लमजुङमा चैते धान रोपाइँ शुरु

This post has already been read 160 times!

लमजुङ, १५ चैत /  पहाडी जिल्ला लमजुङका नहर तथा कुलो लाग्ने विभिन्न गाविसमा चैते धान रोपाइँ सुरु भएको छ । चैतको दोस्रो सातादेखि चैते धान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ । 
Paddy

जिल्लाका अधिकांश धान उत्पादन हुने क्षेत्रमा सिँचाइ सुविधा नभएकाले थोरै गाविसमा मात्र चैते धान रोपिने गरेको जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ । लमजुङको दुराडाँडा, सुन्दरबजार धमिलिकुवा, चक्रतिर्थ, भलायखर्क, चण्डीस्थान, भोर्लेटार, इशानेश्वर, करापु लगायतका स्थानमा चैते धान रोपाइँ भइरहेको छ । चर्कतिर्थ, धमिलिकुवा लगायतका ठाउँहरुमा ४० प्रतिशत धान रोपाई कार्य सकिसकेको जिल्ला कृषि विकास कार्यालय लमजुङका कृषि प्रसार अधिकृत सन्तोष चौधरीले जनाकारी दिए ।
जिल्लाको कूल ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतियोग्य भएपनि १६ हजार हेक्टरमा मात्र बर्खे धान लगाइन्छ । सिञ्चाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । यस्तै बाह्रै महिना सिञ्चाईको ब्यबस्था भएका गाविसहरुमा पनि पर्याप्त मात्रामा धान खेती हुन सकेको छैन् । केही अपबादलाई हेर्ने हो भने पूर्वी लमजुङका भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा गाउँ विकास समिति अन्तर्गतका खेतमा सिञ्चाइ गर्न ल्याइएको राइनस सिञ्चाइ आयोजनाबाट त्यहाँका किसानले पर्याप्त मात्रामा फाइदा लिन सकेका छैनन् ।
३५÷४० बर्ष पहिले नहर निर्माण भएपनि त्यहाँका किसानहरुले अझैपनि धान तथा तरकारी खेतीमा ब्यबसायिकता अपनाउन सकेका छैनन् । ३५ करोड रुपैयाँको लागतमा २०३५ सालमा राइनास सिञ्चाइ आयोजना निर्माण भएपनि नहरको पानीको समुचित प्रयोग भने भएको छैन । बर्षायाममा धान खेतीमा बाहेक नहरको पानी अन्यत्र प्रयोग भएको पाइँदैन । सिञ्चाइको राम्रो व्यवस्था भएपनि हिउँदमा अधिकांश खेतीयोग्य भुमि बाँझै छन् ।
मर्मत सम्भारको नाममा वर्षेनी लाखौ रुपैया नहर मर्मतमा खर्च हुदै आएको छ तर नहरको पानीको सदुपयोग भने राम्ररी हुन सकेको छैन । त्यहाँका किसानहरु बर्षायाममा मात्र खेतमा धान रोप्छन्, धान पाकेपछि पुनः बर्षामा धान रोप्ने समय नहुँदासम्म खेत बाँझै रहने गरेको छ । चेपे खोलाको नहरबाट ८ हजार हेक्टर क्षेत्रफलमा सिञ्चाइ सुविधा पुग्ने क्षमता छ । अधिकांश युवाहरु उच्च शिक्षा तथा रोजगारका क्रममा गाउँबाहिर रहेका हुनाले पनि जनशक्ति अभावका कारण कृषिको ब्यवसायिक विकास हुन नसकेको स्थानीयबासीहरु बताउँछन् ।