झुसिल्कीराको महामारी नियन्त्रण गर्न आग्रह

This post has already been read 133 times!

पाँचथर,१३ चैत / राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले जिल्लाका केही भागमा फैलिएको झुसिल्कीराको प्रकोप तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । संगठन विस्तारको क्रममा जिल्लाको उत्तरी भेगको भ्रमणमा रहनुभएका लावतीसमक्ष स्थानीय वासीन्दाले प्रकोप नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेपछि उहाँले सरकारसमक्ष उक्त माग गर्नुभएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सिदिन, मेमेङ, एकतीन, प्राङबुङलगायतका गाविसमा झुसिल्कीराको प्रकोप बढेपछि स्थानीयहरु त्रसित भएका छन् ।

 

Insectतीन महिना अगाडि फाट्टफुट्ट देखापरेका झुसिल्कीराले अहिले महामारीको रुप लिएको छ । उत्तिस, गुराँस, अम्लिसोलगायतका बोटविरुवा, घाँसपात झुसिल्कीराले सखाब बनाएको छ । वनस्पतिमा मात्र नभएर यसले मानीसमा समेत असर पार्न थालेको छ । त्यस क्षेत्रका विद्यालयहरुमा झुसिल्कीराको प्रकोपकै कारण विद्यार्थीहरुलाई कक्षाकोठा बाहिर नै पढाउन थालिएको छ ।

 

 

झुसिल्कीराको कारण विद्यार्थीहरु डेक्सबेञ्चमा बस्न नसक्ने भएका कारण बाहिर नै पढाउनुपर्ने वाध्यता भएको बताइएको छ । राती सुतेको समयमा ओच्छ्यानमै झुसिल्कीरा पसेर दुःख दिन थालेपछि मानीसहरुले राम्रोसँग निद्रा समेत पाएका छैनन् भने केहीलाई जिउ चिलाउने रोग नै सुरुभएको छ ।

 

 

बाक्लो रुपमा झुसिल्कीरा देखिन थालेपछि स्थानीयबासीले नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालयलगायतका निकायमा खबर गरेपनि हालसम्म कुनै सुनुवाई नभएको त्यस भेगका वासीन्दाको गुनासो छ । क्रमशः अन्य गाविसहरुमा पनि फैलीदै गएको झुसिल्कीराको प्रकोपलाई समयमै नियन्त्रण नगरिए त्यसले महामारीको रुप लिने स्पष्ट देखिएको छ ।