तीय कारोबारमा मात्र केन्द्रित छन् । सरकारले समेत पछिल्लो समयमा कृषि सहकारीको दर्तालाई प्रोत्साहन गर्दै आएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा राष्ट्रिय सहकारी संघको संयुक्त आयोजनामा भएको महासम्मेलनले नेपालका सहकारीले प्रकृति र भौगोलिक आधारमा वर्गीकरण गर्ने विषयसमेत अघि सारेको छ । महासम्मेलन चलिरहेका बेला ओरेन्टल सहकारी संस्थाका पीडितहरूले आन्दोलन गरे पनि महासम्मेलनमा औपचारिक रूपमा बचत तथा ऋण सहकारीका समस्याबारे छलफल भएन । घोषणपत्र पनि सहकारी क्षेत्रमा देखिएको समस्याबारे खासै सम्बोधन भएको छैन ।
घोषणापत्रले सहकारीमा स्वनियम हुनुपर्नेमा जोड दिने, सबै संघसंस्थाहरूलाई सम्बन्धित संघमा आबद्धता गराउँदै थप सक्षम बनाइ नियमन कार्यलाई प्रभावकारी बनाउने  र अनुगमनका लागि सहकारी अभियानको समेत संलग्नतामा छुट्टै संयन्त्र गठन गर्न पहल गर्ने उल्लेख गरिएको छ ।
समस्याग्रस्त सहकारीको अध्ययन गर्नका लागि गठित जाँचबुझ आयोगमा १ सय ३० वटा सहकारीले सदस्यको बचत फिर्ता नगरेको उजुरी परेको छ । उजुरीका आधारमा सहकारीमा १० अर्ब ठगी भएको आयोगले जनाएको छ ।
सम्मलनले जारी गरेको ११ बुँदे घोषणापत्रमा सहकारीका विषयगत ऐनहरूको तर्जुमा गर्ने, विद्यमान ऐन, कानुन, नीति नियम, कर व्यवस्थालाई सहकारी मैत्री बनाउन पहल गर्ने, विश्वका उत्कृष्ट अभ्यास र प्रविधिहरूलाई आत्मसाथ गर्दै सहकारीको मूल्य, सिद्धान्त र आदर्शअनुरूप संघसंस्था सञ्चालन गर्ने, तालिम र सूचना प्रणालीमा पहुँच वृद्धि गर्दै दक्ष जनशक्ति विकास गर्ने, समतामूलक समाज निर्माणमा सहकारी क्षेत्रको योगदानमा वृद्धि गराउनेलगायतका घोषणा गरिएको छ ।
यसैबीच बिहीबार महासम्मेलनको समापन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सहकारी आफ्नै खुट्टामा उभिने व्यवसाय भएको बताए । आर्थिक विकासमा सहकारीले प्रतिबद्व भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले त युवाशक्तिलाई विदेश पलायन हुनबाट बचाउन सक्नुपर्नेमा जोड दिए ।
नेपालामा सिस्टम बस्न नसकेको स्वीकार गर्दै प्रधानमन्त्री कोइरालाले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सहकारी क्रियाशील हुनुपर्ने बताए । सहकारीमार्फत केही गर्न सक्ने अठोट लिनुपर्ने सहकारीका अगुवाहरूलाई उनको सुझाव थियो ।
अन्तराष्ट्रिय सहकारी महासंघकी अध्यक्ष डेम पाउलिन ग्रीनले नेपालमा सहकारी समस्या देखेर आफूलाई दुःख लागेको बताइन् । यहाँको सहकारी समस्याले मलाई अचम्मित बनाएको छ, उनले भनिन् । देशको आर्थिक विकासका लागि सहकारी सस्टेनेबल हुन र आवश्यक भएको बताइन् । छिमेकी मुलुक भारतको सहकारी उत्कृष्ट भए पनि नेपालका सहकारीले त्यसबाट सिक्न नसकेको उनको गुनासो थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :