मकैमा फेरी दाना नलाग्ने समस्या

यो समाचार 225 पटक पढिएको

सर्लाही, १३ चैत / अमेरिकी बहुराष्ट्रिय कम्पनी मोनसान्टोद्वारा उत्पादित मकैको वीउ विवाद आइरहेको अवस्थामा सर्लाहीमा फेरी यो बर्ष मकै घोघामा दाना नलागेर किसानको सपनामा बज्रापात भएको छ ।

Maize

काट्ने बेला भएका मकैमा दाना नलागेपछि थोता घोघा बोकेर यहाँका किसानले लालबन्दीका प्रत्येक बीउ बिक्रेता पसलमा पुगेर आइतबार प्रदर्शन गरेका छन् । पत्थरकोट र अत्रौली गाविसका किसानले रोपेको ‘राजकुमार’ जातको हाईबि्रड मकैका घोघामा दाना नलागेपछि किसानले प्रदर्शन गरेका हुन् ।

 

 

‘२ गाविसका करिब ५ सय बिघा जमिनमा रोपेको मकैमा दाना लागेको छैन,’ अत्रौलीका बाबुराम कार्कीले भने, ‘बीउ बेच्ने सबै पसलमा हामीले दाना नलागेको मकैका घोघा देखायौं । किसान त बर्बाद भए ।’

 

 

महिला, वृद्धसहित किसानको जुलुसले थोता मकैका घोघा फलेका बोट बोकेर प्रदर्शन गर्दै ललाबन्दी परिक्रमा गरेका थिए । ‘६० प्रतिशतभन्दा बढी बोटमा दाना लागेको छैन,’ पत्थरकोट गाविसका किसान वासुदेव कोइरालाले भने, ‘राजकुमार जातको बीउ रोप्ने सबैको दाना नलाग्ने समस्या देखियो ।’

 

 

उनले ऋण लिएर गरेको खेती बिग्रेपछि किसान सडकमा पुगेको बताए । काट्ने बेला भएकाले किसानले घोघा कत्तिको दाना छ भनेर हेर्दा अधिकांश थोता भेटिएका थिए । हल्ला भएपछि सबै किसानले खेतमा पुगेर घोघा जाँचेका थिए । ‘राजकुमार जातको बीउमा मात्र दाना नलाग्ने समस्या भेटियो,’ कोइरालाले भने, ‘अन्य जातको बीउमा दाना छ ।’ अधिकांश किसानले जमिन भाडामा लिएर खेती गरेका छन् । १ बिघा जमिनको भाडा ४० हजार र खेती गर्दा ३० हजार खर्च हुने गरेको किसानले बताए ।

 

 

मकैमा दाना नलागेपछि खेती गर्न ब्याजमा लिएको पैसाले घरबास उठ्ने अवस्था आएको उनीहरूले दुःख पोखे । अत्रौलीका वृद्ध किसान गोपाल गिरीले डेढ बिघा जमिन भाडामा लिएर राजकुमार जातको मकै मात्र लगाएको बताए । भाडाबापतको ९० हजार जमिनधनीलाई तिर्नुपर्ने छ । ब्याजमा ऋण लिएर खेतीमा खर्च गरेको ५० हजार छुट्टै छ । ‘मकैमा दाना नलागेपछि चुर्लुम्म डुब्ने अवस्था भयो,’ उनले भने, ‘बीउ कम्पनीबाट होस् वा सरकारबाट हामीले क्षतिपूर्ति नपाए बिल्लीबाठ हुन्छ ।’

 

 

गाउँले ब्याज सयकडा ३ रुपैयाँ -वाषिर्क ३६ प्रतिशत) मा लिएर अधिकांश किसानले खेतीमा हुने खर्चको गर्जो टार्ने गरेका छन् । पत्थरकोटकी लोककुमारी कटुवालले मकैमा दाना नलागेपछि साहुको चर्काे ब्याजमा लिएको ऋण र जग्गाको भाडा तिर्न नसकेर कमारो बस्नुपर्ने अवस्था आएको बताइन् । बीउ बिक्रेता दिलीप गौतमले पहिलो पटक राजकुमार जातको बीउमा दाना नलाग्ने समस्या आएको बताए । उनले सिफारिस जातकै बीउ भएको उल्लेख गर्दै किसानलाई परेको मर्काका बारेमा बीउ उत्पादक कम्पनीलाई सूचित गर्ने प्रतिबद्धता जनाए । ‘क्षतिपूर्ति नपाए किसानलाई ठूलो समस्या पर्छ,’ उनले भने, ‘हामी पनि किसानलाई सहयोग गरिरहेका छौं ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :