कृषिमा प्राविधिक जनशक्ति अभाव हटाउँदै नार्क

यो समाचार 294 पटक पढिएको

काठमाडौं, १३ चैत / लामो समयदेखि जनशक्ति अभाव झेलिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अब क्रमशः दक्ष जनशक्ति पाउन थालेको छ ।

 

Narc logo

गैरसरकारी संस्थाको आकर्षक सुविधा र विदेश पलायनका कारण नार्कमा विगत केही वर्षदेखि वैज्ञानिक तथा प्राविधिकको अभाव रहँदै आएको थियो । विगतमा वैज्ञानिक तथा प्राविधिक अभावको सामना गरिरहेको नार्कले क्रमशः रिक्त जनशक्तिको पदपूर्ति गरिरहेको नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक टेकबहादुर गुरुङले बताए । उनले खाद्यान्न, खाद्य प्रविधि, फलफूल, बागवानी, पशुपक्षी, मत्स्य, पशु प्रजननलगायत क्षेत्रको अनुसन्धानमा पदपूर्ति भइरहेकाले छिट्टै सबै क्षेत्रमा कर्मचारी आउने जानकारी दिए ।

 

 

हाल ४ सय १३ जना वैज्ञानिकको दरबन्दी रहेको नार्कमा १ सय ५ पदमात्र रिक्त छ । त्यस्तै, प्राविधिक अधिकृतको कुल ४ सय १३ दरबन्दीमा ७४ पदमात्र रिक्त छ । प्राविधिकमा देशभरको ५ सय ८८ दरबन्दीमध्ये १ सय ७१ दरबन्दी रिक्त छ । देशभर नार्कका ५६ ओटा क्षेत्रीय तथा जिल्ला कार्यालय छन् । यी पदमा पनि केही समयभित्रै जनशक्ति पूर्ति हुने नार्कको दाबी छ ।

 

 

नार्कले विशेषगरी फलफूल, पशुपक्षी, माटो, प्याथोलोजी, विषादीलगायत क्षेत्रमा दक्षता हासिल गरेका वैज्ञानिकको अभाव रहेको बताएको छ । कृषिक्षेत्रसँग सरोकार राख्ने विज्ञहरूले वैज्ञानिक अभावका कारण नार्कले राम्रो काम गर्न नसकेको बताउँदै आएका छन् । तर, पछिल्लो समयमा भएको बजेट वृद्धिले भने यसमा सुधार आउन थालेको बताइएको छ । करीब २ दशकअघि स्वायत्त निकायका रूपमा स्थापना भएको नार्कले एक दर्जनभन्दा बढी बालीका २ सय ४४ भन्दा बढी जातको अध्ययन गरी किसानलाई सिफारिश गरिसकेको छ ।

 

 

नेपालमा कृषिबाली, बागवानी, पशुपक्षी, माछा र प्राङ्गारिक विषादी क्षेत्र अध्ययन गर्ने काममा न्यून जनशक्ति छ । नार्कको केन्द्रीय, क्षेत्रीय एवम् जिल्लास्तरीय गरी ५६ कार्यालयमा कुल १ हजार ८ सय २३ जना कर्मचारीको दरबन्दी छ । विगत केही वर्षयता नेपालका कृषि वैज्ञानिक तथा प्राविधिकहरू अमेरिका, यूरोपलगायतका मुलुकमा पलायन हुन थालेपछि नार्कमा जनशक्ति अभाव भएको हो । नार्कमा मासिक २३ हजार रुपैयाँ तलब पाउने वैज्ञानिकले गैरसरकारी संस्थामा १ लाखभन्दा बढी पाउने भएपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

 

 

हाल चितवनस्थित रामपुर क्याम्पसबाट मात्र नेपालमा कृषि विषयमा स्नातक र स्नातकोत्तर तहको अध्ययन हुने गरेकाले देशका अधिकांश विद्यार्थी कृषिशिक्षाबाट वञ्चित हुने गरेका छन्, जसका कारण कृषि अध्ययन गर्ने विद्यार्थी अन्य विषयका भन्दा कम छन् । देशमा मुख्य फलफूल बाली सुन्तलाका लागि पर्याप्त वैज्ञानिक नहुँदा नयाँ जातको विकास गर्न तथा यसमा लाग्ने रोग पत्ता लगाउन अहिलेसम्म सकिएको छैन । बजारमा दक्ष जनशक्ति पर्याप्त नहुँदा र काम गर्नेका लागि उचित सेवासुविधा नहुँदा कृषिक्षेत्रमा काम गर्ने वैज्ञानिकको सङ्ख्या वर्षेनि घट्दै गएको हो ।

 

 
सरकारले केही वर्षयता अनुसन्धानमा बजेट वृद्धि गर्दै गए तापनि जनशक्ति अभावका कारण प्रभावकारी ढङ्गले काम अगाडि बढाउन नसकिएको वरिष्ठ बालीविज्ञ भोलामान सिंह बस्नेतले बताए । ‘देशले दक्ष कृषि प्राविधिकको अभाव झेलेका बेला सरकारले अवकाश लिएका दक्ष एवम् अनुभवी कर्मचारीलाई नै भए पनि पुनः काममा फर्काउन सक्ने नीति बनाउनुपर्छ,’ उनले भने ।

 

 

नार्कका अनुसार एउटा धानको प्रविधि अनुसन्धान गरी किसानसमक्ष पुर्‍याउन १२ देखि १५ वर्ष लाग्ने गरेको छ । देशमा जनशक्ति अभावकै कारण माटो विज्ञान र बाली रोग विज्ञानमा आवेदन न्यून पर्ने गरेको छ । वैज्ञानिक क्षेत्रमा प्रवेश गर्नका लागि सम्बन्धित विषयमा एमएससी गरेको योग्यता आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति अभाव रहेको नार्कको भनाइ छ । पुराना र अनुभवी वैज्ञानिकले उमेरका कारण अवकाश पाउँदै गएको र त्यसको अनुपातमा नयाँ वैज्ञानिक आउन नसक्दा अनुसन्धानको काम तीव्र गतिमा हुन नसकेको नार्कको भनाइ छ । मुलुकमा बढ्दै गएको कृषि जनशक्ति अभाव र प्रतिभा पलायन रोक्न सरकारले छिट्टै विकल्प खोज्नुपर्नेमा बालीविज्ञ बस्नेत जोड दिन्छन् ।

 

 

नार्कमा वैज्ञानिक, प्राविधिक र प्रशासनिक गरी तीन प्रकारका कर्मचारी भए पनि कतिपय क्षेत्रमा प्रशासनिक कर्मचारीसमेत नहुँदा वैज्ञानिक स्वयम्ले नै प्रशासिनक काम गरिरहनुपरेको छ । नार्कका पुराना तथा अनुभवी वैज्ञानिक उमेरका कारण अवकाश पाउँदै गएको वर्तमान अवस्थामा त्यसको विकल्पको रूपमा सरकारले पुरानालाई नै करारमा राख्नुपर्ने कतिपय विज्ञको राय छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चितवनको रामपुरमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले विगत २० वर्ष अघिदेखि कृषि अध्ययन शुरू गरेयता सरकारले अन्य क्षेत्रमा यस्ता कलेज खोल्ने योजना नै बनाउन नसकेका कारण पनि हाल कृषिक्षेत्रमा काम गर्ने जनशक्ति अभाव भएको विज्ञहरू बताउँछन् ।

 

‘नार्कमा विगतमा जस्तो जनशक्ति अभाव छैन’
टेकबहादुर गुरुङ
निर्देशक
पशु तथा मत्स्य अनुसन्धान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) देशको कृषिक्षेत्रलाई समयानुकूल आवश्यक प्रविधि विकास गर्ने सरकारी निकाय हो । विगत केही वर्षदेखि नार्कमा जनशक्ति अभाव भएको समाचार लगातार आए पनि हाल त्यस्तो अवस्था छैन । नार्कले कृषिक्षेत्रमा आवश्यक पर्ने विज्ञ जनशक्तिको माग गरिरहेको छ । मागअनुसार स्वदेश तथा विदेशबाट विज्ञताप्राप्त जनशक्तिले दरखास्त दिएका छन् ।

 

त्यसैले विगतमा जस्तो नार्कमा जनशक्ति अभाव हुँदैन भन्नेमा हामी विश्वस्त छौं । कृषि विज्ञको अभावमा नार्क निराश हुनुपर्ने अवस्था पनि छैन । नयाँ माग गरी पदपूर्ति गर्नुका साथै जनशक्तिको दक्षता अभिवृद्धि गर्ने काम भइरहने भएकाले देशमा आवश्यक पर्ने वैज्ञानिक तयार भइरहेका छन् । तर, मत्स्य, माटो र भेटेरिनरी क्षेत्रका जनशक्तिको आवेदन भने कम परेको छ । विगत केही वर्षदेखि नार्कमा देखिएको जनशक्ति अभाव क्रमशः सुधार भइरहेको छ ।

 

 

नार्कमा भर्ना भएका २ सय जनशक्तिको कार्य क्षेत्र बाँडफाँट गर्ने काम भइरहेको छ । उनीहरूलाई नेपालको माटो सुहाउँदो व्यावहारिक शीप र ज्ञान दिन नार्क लागिपरेको छ । नार्कमा बाली, पशु, बागवानीलगायत क्षेत्रमा जनशक्ति अभाव भए पनि यी क्षेत्रमा आवश्यक जनशक्ति माग भइसकेको छ । माग गरिएअनुसार कामदार छनोट भए पनि उनीहरूलाई सम्बन्धित जिल्ला वा क्षेत्रमा पठाउन भने चुनौती रहेको छ । देशमा कृषिका लागि आवश्यक क्षेत्र तोकेर उनीहरूको शीपअनुसारको काममा लगाउनुपर्छ । त्यसैले नयाँ जनशक्तिलाई नार्कका ५८ ओटा कार्यालयमा पठाउने योजना छ । नेपालको कृषिक्षेत्रको उत्पादकत्व बढाउन कर्मचारीलाई वार्षिक रूपमा तालीम दिने कार्यक्रम रहेकाले सो काम पनि भइरहेको छ । नयाँ जनशक्तिलाई आन्तरिक रूपमा तालीम दिने योजना बनाएका छौं ।
नेपालमा पर्याप्त कृषि प्राविधिक छैनन्’

भोलामान सिंह बस्नेत

कृषि वैज्ञानिक

नार्कले धेरै कृषि प्राविधिक जनशक्ति माग गरेको हुन्छ तर आवेदन भने न्यून पर्छ । नेपालमा कृषिक्षेत्रमा दक्ष प्राविधिक पर्याप्त छैनन् । अध्ययन तथा अन्य कारण देखाएर भएका नेपाली कृषिविज्ञ पनि विदेश पलायन हुने क्रम बढेको छ । कृषिविज्ञ विदेश पलायन हुने क्रम लामो समयसम्म जारी भइरह्यो भने भविष्यमा देशभित्र ठूलो समस्या आउन सक्छ ।

 

अहिले सबै नेपालीमा विदेश जाने प्रवृत्ति देखिएको छ । तर, स्वदेशमा नै सम्भावना हुँदाहुँदै पनि कृषि प्राविधिहरूमा विदेश जाने क्रम बढ्नु राम्रो होइन । देशले दक्ष कृषि प्राविधिकको अभाव झेलिरहेको छ । त्यसैले सरकारले सम्बन्धित ठाउँमा नै खटिएर काम गर्न अवकाशप्राप्त दक्ष एवम् अनुभवी कर्मचारीलाई पुनः काममा फर्काउने नीति बनाउनुपर्छ । नयाँ जनशक्ति पाउन गाह्रो भएको अवस्थामा सरकारले अनुभवी दक्ष अवकाशप्राप्त कर्मचारीलाई राख्न सक्नुपर्छ ।

 

 

वास्तवमा नार्कमा भनेजस्तो सेवासुविधा नपाइने भएकाले कृषि प्राविधिकहरू त्यहाँ जागीर खान मन गर्दैनन् । स्वदेशमा राम्रो सुविधा नभएपछि थप अवसर खोज्दै विदेश जाने गरेका छन् । सरकारले चाहेर पनि कर्मचारीलाई आर्थिक सहयोग, सुविधा एवम् अन्य आर्थिक सहायता गर्न सकिरहेको छैन । सरकारले प्राविधिक कर्मचारी पलायन हुने क्रमलाई रोक्नुपर्छ ।

 

 

त्यसका लागि सुविधा दिने वा अन्य सहयोगका कार्यक्रम ल्याउनुपर्छ । त्यसैगरी नयाँ जनशक्तिलाई नयाँ प्राविधिक तालीम र अध्ययनको अवसर दिनुपर्छ । सरकारले कृषिशिक्षामा बढी लगानी गरी भविष्यका लागि आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । यसो गर्दा प्रतिस्पर्धा बढ्न गई दक्ष कर्मचारी छनोट गर्न सजिलो हुन्छ । सरकारले प्राविधिक क्षेत्र हेर्ने कृषि मन्त्रालय र विज्ञान मन्त्रालयलाई कम प्राथमिकतामा राखेको छ । यसले यस्तो समस्या आएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :