चिया उद्योगमा भारतीय कम्पनीको स्वामित्व

This post has already been read 225 times!

इलाम, १३ चैत / पूर्वका हजारौं किसान र मजदुरले नगद आर्जनको मुख्य स्रोत बनाएको नेपाली चिया उद्योग भारतीय व्यापारीको स्वामित्वमा गएको छ। सरकारी उदासीनताका कारण स्वदेशी उद्यमी सन्तुष्ट नभइरहेका बेला भारतीय व्यापारीले चिया उद्योग आफ्नो हातमा लिएका हुन्।इलामका २५ ठूला कारखानामध्ये एकपछि अर्को गर्दै १० वटाको स्वामित्व भारतीय व्यापारीले लिइसकेका छन्। तीमध्ये भारतीयले सातवटा पूर्णरुपमा किनेका हुन् भने तीनवटाको मार्केटिङ जिम्मा लिएका हुन्।

Tea Farm

विदेशी बजारमा माग भएअनुरुप तयारी चियाको गुणस्तर कायम गर्न नसकेपछि घाटा सहँदै आएका स्वदेशी उद्योगीले कारखानाको स्वामित्व भारतीयलाई दिन ‘बाध्य’ भएको बताएका छन्। यसै मौसमदेखि लागू हुने गरी बालाजी एग्रो, जयश्री टी, एकर्ड इन्टरनेसनल जस्ता भारतीय कम्पनीले नेपाली चियामा एकाधिकार जमाउने गरी लगानी गरेका हुन्। ‘घाटामा चलाउनु परेको’ भन्दै स्वदेशी उद्यमीले चिया उद्योग भारतीयलाई बिक्री र हस्तान्तरण गरेपछि किसान अन्योलमा छन्।

 

 
पहिलेदेखि नै चिया व्यापार गरिरहेका कोलकाताका सोमेस अग्रवालले इलामका धेरैवटा कारखानामा लगानी गरेका छन्। साँखेजुङको साखिरा टी, आइतबारेको इलाम चियाबारी टी, फिक्कलको स्मल टी, पञ्चकन्याको सिद्धिविनायक टी, बरबोटेको मेची भ्याली टीलगायत कारखाना अग्रवालले लिएका छन्। माइपूर्वका १९ चिया कारखानामध्ये धेरैजसोमा भारतीयकै लगानी प्रवेश भइसकेको छ। नेपाली उद्यमीको हातमा चल्ने कारखाना थोरैमा सीमित भएका छन्।

 

 
‘फस्टाउँदै गरेको चिया उद्योग हेर्दाहेर्दै भारतीयका हातमा जानु बिडम्वनापूर्ण कुरा हो। स्वदेशी उद्यमीलाई सरकारले सहयोग नगर्दा यस्तो दुर्दशा निम्तिएको हो,’ सुन्दरपानीस्थित गोर्खा टी स्टेट सञ्चालक उदय चापागाईंले भने, ‘भरखरै स्थापित हुन लागेको उद्योग भारतीयको स्वामित्वमा जाँदा नेपाली किसान, मजदुर र व्यापारीलाई दीर्घकालीन असर पर्छ।’ भारतीयले लिन चाहे पनि नदिइएका कारखानामा गोर्खा, हिमालयन सांग्रिला, मिस्टभ्याली, इलाम टीलगायत छन्।

 

 
संसारमै ख्याती कमाउज सफल ‘दार्जिलिङ टी’सँग नेपाली चियाले प्रतिस्पर्धा गर्न थालेपछि लोभिएका भारतीय व्यापारी इलामको चिया उद्योगमा भित्रिएका हुन्। दार्जिलिङको चियालाई धेरैतिर फैलाउन सफल उनीहरुले त्यो बजार नेपाली चियाले खोस्ने बुझेर हतारमा लगानी गरेका हुन्। सीधै किन्दा अप्टेरो पर्ने भएपछि भारतीय व्यापारीले कतिपय कारखानामा दार्जिलिङतिरका नेपालीभाषीलाई अघि सारेर लगानी गरेका छन् भने कतिपयमा खुलेरै। त्यो क्रम अझै जारी छ।

 

 
‘सरकारले चासो नदिने हो भने सबै चिया कारखाना भारतीयले किन्ने पक्का छ,’ राष्ट्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले भने, ‘बिरुवा रोप्ने, हुर्काउने, पत्ती टिप्ने र बगान फैलाउने काममा दक्ष नेपालीले कारखाना चलाउन र बजार विस्तार गर्न चाहिँ नसकेजस्तो देखियो, यो राम्रो होइन।’

 
नेपाली उद्यमीलाई ‘अक्षम’ सावित गर्दै भारतीयले चियामा लगानी गर्न लाग्नुलाई सरकारले गम्भीरतापूर्वक नलिएको ठान्ने उनी चिया उद्योगमा गुम्दै गएको स्वामित्व तुरुन्तै फर्काउनुपर्ने बताउँछन्।

 

 
हरियो पत्ती बढ्दा कारखाना खुल्ने क्रम तीव्र भएर प्रतिस्पर्धा चुलिएको थियो। इलाममै २५ कारखाना स्थापना भइसकेको अवस्थामा सबैमा क्षमताअनुसारको हरियो पत्ती संकलन हुँदैनथ्यो।

 
तीनघरेस्थित इलाम टी प्रोड्युसर्स प्रालिले तयारी चिया उत्पादन घट्दा पोहोर अढाइ करोड जति घाटा बेहोरेको थियो। ‘हाम्रो जस्तै घाटा बेहोर्नु परेपछि अत्तालिएका उद्यमीले कारखानाको स्वामित्व भारतीयलाई दिएका हुन्,’ इलाम टीका प्रबन्ध देवेन्द्र संग्रौलाले भने, ‘यस्तो बेला सरकारले हेर्नुपर्थ्यो।’

 
दार्जिलिङमा नयाँपुराना ८७ वटा कारखानाबाट वार्षिक ९० लाख किलो तयारी चिया उत्पादन हुन्छ। त्यसको ठूलो व्यापार कोलकातामा हुन्छ। तेस्रो मुलुक निकासी हुने क्रम पनि उत्तिकै छ। ‘नेपाली चियाको गुणस्तर दार्जिलिङकै जत्तिको भएपछि बढी नाफा कमाउन भारतीयले यता लगानी गरेका हुन्,’ चापागाईंले थपे, ‘सुरुमा तयारी, चिया खरिदकर्ता हुँदै चिया उद्योगमा आँखा गाडेका भारतीयले अहिले कारखानाकै मालिक हुनु दुःखको कुरा हो।

 

हरियो पत्ती उत्पादन सुरु भइसकेकाले चिया कारखाना यसै सातादेखि चल्ने तरखरमा छन्। यसपल्ट किसानले उत्पादन गरेको पत्तीले उचित मूल्य नपाउने धेरैको शंका छ। ‘एउटै भारतीय व्यापारीले १० कारखानामा लगानी गरेपछि उसको एकाधिकार हुन्छ, किसानले रोजी रोजी पत्ती बेच्न पाए पो धेरै मूल्य पाउँछन्,’ चिया क्षेत्रमा लामो समय काम गरेका एक प्राविधिकले भने, ‘भारतीयले निश्चित मूल्य तोकेर त्यसभन्दा नबढाउने भएपछि किसानले सस्तोमै बेच्न बाध्य हुनुपर्छ, यसले धेरै मर्का पर्छ।’