च्याउ खेतीबाट मासिक २५ हजार

यो समाचार 265 पटक पढिएको

आफूले लगाएको च्याउ देखाउँदै तेह्रथुम तम्फुलाकी कृष्णमाया रसाइली। म्याङ्लुङ, १५ चैत /  पैंसा कमाउन विदेश गइरहनुपर्दैन, जाँगर गरे गाउँमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी छन् तेह्रथुम तम्फुला ६ की कृष्णमाया रसाइली। व्यावसायिक च्याउ खेती गरेर उनले घरमै बसीबसी राम्रो कमाइ गरेकी छन्। गाउँका युवा पैसा कमाउन विदेशतर्फ गइरहेका बेला २७ वर्षीया कृष्णमाया भने व्यावसायिक च्याउ खेतीमा मस्त छिन्। यसैबाट उनले मासिक २० देखि २५ हजार रुपैयाँसम्म कमाइ गरिरहेकी छिन्।

चार वर्षअघि च्याउ खेती सुरु गरे पनि दुई वर्षयता व्यावसायिक रूपमा खेती लगाएको उनले बताइन्। ‘दुई वर्षसम्म त च्याउ खेती गरेर अनुभव मात्र लिइयो’, उनले भनिन्, ‘त्यसपछि भने राम्रो आम्दानी दिन थालेको छ।’ उनका अनुसार सातामा ३० देखि ३५ किलोसम्म च्याउ उत्पादन हुन्छ। उनले उत्पादन गरेको च्याउ बजार पुर्‍याउनै पर्दैन, ग्राहक घरसम्मै आएर किनेर लैजान्छन्।

 

 

‘स्थानीय बजारमा च्याउको माग उच्च छ’, उनले भनिन्, ‘ग्राहकको मागअनुसार उत्पादन गर्न सकिएको छैन।’ स्थानीय म्याङ्लुङ बजारबाट मात्र दैनिक २५ किलोसम्म च्याउको माग आउने गरेको उनले बताइन्। च्याउ घरैमा प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ। कृष्णमायाले एक लटमा डेढ सय पोकामा कन्ये जातको च्याउ लगाउने गरेको जानकारी दिइन्।

 

 

‘एक वर्षमा चार लट खेती लगाउँछु’, उनले भनिन्, ‘एकपटक लगाएको च्याउ तीनपटकसम्म राम्रो उत्पादन हुन्छ।’ एक पोकामा तीनदेखि चार किलोसम्म च्याउ उत्पादन हुने कृष्णमायाले बताइन्। च्याउँको आम्दानीको छुट्टै हिसाब नराखे पनि एक लाख रुपैयाँबाट सुरु गरेको च्याउ खेतीमा अहिले पाँच लाख रु पैयाँ लागत पुगिसकेको उनले जानकारी दिइन्। कृष्णमायाका अनुसार जाडोमा च्याउ लगाएको डेढ महिनामा र गर्मीमामा २२ देखि २५ दिनमा टिप्न सकिन्छ।

 

 

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृष्णमायाले खेती विस्तार गरी दुई महिलालाईरोजगारी दिएकी छन्। च्याउ खेती लगाउन, हेरचाह गर्न र ग्राहकको घरसम्म च्याउ पुर्‍याउन दुईजना महिलालाई काम दिएको उनले बताइन्। उनले एकजना कामदारलाई मासिक तीन हजार पाँच सय र अर्कीलाई मासिक चार हजार रुपैयाँ दिएर काममा लगाएकी छन्।

 

 

काठमाडौंबाट च्याउको बीउ ल्याई खेती सुरु गरेकी उनले हाल भने उर्लाबारी मसरु म फर्मबाट बीउ ल्याउने गरेकी छन्। च्याउ खेतीका लागि पराल टुक्र्याएर पकाएपछि करिब पाँच किलोग्रामको पोका बनाएर बीउ मिलाएर प्लास्टिकमा प्याक गर्नुपर्ने उनले बताइन्। कृष्णमायाका अनुसार च्याउलाई बन्द अँध्यारो कोठामा लगाउनु पर्ने र ढुसी तथा भुसुनाबाट जोगाउन चुन प्रयोग गनुपर्ने हुन्छ। च्याउ खेतीका लागि कृष्णमायालाई उनका पति राजु रसाइलीले पनि सहयोग गर्दै आएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :