५ वर्षमा पनि सञ्चालन भएन बधशाला

यो समाचार 198 पटक पढिएको

बुटवल, ११ चैत/ ५ वर्षअघिबाट बुटवलमा निर्माण सुरु भएको आधुनिक पशु बधशालाको अन्य पूर्वाधार तयार नहुँदा अझै सञ्चालनमा आउन सकेको छैन ।

Meat shop

सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बुटवल–१२, रामनगरमा ०६५ सालदेखि भवन निर्माण सुरु भएको थियो । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले ३९ लाख रुपैयाँ लागतमा बधशालाको मुख्य भवन असार मसान्तमा निर्माण सम्पन्न गरेको हो । भवन बनेको वर्ष दिन पुग्न लाग्दा पनि अन्य पूर्वाधार नहुँदा बधशाला सञ्चालनमा ढिलाइ भएको हो ।
बधशाला सञ्चालनमा आउनका लागि अत्यावश्यक पूर्वाधार चिस्यान केन्द्र, २ ठूला सेफ्टी ट्यांकी, प्रशासनिक भवन, भेटेरिनरी चिकित्सक कक्ष, प्रवेशद्वार तथा सुरक्षा पोस्ट निर्माण कार्य बजेट अभावमा सुरु नै भएका छैनन् । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले पूर्वाधार निर्माणका लागि अन्तिम पटक भन्दै यो वर्ष पनि ५० लाख रुपैयाँ छुट्ट्याएको निर्देशक डा. केशवराज पे्रमीले जानकारी दिए । “जतिसक्दो छिटो बधशाला सञ्चालनमा ल्याउने काम अब नगरपालिकाको हो, हामीले हाम्रो दायित्व पूरा गरेका छौं,” निर्देशक पे्रमीले भने ।
बधशालाका लागि अन्य पूर्वाधार निर्माण गर्न अझै करिब १ करोड रुपैयाँ खर्च लाग्ने बुटवल नगरपालिकाका इन्जिनियर गौतम रौनियारले बताए । १ करोडमध्ये सरकारको ५० लाख रुपैयाँ विनियोजन भइसकेकाले बाँकी ५० लाख रुपैयाँ जुनसुकै स्रोतबाट भए पनि लगानी गर्ने गरी पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान गरिएको नगरपालिकाका कार्यकारी सचिव बाबुराम गौतमले बताए ।
बुटवल नगरपालिकाले आर्थिक वर्ष ०७१/७२ को बजेटमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बधशालाका लागि जम्मा १५ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । “बजेटमा १५ लाख छुट्ट्याए पनि अन्य स्रोतबाट भए पनि रकम ल्याएर १ वर्षभित्र पूर्वाधार तयार गर्छौं,” सचिव गौतमले भने ।
बधशाला निर्माणका लागि अहिलेसम्म बुटवल नगरपालिकाले जग्गा संरक्षणका लागि रिटेनिङ वाल र बाउन्ड्री वाल निर्माणमा ६० लाख रुपैयाँ खर्च भएको जनाएको छ । रूपन्देहीमा दैनिक २० टन कुखुरा, १२ टन खसीबोका, ३ टन रांगाभैंसीको मासु र २ टन माछा खपत हुने गरेको मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण पौडेल बताउँछन् ।
आधुनिक बधशाला अभावमा जिल्लाका ५ सयभन्दा बढी मासु पसलमध्ये ५० प्रतिशत मासु पसलले न्यूनतम मापदण्ड पूरा नगरी मासुको बिक्री–वितरण गर्ने गरेको उनी स्वीकार गर्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :