पर्वतमा एक करोडको कफी उत्पादन

यो समाचार 155 पटक पढिएको

पर्वत,१२ चैत / कफी खेतीको विस्तारसँगै पर्वतमा यस वर्ष एक करोड रुपैयाँको कफी उत्पादन भएको छ। आय आर्जनको प्रमुख बालीका रूपमा लिइने कफीखेतीबाट पर्वतमा यस वर्ष त्यति रकम भित्रिने अनुमान गरिएको छ।
Coffe Fruit, Newsagro

विगतका वर्षमा भन्दा यस वर्ष कफीको उत्पादन बढ्नुका साथै विदेशमा समेत राम्रो मूल्य पाएकाले कफीको माग बढेको छ। जिल्लाका विभिन्न गाविसबाट उत्पादित कफी बिदेसिन थालेसँगै कफीको उत्पादन बढेको छ। किसानले राम्रो मूल्यसमेत पाउन थालेका छन्।

 

 

गत वर्षमात्रै १७ टन उत्पादन भएको कफी बढेर यस वर्ष २५ टनसम्म पुग्ने र त्यसबाट जिल्लामा करिब एक करोड रकम भित्रिने जिल्ला कफी सहकारी संघ पर्वतका अध्यक्ष भवानीप्रसाद शर्माले बताए।

 

 

‘गत वर्षको भन्दा २० प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ’, उनले भने, ‘यस वर्ष अनुकूल मौसम भएकाले उत्पादन बढेको हो। अहिले कफी टिप्ने समय भएको र गत वर्षभन्दा बढी फल लागेकाले किसानसमेत उत्साहित बनेका छन्।’

 

 

अहिले फ्रेस चेरी कफीको प्रतिकेजी मूल्य ५० देखि ६० रुपयाँ रहेको र प्रशोधित कफीको मूल्य भने तीन सय ५० भन्दा माथि भएकाले किसानले राम्रो आम्दानी गर्ने देखिएको शर्माको भनाइ छ। पर्वतमा विगत २ दशकदेखि व्यावसायिक रूपमा कफी खेती हुँदै आएको छ।

 

 

गत वर्ष केजीको ४० रुपैयाँमा बिक्री भएको ताजा कफीको मूल्य यस वर्ष बढेर ६० रुपैयाँ पुगेको र प्रशोधित पल्पिङ कफीको दुई सयबाट बढेर दुई सय ७० सम्म पुगेपछि किसान उत्साहित भएका छन्। कफीखेतीलाई व्यावसायिक रूपमा विकास गर्नका लागि जिल्लामा १५ वटा कफी सहकारी खोली बजार प्रवर्द्धसमेत गरिएको छ। यसले बजार मूल्य निर्धारण गर्न र किसानको उत्पादनको बजारीकरणको सुनिश्चितता हुनेछ।

 

सहकारीले विभिन्न गाविसमा कफी नर्सरी बनाई बिरुवा उत्पादन तथा बिक्री गरी वार्षिक रूपमा १२ लाखभन्दा बढी आम्दानी गरिरहेको छ भने अर्गानिक कफीको धुलो उत्पादन गर्न कुस्मामा मेसिन राखेको छ। यसरी उत्पादित धुलो कफी स्थानीय बजारमा बिक्री हुनुका साथै पोखरा, काठमाडौं तथा युरोपसम्म पुग्ने गरेको शर्माले बताए। उपयुक्त भूगोल र हावापानीको कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाएको शर्माले बताए।

 

उनका अनुसार पर्वत जिल्लामा एक हजारदेखि १७ सय मिटरसम्मको उचाइमा व्यावसायिक कफी खेती हुने गरेको छ। कफीको गुणस्तर कायम गर्न उचित छहारी, उपयुक्त माटो, जमिनको मोहडाका साथै प्रशोधन, भण्डारण र समूहगत ज्ञान महत्त्वपूर्ण रहेको अध्यक्ष शर्माले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :