धराशायी कपास समिति नाफामा

यो समाचार 227 पटक पढिएको

बर्दिया,  १३ चैत / सशस्त्र द्वन्द्वका क्रममा चौपट भइसकेको खजुरास्थित कपास विकास समितिको आर्थिक अवस्थामा सुधार आएको छ । पूर्ण रूपमा डुबिसकेको समितिले कपास खेतीलाई पुनः निरन्तरता दिएपछि अवस्था सुधार हुँदै गएको हो । यस वर्ष १ करोड ४० लाख रुपैयाँको कपास बिक्री गरेको समितिका कार्यकारी प्रमुख वीरबहादुर सिंहले बताए । स्थानीय बजारमा १ सय ९५ टन कपास खपत भएको उनलेबताए । चार वर्षयता समिति नाफा कमाउन सफल भएको छ ।

Cotton

शून्यबाट काम सुरु गरेको समिति हाल ५३ लाख ५१ हजार नाफामा पुगेको छ । त्यसअघि ५१ लाख ५७ हजार नाफा गरेको थियो । आर्थिक वर्ष ०६६/०६७ मा २ लाख ८८ हजार र त्यसपछि ३१ लाख ९९ हजार नाफा समितिले कमाएको थियो ।

 

 

 

‘द्वन्द्वका बेला बाँके र बर्दियामा रहेका समितिको स्वामित्वमा रहेको घर, करखाना, मेसिन र सवारी साधनमा आगजनी भए । ५ करोड २१ लाखको क्षति भयो । चार वर्षसम्म हामी शून्यमा झर्‍यो,’ समितिका प्रमुख सिंहले भने, ‘फेरि शून्यबाट सुरु गरेर हाल नाफा कमाउन सफल भएका छौं ।’

 

 

०३९ मा समिति स्थापना गरिएपछि मध्यपश्चिमका जिल्लाभरि कपास खेती विस्तार भएको थियो । २०५५ सालसम्म कपास खेतीका लागि स्वर्णकाल मानिन्छ । त्यतिबेला ५ हजार हेक्टरमा कपास खेती विस्तार भएको थियो भने ३५ मेटि्रकटन उत्पादन हुने गरेको थियो । समितिको आर्थिक अवस्था शून्यमा झरेपछि कपास खेती ठप्प भएको थियो । १ सय ५० मध्ये १७ कर्मचारीबाहेकले स्वैच्छिक अवकाश लिएका थिए । हाल समितिमा जम्मा १७ कर्मचारी मात्रै कार्यरत छन् ।

 

 

हाल समितिले बाँकेको खासकुस्मा, चनापुर, कम्दी बर्दियाको जमुनी र दाङको पुरनधारा, पञ्चकुले, श्रीगाउँ, धनौरी, फूलबारी र गोलटाकुरीमा ३ सय बिघा जग्गामा खेती सुरु गरेको छ । नाफामा समिति जान थालेेपछि कपास खेती विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीको बेरुजुका कारणले पनि समिति धराशायी बनेको थियो । २०६० सम्म २४ करोड ५३ लाख १९ हजार बेरुजु रहेको समितिले जनाएको छ । तर ताकेतापछि धेरै रकम उठेको र हालल ४५ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :